+
+
Shares
यात्रानुभूति :

बालेनले बडीमालिकाको बारेमा बोलेपछि

बाजुराबाट फर्केपछि फेरि मैले प्रधानमन्त्री बालेन सम्झें। १०० दिनको शासकीय सुधारको १०० बुँदाको ७२औं बुँदामा बाजुराको बडीमालिका ट्रेकिङ रुट सहित व्यवस्थित पर्यटनको अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन खाका प्रस्तुत गर्ने भनिएको थियो। १०० बुँदा नै पूरा हुन सकेन।

कमल ढकाल कमल ढकाल
२०८३ साउन २ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुरास्थित बडीमालिका क्षेत्रमा पर्यटन प्रवर्धन र यात्रीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
  • बडीमालिकामा पूर्वाधार अभावका कारण पदयात्रीहरूले खाने, बस्ने र शौचालयको कठिन समस्या भोग्नुपरेको छ।
  • सरकारले बडीमालिका क्षेत्रमा केबलकार तथा आधारभूत सेवाहरूको व्यवस्था गरेमा नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्नेछ।

‘मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विट्जरल्यान्डको बाउ हो बडीमालिका, यहीं छ। किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड ?’ चुनावअघि बालेनले धनगढीमा बडीमालिकाको बारेमा यत्ति बोले।

यसपालि बडीमालिका जाँदा थाहा भयो, बालेनको यो बोलीले बबाल काम गरेछ। बालेनले बोलेपछि बढी सुनिएको बडीमालिका बढी देख्ने भीड बढेछ। हामी बसेको दृष्टि होटलकी साहुनी सावित्री रेग्मी भन्दैथिइन्, ‘बालेनले बोले, प्रधानमन्त्री पनि भए। अहिले त फागुनदेखि यता हाम्रै बन्दै गरेको होटलमा मात्रै ३७ ग्रुप चलाइसक्यौं।’

होटलमै आइपुगे गाइड तुला बडुवाल। उनी आफूलाई भ्याईनभ्याई भएको भन्दैथिए, ‘पर्सि पनि पर्सा र काठमाडौंबाट दुई ग्रुप आउँदैछ।’

बालेन इन्फ्लुएन्सर हुन्। उनले खाएपछि चिज सर्टेज भएको पढेकै हो। गोल्डस्टार जुत्ता वा अल्लोको लुगा सबैको कहानी कथा बने। प्रधानमन्त्री नहुँदै उनले बोलेको बडीमालिका हेरौं न त भन्ने लाग्यो। स्विट्जरल्यान्ड नगए पनि त्यसको बाउ हेरौं न त भन्ने भयो।

सुनेको बडीमालिका हेर्न हाम्रो ह्याप्पी हाइकर्स टिमको २४ जनाको हुलमा म पनि मिसिएँ। साइत जुर्‍यो असार २० गते। सुन्दर सुदूरपश्चिम यातायात प्रालिको गाडी नम्बर ००१ ख ३५२२ मा बाजुरासम्मको यात्रा तय भयो।

यात्रा भनेकै जीवनको लय भत्काउनु हो। न खाने ठेगान, न बस्ने ठेगान, न चिनेका मान्छे भेटिने, न निद्रा, न भोक। शरीर मस्त थाक्ने, तर मन भने प्रफुल्ल भएकैले मान्छेले यात्रा तय गरिरहन्छ। भ्रमणले गर्दा नियमिततामा चलेको जीवनका पञ्चेन्द्रिय र कर्मेन्द्रियहरू सबै यात्रा गर्दछन्। शरीर पञ्चतत्वको लयमा विलय हुँदै आलयमा फर्कंदासम्म आनन्दको अनुभूति हुन्छ।

यसैले नै हिजोदेखि आजसम्म मान्छेले यात्रा गरिरहेको छ। कहिलेकाहीं भीडबाट पर, कहिलेकाहीं आफन्तबाट पर, कहिलेकाहीं शहरबाट पर। पर गएपछि आफूलाई नजिकबाट देखिन्छ भनेर म ट्रेकिङ/हाइकिङ गइरहन्छु। यसपाला पनि गएँ।

बिहान ११ बजे बस नारायणी पुल आएपछि यसो हेरेको त, त्यहाँबाट मात्रै अत्तरिया ५०६ किमी रहेछ। अत्तरियासम्म त ठिकै हो, त्यसपछि पहाडी बाटो लागेपछि बाजुरासम्मको यात्रा चिप्लेकिरा झैं घिसारिंदै ३५० किमीका लागि १३ घण्टा लाग्दो रहेछ। रातभर गाडीमा, दिनभर गाडीमा।

पट्यारलाग्दो, सुत्दै-उठ्दै ३६ घण्टा गाडीमा। धन्न गाडी रिजर्भ जस्तै थियो, हामी बाहेक कोही थिएन। प्रतिव्यक्ति ९ हजारमा जान-आउन फिक्स गरेको गाडीले तेल नै खाने रहेछ १ लाख ५० हजारको। ड्राइभर जनकराज जोशी जोशिला, रसिला र हँसिला थिए। बाटोको यात्रा बताउँदै लगे। डडेलधुरा हुँदै बैतडी, दार्चुला गए पनि बाजुरा, अछाम र डोटीको त्यो बाटो गएको थिइनँ।

१३ घण्टाको पहाडी बाटोभन्दा साँफेबगरको नयाँ बाटो भएको भए कति छिटो र आरामदायी यात्रा हुने रहेछ। कैलालीबाट ९५ किमीमा साँफेबगर आइपुग्ने बाटो राजनीतिक खिचातानीले बन्दै गर्दा बन्द भएको जोशीले बताए। कहिलेदेखि बन्न थालेको, अहिलेसम्म बन्न नसकेको सिङ्गो नेपालको नियति सम्झँदै यहाँ पनि देखियो।

बिहान ५ बजे हिंडेका हामी एक रात गाडीमा बिताउँदै बेलुका ६ बजे दृष्टि होटल मार्तडी पुग्यौं। भोलिको तयारी गर्दै खाना खाएर सुतियो। भोलिपल्ट हामी सेनाको ब्यारेक हुँदै उकालो लाग्यौं।

सोतापाटन जाँदा बाटोमा जुका त आर्मी झैं हाम फाल्दथे। हाफप्यान्ट लगाउनेलाई भुसुनाले टोकेर भसक्कै पार्‍यो। मार्तडीबाट उकालिएका हामी लगभग २२ किमी हिंडेर लखतरान हुँदै सोतापाटन पुग्यौं। त्यहाँसम्म गाडीको बाटो पनि बनेको रहेछ। जति नै प्रचारप्रसार भए पनि बस्ने खाने समस्या नै रहेछ यो बाटोमा। सुनसान अनकन्टार, हेर्दा रमाइलो बडीमालिका, कुक, वेटर र पोर्टर लिएर जाँदा त ठिकै छ, नत्र हालत पतला हुने रहेछ।

अर्को समस्या भनेको यात्राभर शौचालयको हो। सोतापाटनमा हामी साँझ पुग्दा टेन्ट सजिइसकेको थियो। खाना खाएर खुसुक्क सुतियो। बिहान उठेपछि खुला सोतापाटनमा बिहान शौचका लागि शौचालय खोज्दै भागमभाग भयो। १० महिला र १४ पुरुषको यो यात्रा थियो। महिलाहरूका लागि झनै झम्मार भयो। ‘को चाँडो उठ्ने ? कसले गीत गाउँदै शौच गर्ने ?’ भन्दै हिंडिन्थ्यो।

यात्राको खाना

सोतापाटनबाट कालो चिया खाएर हामी घोडेपाटनतिर लाग्यौं। उकालो घोडेपाटनको गोठमा भेटिइन् मन्तरी बडुवाल। ‘सुन्दर सुदूरपश्चिम’ स्लोगन स्वाट्टै सुके झैं लाग्यो उनलाई भेट्दा। कारण थियो- ६० वर्षमा पनातिहरू। त्यहाँ १३/१४ वर्षभित्र महिलाको विवाह भइसक्ने रहेछ (पहिलेको तुलनामा आजकल अलि घटेको छ)। अनि १८ वर्षभित्र ४-५ बच्चा जन्मिसक्ने रहेछन्। बच्चा धेरै जन्माउने कारण पनि- एक रोग लाग्यो भने दुई-तीन बच्चा तीन दिनमै जाँदा पनि एक-दुई बाँच्दछन् भनेर रहेछ।

श्रीमान्‌हरू सबै भारततिर काम गर्ने रहेछन्। बालकबाट एकैपल्ट बुढा भएका असङ्ख्य आमाहरूको प्रतिनिधि मन्तरीले भनिन्, ‘औषधि छ भने देऊ न, ग्यास्ट्रिकले साह्रै सताएको छ।’ अनेक रोगले थलिए पनि काम गर्न नछाड्ने, ६० वर्षमै चालीस मुजा परेको अनुहार, अनि सुन पनि मैलो देखिने गरी लगाएको पोशाकले शहरमा बसेर सुदूरपश्चिमको बारेमा गफ लडाउने र कार्यपत्र लेख्नेहरूलाई ‘मन्तरीलाई भेट्नु’ भन्न मन लाग्यो।

मन्तरी र गोठका केही भाइहरूले हामीलाई दूध, रोटी, मोही र चिया खुवाए। हामी त यात्री थियौं, एकछिन बसेपछि हिंडितहाल्नुपर्‍यो।

हिंड्दा टाउकोमाथिका पहाडहरू र आफ्नै घुँडामुनिको जुत्ता हेर्दै हिंड्नुपर्दथ्यो। ‘जुकाले हानिसक्यो कि ?’ भनेर हेर्दै हिंड्दै थियौं। जङ्गल क्रस गर्दै उकालोमा पुगेपछि त जुका आउँदैन। एक पनि जुका नलागेपछि म त छक्क परें। ‘के भयो यो ?’ भनेको त २,६०० मिटरमाथि जुका नलाग्ने रहेछ। जुकालाई पनि त लेक लाग्ने रहेछ भन्ने लाग्यो। जुकाले छाडे पनि भुसुना भने वनमा टन्नै थिए, कहिले कानमै आएर कराउँथे।

प्रकृति पनि कति अचम्मको लाग्यो भने हरेक असार, साउन, भदौमा परजीवी सृष्टि गर्ने रहेछ। भुसुना, लामखुट्टे, जुका यही समयमा बढी देखिन्छन्, किन होला ? भन्ने लागिरह्यो।

अनेक किंवदन्ती, कहानीका ठाउँहरू छन् बडीमालिका जाने बाटोमा। धानखेत, राक्षस ढुङ्गा, तीन वटा खोलामा एक लुकेको खोला हेर्दै त्रिवेणी पाटन पुगियो। अहा ! सुन्दर पाटनको दृश्य असाध्यै सुन्दरतम थियो। बडीमालिका २२ वटा पाटनको माला रहेछ। सोतापाटन, फूल चढाउना पाटन, लादेपाटन, दौड्ने पाटन, त्रिवेणी पाटन, के के हो के के नामहरू पनि!

चौरमा फुलेका फूलले चौर नै फूलको बुकी झैं लाग्दथ्यो। घाँस नै घाँस, रूख नभएको त्यो ठाउँ कति सुन्दर ! चौर नै रङ्गीन थियो, भन्दैथिए, ‘यहाँ त १३६ प्रकारका फूल फुल्दछन्।’

हिंडाइले बसमा एक रात, मार्तडीमा अनि सोतापाटन हुँदै त्रिवेणीमा चौथो रात थियो। सुत्ने त समस्या नै भयो। प्रदेश सरकारले एक धर्मशाला बनाएको रहेछ। कालीकोट र बाजुराको सिमानामा पर्ने धर्मशालामा न पानी थियो, न सुत्न मिल्ने। नयाँ धर्मशाला प्रदेशको जीर्ण रूप देखियो। टेन्टमा पनि चिसो आएपछि त्यहाँ स्थानीय व्यापारीले हालेको पासो (प्रतिव्यक्ति ४०० मा सुत्ने) पाटनको प्लास्टिकमा आएर सुत्यौं।

३,५०० मिटरमाथि रूख नहुने भएकोले पनि होला, त्रिवेणीबाट उकालो लागेपछि समुद्रको लहर जस्तै लहरिएका पहाडहरू देखिए। घन्टीहरू टिनीटिनी बज्दथ्यो। कि कुकुर, कि भैंसी/गाईको गलामा बाँधेको घन्टीको आवाजले सुमधुर सङ्गीत बजे झैं हुन्थ्यो।

अहा ! जति दिन बसे पनि नपुग्ने। जुन डाँडाबाट हेरे पनि असाध्यै सुन्दर पाटनहरू अजब-गजबकै थिए। उकालो उक्लँदै जाँदा पहाड प्रत्येक मोडबाट फरक देखिन्छ। यही फरक र नवीनता हेर्दै ‘यहीं फोटो खिचौं, त्यहीं खिचौं’ गर्दै हिंड्दै गयौं।

बेलाबेलामा पहाड र हुस्सुको लुकामारीले काउकुती लगाउँथ्यो। ह्वात्तै हुस्सु आएर तन घेरे पनि मन खुला हुन्थ्यो।

बडीमालिकाबाट देखिएको हिमशृङखला

ईश्वरलाई भेट्न फूल भेट्दै जानुपर्दछ भन्ने सुनेको थिएँ। दुवैतर्फ फूल नै फूलको बाटो हिंडियो। आँखामा थियो दृश्य, नाकमा थियो बास्ना। फूल चढाउने पाटनमा फूल टिपेर चढाउन मन लागेन। कागजको फूल (पैसा) चढाएँ। प्रेम गर्नेले फूल टिप्दैनन्, फूलमा पानी हाल्दछन्। माया गर्नेले फूल टिप्दछन् भन्ने कतै पढेको थिएँ। प्रेम र माया दुवै गर्न मैले मोबाइलमा कहिल्यै नओइलाउने गरी फूलको फोटो खिचें।

सेतो र हरियोको शान्त चित्रमा हामी चित्रित भइरहेका थियौं। अगाडि हिंड्दा पछाडि हेर्दै जानु पनि मज्जा हुन्थ्यो। शैलुङ गएर फर्केका हामीलाई त्रिवेणी पाटन त हजारलुङ लाग्यो। हजार वटा डाँडा तरेली परेका कति सुन्दर ! क्यामेराभन्दा आँखामा, आँखामा भन्दा हृदयमा रहेको त्रिवेणीको वर्णन गर्न शब्द सीमित भइरहे झैं भइरहेछ।

विशेषतः लौरीविनाबाट माथि लागेपछि ह्वार्रै ओरालो र ह्वात्तै उकालो रहेछ, जहाँ रेलिङको व्यवस्था गरिएको छ। बडीमालिका पुग्नु २० मिनेटअघिको बासुधारा थियो, त्यहाँ हातखुट्टा धोएर माथि जाने चलन रहेछ। थाकेर लद्दु भएकोले पानी पनि परेकोले त्यता नगई सिधै उकालिएँ। ठ्याक्कै डाँडाको टुप्पोमा रहेछ मन्दिर।

४,२२० मिटर उचाइको बडीमालिका मन्दिर पुग्दा अलौकिक आनन्द आयो। पुरातात्त्विक मापदण्ड अनुसार मल्लागिरी पर्वतमा सतीदेवीको अङ्ग पतन भएर बनेको किंवदन्ती छ। यो विश्वकै अग्लो उचाइमा रहेको कलात्मक हिन्दु मन्दिर रहेछ।

मनोकाङ्क्षा पूरा हुने मन्दिरका रूपमा चिनिने यो मन्दिरमा भारतको कुमाउ गढवालदेखि पनि मान्छे आउने रहेछन्। त्यति माथि नेपाली सेनाले त्यति कलात्मक मन्दिर बनाए पनि त्यहाँ पानी पर्दा, एकदम चिसो हुँदा बस्ने ठाउँ भने छैन।

हवन कुण्डमा गएर एकछिन बसेपछि मान्छे ओरालो झर्नैपर्दछ। ओर्लंदा ठाडै ओरालो छ। बासु भीर भन्ने सुनेको, त्यसको हजुरबा रहेछ त्यो भीर। धन्न कुहिरो लागेकोले तल देखिएन। दुई वटा खुट्टा मात्र अडिने त्यो भीर तल हेर्दा रिंगटा छुट्ने छ। बडीमालिकाबाट सिधै तल दुई घण्टा फटाफट ओरालो लागेपछि अर्को रात बिताइयो फूल चढाउना पाटनमा।

पाटनमा फूल चढाउना पाटन पनि धेरै रहेछन्, जहाँ दाताले काठको धर्मशाला बनाइदिएका रहेछन्। त्यहाँ बसेका श्रवणमुनि महाराजसँग पनि भलाकुसारी गरें। त्यो रातको बास त्यहीं भयो। स्लिपिङ ब्याग नलगे त बडीमालिका यात्रामा कहाँ सुत्नु ? म्याट, नट्स, पानी र स्लिपिङ ब्याग त अनिवार्य झैं रहेछ। भोलिपल्ट बिहान हाम्रो यात्रा मना गाउँ थियो।

सुन्दर मना गाउँ पुग्न पाँच घण्टा लाग्यो। मनामा मासु–चिउरा हानेपछि हामी लाग्यौं मूल सडकतिर। मूल सडकमा पुग्न हामीलाई दुई घण्टा लाग्यो। गाडी चढेर वीरे झरनामा चिसो हुँदै मार्तडी आउँदा लगभग ६ बज्न खोज्दै थियो। भोलि बिहान फेरि गाडीमा हिंड्नु नै थियो ३६ घण्टा भनेर चाँडै सुत्न खोजेको, रमाइलो गफले गर्दा १२ बजिहाल्यो।

बिहान मार्तडी बजारमा बस आइसकेको थियो। शुक्रबार बिहान चढेको बसले शनिबार बेलुका ३६ घण्टे बसको चक्र सकाउँदै बसपार्क ल्यायो।

बाजुराबाट फर्केपछि फेरि मैले प्रधानमन्त्री बालेन सम्झें। १०० दिनको शासकीय सुधारको १०० बुँदाको ७२औं बुँदामा बाजुराको बडीमालिका ट्रेकिङ रुट सहित व्यवस्थित पर्यटनको अध्ययन गरी एक महिनाभित्र कार्यान्वयन खाका प्रस्तुत गर्ने भनिएको थियो। १०० बुँदा नै पूरा हुन सकेन।

सरकार गठन भएको दुई दिनमा पाँच काम गरेको, १२ दिनमा २० काम गरेको बालेन सरकारको ७२औं बुँदामा लेखिएको छ- ‘उदयपुर, अछाम, बाजुरा, अपी हिमाल लगायत पर्यटन खाका एक महिनामा बनाउने।’ त्यो रास्वपाको वाचापत्र ४८ बाट लिइएको रहेछ।

रास्वपा वाचापत्र ४८ मा पर्यटकको बसाइ दोब्बर बनाउन कर्णाली र सुदूरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटन गन्तव्य बनाउने, जसमा ट्रेकिङ केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति र समुदाय जोड्दै नयाँ इकोसिस्टम स्थापनामा ध्यान दिने भनिएको छ, जुन ३० दिनमा सकियो भनिएको छ।

बडीमालिका जाने ठाउँमा बस्ने, खाने, पदमार्गमा हुने सुविधा न सरकारी छ न व्यक्तिगत नै। जाने यात्रु आफैंले गर्नुपर्ने बाध्यता छ। रहरले गएका हौ गर न भने झैं गरेपछि पर्यटन प्रवर्धन कसरी हुने ?

कम्तीमा केबलकारहरूको व्यवस्था गरे, बाटोमा पानी, धारा र बस्ने–खाने व्यवस्था गरे पो स्विट्जरल्यान्डको बाउ बन्ला त ! नत्र भनेर मात्रै त भने जस्तै मात्र हुन्छ, गरे जस्तो हुँदैन।

धार्मिक, सांस्कृतिक, प्राकृतिक, जैविक अनेक विविधताले भरिएको अलौकिक, अद्भुत, आश्चर्यजनक बडीमालिकाले नेपाललाई नै बडो भलो गर्न सक्छ। बालेनले बोलेकोमा विशेष ध्यान दिनुपर्दछ र बडीमालिका साँच्चै संसारकै अलौकिक ट्रेकिङ रुट बन्दै बाजुरा र नेपाललाई बडीमालिकाले पाल्न सक्ने महसुस गरेर आएँ।

                    

लेखक
कमल ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?