३१ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको बुधबार सम्पन्न १९औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर दलित समुदायका नवजात शिशुका लागि दीर्घकालीन आर्थिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ ।
सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति पाँचखाल नगरपालिकाको तर्फबाट सार्वजनिक रूपमा क्षमायाचना गर्दै विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउने र स्थानीय तहमानै पहिलोपटक ‘दलित नवजात आर्थिक सुरक्षा कार्यक्रम’ सार्वजनिक भएको पाँचखाल नगर प्रमुख महेश खरेलले जानकारी दिए ।
उनका अनुसार पाँचखाल नगरपालिकाभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरपालिकाले एक लाख रुपैयाँ बैंक खातामा जम्मा गरिने भएको छ ।
जम्मा भएको रकम १८ वर्षसम्म झिक्न नपाइने र १८ वर्ष पुगेपछि चक्रवृद्धि ब्याजसहित प्राप्त हुने रकम उच्च शिक्षा, सीप विकास वा करियर निर्माणमा उपयोग गर्न सकिने नगर प्रमुख खरेलले जानकारी दिए ।
‘गणेश नेपालीले आर्थिक अवस्थाका कारण आत्मदाह गर्नपर्यो,’ नगर प्रमुख खरेलले भने, ‘पाँचखालबासी दलित समुदायका छोराछोरीले आत्मदाह गर्न नपरोस् भनेर यो निर्णय गरेको हो ।’
यदि १८ वर्ष नपुग्दै शिशुको मृत्यु भएमा उक्त रकम उनकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
‘यो कार्यक्रम प्रचारका लागि नभई दलित समुदायको दीर्घकालीन आर्थिक सशक्तीकरण एवं गरिबीका कारण उत्पन्न हुने चरम निराशा र सामाजिक असमानताको अन्त्य गर्ने उद्देश्यले ल्याइएको हो’, नगरप्रमुख खरेलले भने ।
नगरसभामा नगर प्रमुख खरेलले सुकुमवासी तथा अव्यवस्थित बसोबासीप्रति नगरपालिकाको नीति स्पष्ट पार्दै गरिबमाथि दमन नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘सडक किनारमा काफल बेच्ने, मकै पोल्ने वा साना व्यापार गरेर जीविकोपार्जन गर्ने नागरिकलाई विस्थापित गर्ने नभई उनीहरूको जीविकोपार्जन सुरक्षित गर्दै आत्मनिर्भर बनाउने नीति नगरपालिकाले लिएको छ,’उनले भने ।
यदि नगर प्रहरी, कर्मचारी वा जनप्रतिनिधिबाट गरिब व्यवसायीमाथि दुर्व्यवहार भएको पाइए तत्काल कारबाही गरिने चेतावनी समेत दिए ।
प्रतिक्रिया 4