News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजारमा शुक्रबार ७९.७४ अंकको उच्च वृद्धि भई नेप्से परिसूचक २६७७ अंकमा पुगेको छ ।
- नेपाल राष्ट्र बैंकले सबल कम्पनीको सेयर धितो कर्जा सीमा ८० प्रतिशतसम्म पुर्याउने व्यवस्था गरेपछि लगानीकर्तामा उत्साह बढेको छ ।
- दिनभरको कारोबारमा २५७ कम्पनीको मूल्य बढ्दा बजारमा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
१ साउन, काठमाडौं । अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ ।
कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक पनि हो । शुक्रबारसहित लगातार चौथो दिन बजार बढेको छ । आजको वृद्धि अंक भने चैत २३ यताकै उच्च हो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको भयो । अघिल्लो दिन १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै कारोबार भएकाले समग्र कारोबार उच्च देखिएको थियो । तर आज जम्मा ६१ लाखको ऋणपत्र मात्रै कारोबार हुँदा समग्र कारोबार न्यून देखियो ।
आज २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । जलविद्युत्, लगानी र उत्पादन समूह ४ प्रतिशतभन्दा धेरै बढे ।
बैंकिङ २.४१, विकास बैंक २.१८, फाइनान्स ३.३९, होटल तथा पर्यटन ३.६६, जलविद्युत् ४.५८, लगानी ४.१२, जीवन बीमा २.७४, उत्पादन तथा प्रशोधन ४.६०, माइक्रोफाइनान्स १.८०, निर्जीवन बीमा २.११, अन्य २.७७ तथा व्यापार ०.८३ प्रतिशत बढे ।
दुई कम्पनी श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत बढ्यो । शिखर पावरको १२.५४, रिजलाइन इनर्जीको १२.०६, मिडसोलु हाइड्रोपावरको १२.०५, सिटी होटलको ११.९९, थ्रीस्टार हाइड्रोपावरको १०.९६, भुजुङ हाइड्रोपावरको १०.७२ तथा नेसनल हाइड्रोपावरको १०.७० प्रतिशत मूल्य बढ्यो ।
आत्मनिर्भर लघुवित्तको मूल्य १५ प्रतिशत घट्यो । फर्स्ट माइक्रोफाइनान्सको ८.७२ तथा कर्पोरेट डेभलपमेन्टको ४.१७ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप छन् ।
एकाएक केले थप्यो उत्साह ?
तीन दिनअघिसम्म असार मसान्तमा बैंकको साँवा, ब्याज बुझाउनुपर्ने चर्चाले बजार घटाएको थियो । आजसहित चौथो दिन बजार बढेको हो । यद्यपि अघिल्ला तीन दिनको वृद्धिदर न्यून थियो ।
त्यस्तै मौद्रिक नीति घोषणाका बेला सेयर धितो कर्जा कम्पनीको सबलताका आधारमा प्रदान गरिने उल्लेख गरिएको थियो, जसले गर्दा वित्तीय स्थिति कमजोर भएका कम्पनीलाई धितो कर्जा घट्ने अनुमान कतिपय लगानीकर्तामा थियो ।
तर त्यसकै निर्देशन आउँदा अन्य कम्पनीलाई यसअघि कायम सेयरधितो सीमा कायम राखी सबल कम्पनीलाई थप १० प्रतिशत बिन्दुसम्म कर्जा दिन पाइने व्यवस्था राष्ट्र बैंकले गर्यो, जसले मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको छ ।
पछिल्लो १८० दिनको औसत मूल्य वा हालको मूल्यमा जुन कम हुन्छ, त्यसकै ७० प्रतिशतसम्म सेयर धितो कर्जा दिने व्यवस्था छ । तर हालको माैद्रिक नीतिपछिको निर्देशनबाट सबल कम्पनीका हकमा भने ७० प्रतिशतको सीमालाई ८० प्रतिशतसम्म कायम गरिएको छ । अर्कोतर्फ अधिक तरलता, न्यून ब्याजदरजस्ता पक्षले बजारलाई सपोर्ट गरिरहेको छ ।
त्यस्तै नियामक धितोपत्र बोर्डले हालै ल्याएको नीति तथा कार्यक्रमका विषय, लगानीकर्तालाई बोर्ड अध्यक्ष गोपालप्रसाद भट्टले गराएको आश्वासनले पनि बजार बढाउन मद्दत पुग्यो ।
प्रतिक्रिया 4