News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले असक्त, असहाय नागरिक तथा १६ वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्रविना नै बैंक खाता खोल्न सकिने व्यवस्था गरेको छ।
- केन्द्रीय बैंकले अन्य नागरिकका लागि बैंक खाता खोल्दा नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।
- विदेशमा रहेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रविना नै अनलाइनमार्फत खाता खोल्न सक्ने र नेपाल फर्किएको ३५ दिनभित्र विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रविना पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको छ ।
केन्द्रीय बैंंकले निर्देशनमार्फत अन्यका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बैंक तथा वित्तीय संस्थालाई २०८१ माघ १ गतेदेखि नै विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।
त्यसैगरी २०८३ असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको घोषणा गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर लिइ अद्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
राष्ट्रिय परिचयपत्र लिइनसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिइ ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित खातावालालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक ६ महिनामा जानकारी दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत् बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्नेछन् ।
यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिइ अद्यावधिक गर्नुपर्नेछ ।
प्रतिक्रिया 4