News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार एक खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण प्रयोग गर्ने निर्णय गरेको छ ।
- प्रणालीमा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले यसअघि पनि दुई दिनमा गरी ३० अर्ब रुपैयाँ ऋणपत्र मार्फत खिचेको थियो ।
- राष्ट्र बैंकले ९१ दिने निक्षेप संकलन उपकरण मार्फत बजारबाट पैसा खिच्दै अन्तर बैंक ब्याजदर व्यवस्थापन गर्ने प्रयास गरेको जनाएको छ ।
३१ असार, काठमाडौं । नेपाल राष्ट्र बकैंले बुधबार वित्तीय प्रणालीबाट एक खर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेको हो ।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा मंगलबारसम्म ८२ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय बैंकले सोमबार र मंगलबार गरेर ३० अर्ब राष्ट्र बैंक ऋणपत्र मार्फत खिचेको छ ।
त्यसले पनि अधिक तरलताको अवस्थामा सुधार नआएपछि केन्द्रीय बैंकले ९१ दिने निक्षेप संकलन उपकरण प्रयोग गरेको हो । पुरानो निक्षेप संकलन तथा स्थायी निक्षेप परिपक्व भएकाले केन्द्रीय बैंकले प्रणालीमा भएको तरलता भन्दाधेरै निक्षेप माग गरेको हो ।
निक्षेप संकलमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन् । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।
त्यसैगरी तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
बुधबारसम्म केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको १३ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ मौज्दात छ । सो मौज्दात रकम मध्ये स्थायी निक्षेपको २ खर्ब १ अर्ब हो भने निक्षेप संकलनको ७ खर्ब २९ अर्ब रहेको केन्द्रीय बैंकले जनाएको छ । साथै राष्ट्र बैंक ऋणपत्रको ४ खर्ब रहेको छ ।
प्रतिक्रिया 4