+
+
Shares

सिन्धुपाल्चोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान फरार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १२:२२
सांकेतिक फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ मा श्रीमानको कुटपिटबाट ३१ असारमा मिना रानाको मृत्यु भएको छ ।
  • मदिरा सेवन गरी विवाद हुँदा श्रीमान मिनबहादुर भण्डारीले कुटपिट गरेको र सोही चोटका कारण मिनाको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।
  • घटनापछि फरार रहेका मिनबहादुरको खोजी तीव्र पारिएको र पोस्टमार्टम रिपोर्टपछि थप विवरण आउने प्रहरीले जानकारी दिएको छ ।

३१ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पिपलडाँडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय मिना राना रहेको प्रहरीले जनाएको छ । घटनापछि उनका श्रीमान मिनबहादुर भण्डारी फरार छन् ।

स्थानीयका अनुसार माइत गएकी मिनालाई मिनबहादुरले मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ पौवास्थित ससुरालीबाट घर ल्याएका थिए । दुवैले प्राय: मादक पदार्थ सेवन गर्ने गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेको स्थानीय बताउँछन् ।

वडा सदस्य रवि खत्रीका अनुसार मदिराको नशामा सामान्य विवाद भएपछि मिनबहादुरले मुक्काले टाउकोमा प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानका आधारमा सोही चोटका कारण मिनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

बुधबार बिहान स्थानीयले मिनालाई घरमा मृत अवस्थामा फेला पारेका थिए । मृतकको टाउको र घुँडामा चोट तथा निलडाम देखिएको भए पनि घटनास्थलमा कुनै धारिलो हतियार प्रयोग भएको संकेत नदेखिएको स्थानीयले बताएका छन् ।

घटनापछि फरार रहेका मिनबहादुरको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ठूलो झगडाभन्दा पनि मदिराको नशामा भएको कुटपिटका क्रममा घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले महिला मृत अवस्थामा भेटिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

उनका अनुसार शवको पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि घटनाको विस्तृत विवरण सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?