News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच २४ वर्षपछि ऐतिहासिक भिडन्त हुँदै छ ।
- साविक विजेता अर्जेन्टिना लगातार दोस्रो उपाधिको खोजीमा छ भने इंग्ल्यान्ड ६० वर्षपछि फाइनल पुग्ने लक्ष्यमा छ ।
- लियोनल मेसी र ह्यारी केनको नेतृत्वमा रहने यो खेल ३२ असारमा एट्लान्टा स्टेडियममा बिहान १२:४५ बजे शुरू हुनेछ ।
३१ असार, काठमाडौं । चार दशकभन्दा बढी समयदेखि विश्व फुटबलका समर्थकलाई रोमाञ्चित बनाउँदै आएको इंग्ल्यान्ड र अर्जेन्टिनाको प्रतिद्वन्द्विता फेरि एकपटक विश्वकपको मञ्चमा दोहोरिँदै छ ।
यसपटक दाउमा क्वाटरफाइनल वा समूह चरणको जितमात्र होइन, विश्वकप २०२६ को फाइनल प्रवेश छ ।
डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ देखि डेभिड बेकह्यामको रातो कार्ड, त्यसको बदला लिँदै सन् २००२ मा बेकह्यामले गरेको निर्णायक गोलसम्म यी दुई राष्ट्रबीचका भेटले विश्व फुटबललाई अनेक अविस्मरणीय क्षण दिएका छन् ।
अब लियोनल मेसी र ह्यारी केनको नेतृत्वमा अर्को ऐतिहासिक अध्याय लेखिने तयारी छ । एकातिर लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको साविक विजेता अर्जेन्टिना छ भने अर्कोतर्फ ६० वर्षपछि फेरि विश्वकप फाइनल पुग्ने सपना बोकेको इंग्ल्यान्ड ।
फिफा विश्वकपको चर्चित राइभलरी अर्थात् प्रतिद्वन्द्विता २४ वर्षपछि ब्युँतन लागेकाले यो सेमिफाइनललाई प्रतियोगिताकै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको छ । विश्वकपको मञ्चमा पछिल्लो पटक यी दुई टोली फिफा विश्वकप २००२ मा भेट भएका थिए ।
हालसम्मको यात्रा
इंग्ल्यान्डले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै प्रतियोगिताको सुरुवात गरेको थियो । दोस्रो खेलमा घानासँग गोलरहित बराबरी खेले पनि अन्तिम खेलमा पानामालाई २–० ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्यो ।
अन्तिम ३२ मा कंगोविरुद्ध १ गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै २–१ को जित निकालेको इंग्ल्यान्डले अन्तिम १६ मा सहआयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित हुँदै पनि संघर्षपूर्ण ३–२ ले हरायो ।
क्वाटरफाइनलमा नर्वेविरुद्ध पनि सुरुवाती अग्रता गुमाएको इंग्ल्यान्डलाई जुड बेलिङहमले दुई गोल गर्दै २–१ को जित दिलाए । यससँगै इंग्ल्यान्ड पछिल्ला तीन विश्वकपमध्ये दोस्रो पटक सेमिफाइनलमा पुगेको हो ।
कप्तान ह्यारी केन र जुड बेलिङहमले समान ६–६ गोल गरेका छन् । एउटै विश्वकपमा कुनै टोलीका दुई खेलाडीले कम्तीमा ६–६ गोल गरेको यो दुर्लभ उपलब्धि हो । बुकायो साका र एन्थोनी गोर्डनले समान तीन–तीन असिस्ट गर्दै आक्रमणलाई धारिलो बनाएका छन् ।

यता साविक विजेता अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमै अल्जेरियालाई ३–० ले हराउँदै उपाधि रक्षा अभियान सुरु गरेको थियो । कप्तान लियोनल मेसीले उक्त खेलमै ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका थिए ।
त्यसपछि अर्जेन्टिनाले अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता बन्यो ।
अन्तिम ३२ मा केप भर्डेविरुद्ध अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टलाई पनि अन्तिम समयमा पुनरागमन गर्दै ३–२ ले हरायो ।
क्वाटरफाइनलमा स्विट्जरल्यान्डले निर्धारित समयमा कडा चुनौती दिए पनि अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजको गोलमा अर्जेन्टिनाले ३–१ को जित निकाल्दै लगातार दोस्रोपटक सेमिफाइनल यात्रा तय गर्यो ।
मेसी आठ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् । सात अन्य खेलाडीले पनि गोल गरिसकेका छन् भने टोलीका आठ खेलाडीले असिस्ट दिएका छन् । क्रिस्टियन रोमेरो–लिसान्द्रो मार्टिनेजको रक्षापङ्क्ति र गोलरक्षक एमिलियानो मार्टिनेज अर्जेन्टिनाका अर्को बलिया पक्ष हुन् ।
हेड टु हेड
इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हालसम्म भएका १४ खेलमा इंग्ल्यान्डले ६ खेल जित्दा अर्जेन्टिनाले ३ खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएका छन् ।
यी दुई टोलीबीच विश्वकपमा अहिलेसम्म पाँच पटक भेट भएको छ । त्यसमध्ये इंग्ल्यान्डले तीन खेल जितेको छ भने अर्जेन्टिनाले दुई खेल आफ्नो पक्षमा पारेको छ ।
सन् १९६२ को समूह चरणमा इंग्ल्यान्ड ३–१ ले विजयी भएको थियो । त्यसपछि १९६६ को क्वाटरफाइनलमा घरेलु टोली इंग्ल्यान्डले १–० को जित निकाल्दै विश्वकप उपाधितर्फ यात्रा अघि बढाएको थियो ।
दुई टोलीबीचको सबैभन्दा चर्चित भेट भने सन् १९८६ को क्वाटरफाइनल हो । डिएगो म्याराडोनाले ‘ह्यान्ड अफ गड’ गोल र त्यसपछि गरेको अद्भुत एकल गोलको मद्दतमा अर्जेन्टिनालाई २–१ को जित दिलाएका थिए ।

सन् १९९८ को अन्तिम १६ मा रोमाञ्चक खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । माइकल ओवेनको उत्कृष्ट गोल, डेभिड बेकह्यामको रातो कार्ड र अन्ततः पेनाल्टीमा अर्जेन्टिनाको जितले त्यो खेल विश्वकप इतिहासकै सम्झनलायक भिडन्तमध्ये एक बनेको थियो ।
सन् २००२ को समूह चरणमा बेकह्यामले पेनाल्टीमा गरेको एकमात्र गोल इंग्ल्यान्डको जितको आधार बन्यो । त्यो हारसँगै अर्जेन्टिना ४० वर्षपछि पहिलोपटक समूह चरणबाटै बाहिरिएको थियो ।
अब २४ वर्षपछि यी दुई टोली फेरि विश्वकपमा आमनेसामने हुँदैछन् । यसपटकको विजेताले विश्वकप २०२६ को फाइनलमा स्थान बनाउनेछ ।
टिम न्युज
इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेलसँग पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध छन् । कप्तान ह्यारी केन र जुड बेलिङहम उत्कृष्ट लयमा छन् भने बुकायो साका र एन्थोनी गोर्डनले दुवै विंगबाट निरन्तर खतरा सिर्जना गरिरहेका छन् । डेक्लान राइसले मध्यपङ्क्तिमा सन्तुलन कायम गरेका छन् ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी पनि बलियो टोलीसहित मैदान उत्रने तयारीमा छन् । कप्तान लियोनल मेसी उत्कृष्ट लयमा छन् भने जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र रोड्रिगो डे पलले मिडफिल्ड तथा आक्रमणलाई मजबुत बनाएका छन् । डिफेन्समा क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजको जोडी तथा गोलपोस्टमा एमिलियानो मार्टिनेज अर्जेन्टिनाका मुख्य भरोसा रहनेछन् ।

प्रभाव पार्न सक्ने खेलाडी
यस खेलमा सबैभन्दा मुख्य नजर गोल्डेन बुटका दुई दाबेदार ह्यारी केन र लियोनल मेसीमाथि रहनेछ ।
एकातिर विश्वकप विजेता कप्तान लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो उपाधिनजिक पुर्याउने अभियानमा छन् भने अर्कोतर्फ इङ्ल्यान्डका कप्तान ह्यारी केन पहिलोपटक टोलीलाई ६० वर्षपछि विश्वकप फाइनलमा पुर्याउने लक्ष्यमा छन् ।
उनीहरूसँगै जुड बेलिङहम, बुकायो साका, क्रिस्टियन रोमेरो र एन्जो फर्नान्डेजजस्ता खेलाडीको प्रदर्शनले पनि यो बहुप्रतीक्षित सेमिफाइनलको दिशा तय गर्न सक्छ ।
सम्भावित सुरुवाती ११
इंग्ल्यान्ड : जोर्डन पिकफर्ड; रीस जेम्स, एज्री कोन्सा, मार्क गेही, निको ओ’राइली; इलियट एन्डरसन, डेक्लान राइस; बुकायो साका, जुड बेलिङहम, एन्थोनी गोर्डन; ह्यारी केन
अर्जेन्टिना : एमिलियानो मार्टिनेज; नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस टालियाफिको; रोड्रिगो डे पल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज; लियोनल मेसी, जुलियन अल्भारेज
***
खेल : इंग्ल्यान्ड भर्सेस् अर्जेन्टिना, दोस्रो सेमिफाइनल
मिति र समय : ३२ असार, बिहान १२:४५ बजे
स्थान : एट्लान्टा स्टेडियम
प्रत्यक्ष प्रसारण : हिमालय स्पोर्ट्स
प्रतिक्रिया 4