News Summary
Generated by OK AI. Editorially reviewed.- मिडिया हाउसका कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष अनुसन्धान र संसदीय छानबिन गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।
- कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटाले यस घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताउँदै दोषीमाथि छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ ।
- प्रतिनिधिसभामा उक्त घटनाबारे सरकारको संलग्नतालाई लिएर सत्तापक्ष र विपक्षका सांसदहरूबीच विवाद सिर्जना भएको छ ।
३१ असार, काठमाडौं । मिडिया हाउसहरू र केही नेताका घर अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरेर चालक सम्पर्कविहीन भएको घटनाबारे संसदीय छानबिनको माग उठेको छ ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालमार्फत घटनाको निष्पक्ष अनुसन्धान र संसदीय छानबिनको माग गरेकी छन् ।
‘शंकास्पद रूपमा मिडियामा अवरोध गर्ने उद्देश्यले पार्किङ गरिएका गाडीहरू कुनै अनुसन्धान नगरी दशी–प्रमाण फिर्ता गर्नुले यस विषयमा प्रहरीसमेत जोडिएको देखिन्छ,’ उनले लेखेकी छन्, ‘मिडियाको मुख थुन्न गरिएको सरकारी हर्कतबारे संसदीय छानबिन आवश्यक छ । दोषीलाई कारबाही गरियोस् ।’
सोमबार बिहान अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया समूहका कार्यालयअगाडि एकै समयमा उस्तै शैलीमा गाडी पार्किङ गरिएको थियो । घटनालाई शंकास्पद ठानेपछि सम्बन्धित सञ्चारगृहहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थलमा पुगेर गाडीधनीको खोजी गरी सवारी उठाएर लगेको थियो । तर कसले र किन यस्तो गर्यो भन्ने विषयमा अहिलेसम्म प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।
बरु ती सवारीधनीलाई पाँच सय रुपैयाँ जरिबाना तिराएर छाडिएको छ । जबकि, सञ्चारगृहअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी उठाउन प्रयोग गरिएको क्रेनको भाडा भने ८ हजारदेखि १०–१२ हजार रुपैयाँसम्म तिरिएको थियो ।
कान्तिपुर अगाडि पार्किङ गरिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ ।
यो विषय संसदमा पनि उठेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही सांसदले समेत घटनाको छानबिन गर्न माग गरेका छन् । यद्यपि, रास्वपाका केही सांसदले भने यस घटनामा सरकारको कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि यो विषय उठेको थियो ।
बैठकमा समिति सभापति समीक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर र भाटभटेनी सुपरमार्केटअगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताएकी थिइन् ।
तर उनले मिडिया हाउस अगाडि गाडी पार्किङ गराउने कार्यमा सरकारको संलग्नता नरहेको दाबी गरिन् ।
‘मिडिया हाउसअगाडि सरकारले गाडी पार्किङ गरेको होइन,’ उनले भनिन्, ‘गाडीका नम्बर प्लेट हेर्दा निजी नम्बर प्लेट देखिन्छन् । यो विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ ।’
उनले बैठकमा पटक–पटक सरकारले मिडिया हाउसअगाडि गाडी पार्किङ नगराएको दाबी दोहोर्याएकी थिइन् ।
‘हामी बैठकमै रहँदा ट्राफिक प्रहरीले ती गाडी उठाइरहेको जानकारी आएको छ,’ उनले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ, सरकारले यस्तो काम गर्दैन । यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छौं । मिडियालाई त्रसित बनाउने कार्यमा जोसुकै संलग्न भए पनि त्यसलाई गम्भीर रूपमा लिएर आवश्यक छलफल र अनुसन्धान हुनुपर्छ ।’
संसदमा विपक्षी दलहरूले यो विषय उठाइरहँदा सत्तारुढ रास्वपाका अधिकांश सांसद मौन देखिएका थिए । बरु विपक्षीले घटनामा सरकारलाई जोडेको भन्दै केही सांसदले नियमापत्ति जनाएका थिए ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले शंकास्पद पार्किङ गर्ने कार्यमा सरकार समर्थित व्यक्तिहरूको संलग्नता रहेको दाबी गरे । यस घटनामा सरकार र सत्तारुढ दलतर्फ मल्लले औंला ठड्याएपछि रास्वपाका केही सांसदले प्रयोग गरिएको शब्दप्रति नियमापत्ति जनाएका थिए ।
रास्वपा सांसद टिका संग्रौलाले ‘विभिन्न स्थानमा पार्किङ गरिएका गाडीहरूको विषयलाई लिएर सिंगो राज्यको अपमान हुने गरी’ अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाइन् ।
‘राज्यको नैतिकता र शिष्टाचारविपरीत हुने गरी उहाँले राज्यले नै परिचालन गरेको भन्ने शब्द प्रयोग गर्नुभयो,’ उनले भनिन्, ‘म त्यसप्रति घोर आपत्ति जनाउँछु। एउटा व्यक्तिले गरेको क्रियाकलापलाई आधार बनाएर सिंगो राज्यलाई मुछ्न पाइँदैन ।’
प्रतिक्रिया 4