+

अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

२०८३ असार  ३१ गते १६:४८ २०८३ असार ३१ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले उषा भण्डारीलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
  • सम्झौताअनुसार भण्डारीले टोलीको प्रवर्द्धनका साथै ग्रासरुटबाट नयाँ खेलाडी उत्पादन र भलिबल विकासमा सक्रिय भूमिका निर्वाह गर्नेछिन् ।
  • टोलीका सह–मालिक सुबोध त्रिपाठीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टोलीसँगको यो सहकार्यले नेपाली भलिबललाई थप लोकप्रिय बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

३१ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

सुमिरा स्पोर्ट्स भेन्वरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर किंग्स र स्टार आउटसाइड हिटर उषा भण्डारीबीच तीन वर्षका लागि सम्झौता भएको हो ।

सम्झौताअनुसार भण्डारीले टोलीको प्रचार–प्रसार तथा प्रवर्द्धनात्मक गतिविधिमा सहभागी हुनुका साथै अन्नपूर्ण स्पाइकर किङ्ससँग मिलेर नेपाली भलिबलको ग्रासरुट विकासमा पनि भूमिका निर्वाह गर्नेछिन् ।

टोलीका सह–मालिक सुबोध त्रिपाठीले भण्डारीसँगको सहकार्यले पुरुष भलिबलको फ्रेन्चाइज लिगलाई थप लोकप्रिय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । दर्शकलाई कभर्डहलसम्म आकर्षित गर्न र ग्रासरुटबाट भलिबलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले उनलाई ब्रान्ड एम्बासडर बनाइएको उनले बताए ।

‘भलिबल हाम्रो राष्ट्रिय खेल हो। त्यसैले यसको विकासमा हामीले पनि योगदान दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टोली भएकाले पनि यो सहकार्य अझ विशेष बनेको छ,’ त्रिपाठीले भने ।

भण्डारीले पहिलो पटक भलिबलकै फ्रेन्चाइज टोलीको ब्रान्ड एम्बासडर बन्न पाउँदा खुसी लागेको बताइन् ।

‘यसअघि म फुटबल र क्रिकेटसँग सम्बन्धित गतिविधिमा जोडिएकी थिएँ। भलिबलकै लिगमा भलिबल खेलाडी ब्रान्ड एम्बासडर बन्न पाउँदा निकै खुसी छु। म गण्डकी प्रदेशमै जन्मिएकी हुँ र अन्नपूर्ण स्पाइकर किङ्सबाट सुरुमै प्रस्ताव आएकाले सहकार्य गर्न सहज भयो’ उनले भनिन् ।

गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स र तनहुँमा जन्मिएकी भण्डारीबीचको सहकार्यलाई क्लबले विशेष र अर्थपूर्ण मानेको छ । भलिबलप्रेमीको बलियो आधार रहेको गण्डकी क्षेत्रमा यसले क्लबको ब्रान्ड विस्तारसँगै नयाँ खेलाडी उत्पादन र ग्रासरुट विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट खेल्दै आएकी भण्डारीले माल्दिभ्सका विभिन्न क्लबबाट पनि व्यावसायिक भलिबल खेलिसकेकी छन् । सन् २०१९ मा १४ वर्षको उमेरमै १३औँ दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले त्यसयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक सञ्चालन हुन लागेको नेपाल भलिबल लिगमा ६ टोलीको सहभागिता रहनेछ । अन्नपूर्ण स्पाइकर किङ्सले भण्डारीसँगको सहकार्यले नेपाली भलिबलको समग्र विकास र नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

उषा भण्डारीको अन्तर्राष्ट्रिय खेल यात्रा र उपलब्धिहरू:
२०१९ (१३औं साग): रजत पदक डेब्यु प्रतियोगिता
२०२२ (एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन) च्याम्पियन (स्वर्ण पदक)
२०२३ (काभा वुमन्स च्यालेन्जर्स लिग: कांस्य पदक
२०२३ (१९औं एसियन गेम्स, चीन) सहभागिता
२०२४ (काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप) च्याम्पियन (नेपाल पुलिस क्लबबाट)
२०२४ (काभा वुमन्स नेसन्स लिग) रजत पदक
२०२६ (काभा वुमन्स क्लब च्याम्पियनसिप) : कांस्य पदक
२०२६ (काभा वुमन्स लिग) : चौथो स्थान

अन्नपुर्ण स्पाइकर किङ्स उषा भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय