+
+
Shares

ध्रुवे हात्तीलाई डार्ट गरी जोडियो नयाँ रेडियो कलर, काटियो दाह्रा

चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हिंस्रक जंगली भाले हात्ती ध्रुवेलाई आज डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते २३:४२

३१, असार, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हिंस्रक जंगली भाले हात्ती ध्रुवेलाई आज डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको छ ।

निकुञ्ज स्रोतका अनुसार ध्रुवेलाई आज राति १० बजेतिर डार्ट गरेर घाँटीमा स्याटलाइट रेडियो कलर जडान गर्नुका साथैं ६ इन्च दाह्रा पनि काटिएको छ । निकुञ्जको सुखीभार पोस्टबाट २ सय मिटर पूर्व ध्रुवेलाई डार्ट गरिएको हो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारीहरुसहित ३० जनाको टोलीले ध्रुवेलाई डार्ट गरेका हुन् ।

ध्रुवे घटनास्थलबाट नजिकै बेहोस बनेको थियो । ध्रुवेलाई योसहित तेस्रोपटक घाँटीमा रेडियो कलर जोडिएको हो । यसअघि जोडिएको रेडियो कलरले निकुञ्जको कोर क्षेत्रमा सिग्नल नदेखाएपछि ध्रुवेको गतिविधीको निगरानी गर्न असहज भएको थियो ।

निकुञ्जको कोर क्षेत्रमा हात्ती पुगेमा घाँटीमा जडान गरिएको रेडियो कलरले सिग्नल नदिने गर्छ । नेपाल टेलिकमको टावरको पहुँच भएको क्षेत्रमा पुगेपछि मात्रै सिग्नल देखाउने व्यवस्था छ ।

तर, यसपटक आधुनिक स्याटलाइट प्रणालीको नयाँ रेडियो कलर जोडिएकोले कोर क्षेत्रबाट पनि सिग्नल देखाउने निकुञ्जका अधिकारीहरुको भनाइ छ ।

गत असार २० गते राति भरतपुर–२३ बेलहठ्ठामा सुतिरहेका बेला २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि निकुञ्जले ध्रुवेको घाँटीमा नयाँ रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी गरेको थियो ।

रेडियो कलर जोड्ने निर्णय भए पनि ध्रुवे भागेर विभिन्न ठाँउमा पुग्दा झण्डै ११ दिनपछि मात्रै निकुञ्जले ध्रुवेको घाँटीमा रेडियोकलर जोड्न सफल भएको छ ।
ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि यी दुई आमा–छोराको ज्यान लिएको थियो ।

प्रायः निकुञ्जको सुखीभार क्षेत्रमा रहने यो हात्ती अचानक बस्तीतर्फ निस्किएको थियो । घटनाको भोलिपल्ट ध्रुवे मेघौली क्षेत्रमा देखिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै मानवीय क्षति पुर्‍याउने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८ ०६९ सालतिर दैनिकजसो मानिसमाथि आक्रमण गर्न थालेपछि २०६९ साल पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले यसलाई मार्ने आदेश दिएको थियो ।

ध्रुवेले २०६९ सालको कात्तिकदेखि एक महिनाको अवधिमा माडी क्षेत्रमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि यसलाई मार्ने निर्णय गरिएको थियो ।

वि.सं. २०६६ साल माघदेखि मानिसमाथि आक्रमण गरी ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म -करिब तीन वर्षको अवधिमा) १५ जनाको ज्यान लिएको थियो । चितवनको माडी क्षेत्रमा यसको आतंक अत्यधिक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?