+
+
Shares

सरकारका गतिविधिले रास्वपामै हलचल, बढ्दैछ दुईपक्षको दुरी

पार्टीको परामर्श बिना सरकारले चालेका कदमले रास्वपाको संस्थापन पक्ष र सत्ता सञ्चालन गर्ने समूहको सम्बन्धमा दूरी बढेको छ । सरकारले चालेका कदमका विषयलाई पार्टी संस्थापन पक्षले प्रश्न उठाउन थालेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ असार ३० गते २२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको कार्यशैली र सुकुमवासी व्यवस्थापनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापन पक्ष र सभापति रवि लामिछाने पक्षधरबीचको दुरी थप बढेको छ ।
  • सञ्चार गृह तथा प्रमुख विपक्षी दलका नेताको घरअगाडि शंकास्पद सवारीसाधन राखेर तर्साउने कार्यप्रति रास्वपाले औपचारिक विज्ञप्ति निकाल्दै कडा आपत्ति जनाएको छ ।
  • सभापति लामिछानेले उक्त अस्वभाविक कार्यमा संलग्न जोसुकै भए पनि पार्टीले कारबाही गर्ने प्रतिबद्धता संसद् भवन अगाडि सञ्चारकर्मीहरूसँग व्यक्त गरे ।

३० असार, काठमाडौं । सरकारको कार्यशैलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई पक्षको दुरी थप बढेको छ । सभापति रवि लामिछाने पक्षधरले राज्य संयन्त्रको नेतृत्व गरिरहेका बालेन शाहको शैलीप्रति नरम स्वरमा संस्थापन पक्षले असन्तुष्टिहरू व्यक्त गर्न सुरु गरेको छ ।

पछिल्लो दुई घटनामा सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री शाहले पार्टीसँग आपसी समन्वय नगरी अघि बढेको स्पष्ट देखिएको छ ।

पहिलो, सुकुमवासी बस्ती खाली गर्ने । दोस्रो, सञ्चार गृह, प्रमुख विपक्षी दलका सभापति र राजधानीका विभिन्न स्थानमा शंकास्पद गाडी राख्ने कार्य ।

प्रधानमन्त्री शाहले सुकुमवासी बस्ती खाली गराउन निर्णय लिनुअघि पार्टी नेतृत्वसँग परामर्श गरेका थिएनन् । गत १२ वैशाखमा सबेरै बिहानबाट सुरक्षाकर्मीको ठूलो संख्या परिचालन गरेर सुकुमवासी बस्ती खाली गरिएको थियो ।

नदी किनारमा रहेका सुकुवासीलाई हटाउनुको प्रमुख कारण प्रधानमन्त्री शाहले उनीहरूको ज्यान जोखिममा रहेको हुँदा सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गर्नुपरेको दाबी गरेका थिए ।

सुकुमवासी हटाउन सरकारले पूर्वतयारी नगरेको भन्दै प्रश्न उठेपछि २१ वैशाखमा सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर स्थायी समाधान निकाल्ने गरी सरकार अघि बढेको लेखेका थिए ।

‘नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन् । त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ,’ भूमिहीनसँग त्यसबेला प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले भनेका थिए, ‘सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ । कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन ।’

कोको थिए रवि–बालेन सम्झौताका साक्षी ? – Online Khabar

दुई साताभित्र लगत संकलन गरी स्थायी समाधान निकाल्ने प्रधानमन्त्रीको वचन पूरा हुन सकेन । साथै, खोला छेउमा रहेका सुकुमवासीको बसाई असुरक्षित भएको भन्दै स्थानान्तरण गरिएको स्थानमै उनीहरू बाढी पीडित भए । कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई बाढीकै कारण गत शनिबार भक्तपुरस्थित खरिपाटीमा स्थानान्तरण गरियो ।

सुकुमवासीलाई अल्पकालका लागि तय गरिएको स्थानमै उनीहरू पीडित हुन थालेपछि सरकारी कार्यशैली माथि रास्वपाकै नेताहरूले प्रश्न उठाउन थाले ।

सुकुमवासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक रहेको पार्टीको वाचापत्र अनुसार सरकारले आफ्नो दायित्व निर्वाह नगरेको रास्वपा सचेतक क्रान्तिशिखा धितालको छ ।

सुकुमवासीहरू अस्थायी सेल्टरमा थप पीडित भनेपछि उनले भनिन्, ‘के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो ।’

होल्डिङ सेन्टरमा पीडित सुकुसवासीको अवस्था बुझ्न गएका जेनजी अगुवा माथि सुरक्षाकर्मीको ‘ज्यादती’ र पक्राउप्रति आपत्ति रास्वपाकै नेताहरूले जनाएका छन् ।

जेनजी अगुवा माजिद अन्सारी, सरिश्मा थापा र भूमि आयोगका पूर्वउपाध्यक्ष नयन्द्र खड्कालाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

थापा र खड्कालाई त्यसैदिन छोडे पनि कुटपिटबाट घाइते बनेका अन्सारीलाई भने रिहा गरिएको थिएन । अन्सारी शिक्षण अस्पतालमा उपचाररत छन् । प्रहरीले अन्सारीमाथि गरेको व्यवहारप्रति संसदीय समितिमा रास्वपा सांसद सुलभ खरेलले प्रश्न गरेका छन् ।

सोमबार संसद्को कानुन समितिको बैठकमा बोल्दै सांसद खरेलले अन्सारीमाथि भएको कुटपिट र ज्यादतीबारे सरकारको ध्यानाकर्षण गराउँदै औपचारिक रूपमा माफी माग्न नेपाल प्रहरीसँग माग गरेका हुन् ।

‘प्रहरीले भ्यानभित्र लगेर पनि मान्छेहरूलाई कुट्दो रहेछ । हामी यस्तो खालको व्यवस्थामा बस्न खोजिरहेका छौँ ?’ खरेलले भने, ‘समाजमा फरक मत सबैले राख्छन्। फरक मत राख्दैमा कसैप्रति पनि उग्रभावले प्रस्तुत नहुन म नेपाल प्रहरीलाई आग्रह गर्दछु ।’

सुकुमवासीको मुद्दापछि रास्वपाको संस्थापन र सरकारको कार्यशैलीलाई लिएर थप दुरी बढाउने कार्य राज्य संरक्षित व्यक्तिहरूबाट भएको सोमबारको गतिविधिले पनि देखिएको छ ।

सञ्चार गृह, नेपाली कांग्रेसका सभापति गगन थापा, व्यापारिक प्रतिष्ठान लगायतका स्थानमा सवारीसाधन बेवारिस छोड्ने काम भयो । यस कार्यमा मूलतः प्रधानमन्त्री शाह निकटका व्यक्तिहरूको अगुवाइमा भएको उनीहरूबाट व्यक्त अभिव्यक्तिबाट देखिन्छ । अनलाइनखबर, हिमालय टीभी, कान्तिपुरको गेटमा शंकास्पद नीजि सवारीसाधन राखेको समाचार उक्त कार्यको बचाउमा प्रधानमन्त्री शाह पक्षका व्यक्तिहरू देखिएका थिए ।

प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेनले चलाउँदै आएको फेसबुक पेज ‘ट्रोल नेपाल’ मार्फत शंकास्पद गाडी राखिएकोमा बचाउ गरेका थिए ।

राज्य संरक्षित व्यक्तिहरूले शंकास्पद गाडी छोडेको समाचार आएसँगै ‘ट्रोल नेपाल’ पेजमा उक्त कार्य जायज भएको दलिल पेस गरेका थिए । बेनले सञ्चालन गरेको उक्त पेजमा सोमबार लेखिएको थियो, ‘राज्यले नो पार्किङ जोन भनेको ठाउँमा पार्किङ गरेको गाडी उठाउँदा वा फाइन काट्दा ज्यादती भयो भन्ने मिडियाहरू ५/६ घण्टामै आफूहरूलाई विज्ञप्ति निकाल्न पर्ने भएछ ।’

शंकास्पद नीजि सवारी साधनहरू ठाउँ-ठाउँमा राख्नुको उद्देश्य थाहा हुने गरी बालेन पक्षबाट केन्द्रीय सदस्य बनेका मधुसुधन ढकालको अभिव्यक्तिले पनि थाहा हुन्छ । अव्यवस्थित पार्किङले गार्‍हो पर्ने विषयलाई सांकेतिक रुपमा बुझाउनका लागि सवारी साधनहरू राखिएको विश्लेषण पूर्वकेन्द्रीय सदस्य ढकालले गरेका थिए ।

‘पहिलो कुरा त अव्यवस्थित पार्किङले कति गार्‍हो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिएको पनि हुन सक्छ,’ ढकालको तर्क छ, ‘अर्को कुरा जनताले जे पनि गर्न पाउनुपर्छ भन्दै गर्दा अरूलाई कति अप्ठेरो पर्छ थाहा दिएको पनि हुन सक्छ ।’

त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आगो लगाई आत्मदाह गरेका गणेश नेपालीको बाइकमा महानगरले व्हिल लक गरेको घटनासँग जोडेर ‘अव्यवस्थित पार्किङ गर्दा हुने असर’ देखाउन प्रधानमन्त्री कार्यालयको सचिवालय नै सक्रिय बनेको थियो ।

आत्मदाह गरेका नेपालीको बाइकमा ह्विल लक काठमाडौं महानगर प्रहरीले गरेको थियो । यस घटनाबाट संघ सरकारप्रति प्रश्न उठेपछि सदनमा उभिएर गृहमन्त्री सुधन गुरुङले विपक्षीलाई संविधानको व्यवस्था स्मरण गराएका थिए ।

‘जुन ठाउँमा घटना घट्यो । त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको हैन’ गृहमन्त्री सुधनले भने, ‘ट्राफिकले ह्विललक गरेको हैन । कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ?’ नगर प्रहरीले ह्विल लक लगाएको छ ।’

आत्मदाह गरेका गणेश नेपालीको बाइकमा ह्विल लक लगाउने महानगर प्रहरी भएको दाबी गर्ने राज्य संयन्त्रको व्यवहारमा विरोधाभास देखिन्छ ।

सोमबार शंकास्पद गाडी राखेर तर्साउने कार्य महानगर संरक्षित व्यक्तिले गरेका थिएनन् । संघीय सरकार र त्यसमा पनि प्रधानमन्त्री बालेन निकटकै व्यक्तिहरू सक्रिय भएर ठाउँ ठाउँमा बेवारिस गाडी छोडेका थिए ।

सुरक्षा सम्बद्ध स्रोतका अनुसार यस विषयमा सुरक्षा निकायलाई अर्ध सूचना प्रवाह गरिएको थियो । सुरक्षा अधिकारीहरूका अनुसार शंकास्पद गाडी राखिएको जानकारी नगराई ‘यी यी स्थानमा केही गतिविधि हुनसक्छ’ भनी सर्तक रहन भनिएको थियो । त्यसै अनुसार सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । वेवारिस गाडी राखिएको सूचना भने सुरक्षा निकायलाई पनि गराइएको थिएन ।

प्रधानमन्त्री निकटका व्यक्तिहरू ठाउँमा ठाउँमा गाडीहरू तेर्साउन सक्रिय भएको कान्तिपुरको गेटमा राखिएको सवारी साधनको धनीबाट पनि थाहा हुन्छ ।

शंकास्पद रूपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जैसवालले चढ्ने गरेका छन् । रास्वपाका पूर्व महामन्त्री भूपदेव शाहले गत जेठमा उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनीत गरेका थिए । रास्वपाका एक नेताका अनुसार गाडीवाल रवि जैसवाल गृहमन्त्री सुधनसँग पछिल्लो समय निकट सम्बन्धका व्यक्ति हुन् ।

रवि-बालेन – Online Khabar

सरकार सञ्चालन गरेकै शक्तिबाट वेवारिसे गाडी छोडेर मिडिया तर्साउन लागेपछि रास्वपाले विज्ञप्ति मार्फत विरोध जनाएको छ भने स्वयं सभापति लामिछानेले गलत कार्य भएको बताएका छन् ।

‘यो जुन प्रवृत्ति भयो । त्यो अस्वभाविक देखिएको हुँदा विज्ञप्ति मार्फत भनेको कुरामा पार्टी अडिग छ,’ मंगलबार संसद् अघि प्रतिक्रिया दिँदै सभापति लामिछानेले भने,‘यो कार्य गर्ने रास्वपाकै नेता भए पनि कारबाही हुन्छ ।’

महामन्त्री विपिन आचार्यले सोमबार विज्ञप्ति निकालेर सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू स्वीकार्य नहुने बताएका थिए ।

सरकार संरक्षित यो कार्यको विरोध संसदमा स्वयं रास्वपाका सचेतक प्रकाशचन्द्र परियार उत्रिएका छन् ।

‘हिजो निरंकुश शाही कालमा, तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्दथे,’ सचेतकले विगत देखाउँदै सत्तालाई भने, ‘त्यतिबेला नझुकेको नेपाली सञ्चाररमाध्यम, आज सडकमा दुई–चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र ?’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?