२ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२, सेरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सूचना अधिकारी रविन विष्टका अनुसार पाँचखाल नगरपालिका–१२, सेरामा आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नाङ्गो विद्युत् तारबाट करेन्ट लागेर वर्ष ६१ का कान्छा दनुवारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
उक्त घटनामा सोही स्थानको वर्ष २६ की अनु दनुवार पनि करेन्ट लागेर घाइते भएकी छन् । उनको दाहिने हातको बुढी औँलामा सामान्य चोट लागेको छ ।
अनुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4