News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकपको प्रतियोगिता संरचनामा व्यापक परिवर्तन गरेको छ।
- नयाँ ढाँचाअनुसार १४ टोलीको सहभागिता कायमै राख्दै विश्वकप अब तीन चरणमा सञ्चालन हुने भएको छ।
- आईसीसीले खेलको प्रतिस्पर्धालाई थप कडा र रोमाञ्चक बनाउने उद्देश्यले नयाँ संरचना कार्यान्वयनमा ल्याएको जनाएको छ।
३१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकपको प्रतियोगिता संरचनामा पनि व्यापक परिवर्तन गरेको छ । १४ टोलीको सहभागिता भने यथावत् रहने भए पनि अब विश्वकप तीन चरणमा सञ्चालन हुनेछ ।
नयाँ ढाँचाअनुसार सबैभन्दा पहिले विश्वकप खेल्ने १४ टोलीमध्ये वरीयताअनुसार १२औं, १३औं र १४औं स्थानका टोलीबीच ‘सुपर सिरिज’ हुनेछ । राउन्ड रोबिन आधारमा हुने यस चरणको विजेता मात्र १२औं टोलीका रूपमा मुख्य समूह चरणमा प्रवेश गर्नेछ ।
त्यसपछि दोस्रो चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहमा ६–६ टोली रहनेछन् र दुवै समूहका शीर्ष तीन–तीन टोलीसँगै समग्रमा उत्कृष्ट अर्को एक टोली ‘सुपर ७’ चरणमा पुग्नेछन् ।
‘सुपर ७’ चरणमा सातै टोलीले एकअर्काविरुद्ध राउन्ड रोबिन खेल्नेछन् । यस चरणको शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलमा पहिलो स्थानको टोलीले चौथो र दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि विजेता टोलीहरूबीच फाइनल हुनेछ ।
यसअघि विश्वकपमा १४ टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष तीन–तीन टोली ‘सुपर सिक्स’ चरणमा पुग्ने व्यवस्था थियो । ‘सुपर सिक्स’ का दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्थे ।
आईसीसीका अनुसार नयाँ संरचनाले प्रतियोगिताको सुरुआती चरणदेखि नै प्रत्येक खेलको महत्व बढाउने, प्रतिस्पर्धालाई थप कडा बनाउने र विश्वकपलाई खेलाडी तथा समर्थक दुवैका लागि अझ रोमाञ्चक बनाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4