+
+
Shares
विचार :

उत्तराधिकारीको बाटो किन मोडिँदै छ ?

पारिवारिक व्यवसायमा पुस्तान्तरणको सबैभन्दा ठूलो चुनौती सम्पत्ति होइन, विश्वासको हस्तान्तरण पनि हो ।

हिमाल खनाल हिमाल खनाल
२०८३ साउन ४ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका पारिवारिक व्यवसायहरूमा उत्तराधिकारीहरू किन आफ्नै पुर्ख्यौली व्यवसायबाट टाढिँदै छन् भन्ने विषय गम्भीर चिन्ता र बहसको केन्द्र बनेको छ ।
  • अभिभावकहरूले सन्तानलाई संघर्षका कथाहरू मात्र सुनाउँदा उनीहरूको अवचेतनमा व्यवसायप्रति डर र नकारात्मक धारणा विकास भइरहेको विश्लेषकहरूको मत छ ।
  • अधिवक्ता खनालले व्यवसाय हस्तान्तरणका लागि सम्पत्ति मात्र नभई विश्वास, दृष्टिकोण र अपनत्व निर्माण गर्ने पारिवारिक शासन आवश्यक रहेको बताउनुभयो ।

नेपालमा पारिवारिक व्यवसाय विस्तारिँदै छन् । नयाँ उद्योग थपिएका छन् । लगानी बढेको छ । व्यवसायहरू दोस्रो र तेस्रो पुस्तासम्म पुग्ने तयारीमा छन् ।

बाहिरबाट हेर्दा यो उत्साहजनक तस्वीर हो । तर यही सफलताभित्र एउटा गम्भीर प्रश्न लुकेको छ, पारिवारिक व्यवसायका उत्तराधिकारी किन आफ्नै व्यवसायबाट टाढिँदै छन् ?

धेरै परिवारमा यो प्रश्न अहिले निजी चिन्ताको विषय बनेको छ । अभिभावक भन्छन्, ‘हामीले सबै व्यवस्था गरिदियौँ, तर छोराछोरीलाई व्यवसायमा रुचि नै छैन ।’

कतिपयले यसलाई विदेशप्रतिको आकर्षणसँग जोड्छन् । कसैले नयाँ पुस्ताको बदलिएको सोचलाई दोष दिन्छन् ।

कसैले भन्छन्, ‘आजकालका युवाहरू धेरै स्वतन्त्र हुन खोज्छन् ।’  तर वास्तविकता यति सरल छैन ।

यो केवल कुनै एक युवाले विदेश रोजेको कथा होइन ।

यो पारिवारिक शासन, संस्थागत निरन्तरता, भावनात्मक स्वामित्व र पुस्तान्तरणको मनोविज्ञानसँग गाँसिएको विषय हो । किनकि, उत्तराधिकारीको निर्णय एक दिनमा बन्दैन । त्यो निर्णय परिवारभित्र वर्षौँसम्म निर्माण भएको विश्वास, अनुभव र संवादको परिणाम हुन्छ ।

उत्तराधिकार सम्पत्तिको मात्र होइन, सोचको पनि हुन्छ

प्रत्येक परिवारले आफ्ना सन्तानलाई घर, जग्गा, व्यवसाय वा सम्पत्ति मात्र हस्तान्तरण गर्दैन । उसले एउटा दृष्टिकोण पनि हस्तान्तरण गरिरहेको हुन्छ ।

यो कुनै विद्यालयको पाठ्यक्रम होइन । यो परिवारभित्र बोलिने भाषामा हुन्छ । खाने टेबलमा हुने कुराकानीमा हुन्छ । अभिभावकले बारम्बार सुनाउने कथामा हुन्छ ।

घरमा दोहोरिइरहने सन्देशमा हुन्छ । बालबालिकाले संसारलाई सबैभन्दा पहिले आफ्ना अभिभावकको आँखाबाट हेर्न सिक्छन् ।

त्यसैले, उनीहरूले देश, व्यवसाय, पैसा, जोखिम, सफलता र भविष्यबारे बनाउने पहिलो धारणा पनि परिवारभित्रकै संवादबाट निर्माण हुन्छ । यही कारणले उत्तराधिकार केवल कानुनी प्रक्रिया होइन । यो मनोवैज्ञानिक प्रक्रिया पनि हो ।

जब संघर्षको कथा मात्र सुनाइन्छ

नेपालका धेरै स्थापित व्यवसायिक परिवारमा एउटा समान प्रवृत्ति देखिन्छ । सन्तानलाई मेहेनती बनाउन, घमण्ड नआओस् भनेर वा संघर्षको मूल्य बुझाउन अभिभावकहरूले आफ्ना कठिन दिनका कथा धेरै सुनाउँछन् ।

जस्तो की, ‘हामीले केही नहुँदा सुरु गरेका थियौँ, ’, ‘कति दुःख गरेर यहाँसम्म आइपुगियो’, ‘नेपालमा केही सजिलो छैन’, ‘व्यवसाय गर्नु भनेको सधैँ तनाव लिनु हो, सरकारले साथ दिँदैन ।’

यी भाष्य बोल्नै नहुने होइन । यी सबै कथाहरू गलत होइनन् । समस्या कथा सुनाउनुमा होइन, एउटै कथा मात्र सुनाइरहनुमा हुनजान्छ ।

‘यदि यति धेरै दुःख हुन्छ भने म किन यही बाटो रोजूँ ?’  जब वर्षौँसम्म सन्तानले आफ्नै घरभित्र व्यवसायलाई दुःख, तनाव, जोखिम र संघर्षको पर्यायका रूपमा मात्र सुन्छ, तब उसको अवचेतन मनमा यस्ता धारणाले डेरा जमाउन थाल्छन् ।

‘यदि यति धेरै दुःख हुन्छ भने म किन यही बाटो रोजूँ ?’  जब वर्षौँसम्म सन्तानले आफ्नै घरभित्र व्यवसायलाई केवल दुःख, तनाव, जोखिम र संघर्षको पर्यायका रूपमा मात्र सुन्छ, तब उसको अवचेतन मनमा यस्ता धारणाले डेरा जमाउन थाल्छन् ।

अभिभावकको उद्देश्य विनम्रता सिकाउनु हुन्छ । तर कहिलेकाहीँ त्यसले अनजानेमै आफ्नै व्यवसायप्रति आकर्षणभन्दा डर निर्माण गरिरहेको हुन्छ ।

विश्वास तथ्यभन्दा शक्तिशाली हुन्छ

मानिसले निर्णय तथ्यका आधारमा मात्र गर्दैन । उसले निर्णय आफ्नो विश्वासका आधारमा गर्छ । र, विश्वास कुनै एउटा घटनाले बन्दैन ।

त्यो वर्षौँसम्म दोहोरिएको अनुभव र संवादबाट निर्माण हुन्छ ।

नेपालमा भविष्य छैन । राम्रा मानिस सबै विदेश जान्छन् । यहाँ केही गर्न सकिँदैन यस्ता कुराहरु घर, छिमेक र समाजमा धेरै सुनिन्छन् ।

यदि बाल्यकालदेखि नै कसैले यो सुन्दै आएको छ भने उसले ठूलो भएपछि यही कथालाई आफ्नो यथार्थ ठान्न थाल्छ ।

त्यसपछि उसलाई विदेशको अवसर बढी आकर्षक देखिनु अस्वाभाविक होइन । किनकि, मानिस त्यहीँ भविष्य देख्छ, जहाँ उसले सम्भावना देखेको हुन्छ ।

एउटा वास्तविक अनुभवले सिकाएको पाठ

मेरो व्यावसायिक जीवनमा एउटा स्थापित व्यवसायिक परिवारसँग काम गर्ने अवसर मिलेको थियो । त्यो परिवारसँग जलविद्युत्, विद्यालय, निर्माण र सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा सफल व्यवसाय थिए ।

पर्याप्त सम्पत्ति थियो । व्यवस्थित संस्था थिए । भविष्यका पुस्तालाई हस्तान्तरण गर्न सकिने बलियो आधार पनि तयार थियो ।

तर परिवारको सबैभन्दा ठूलो चिन्ता नयाँ उद्योग थप्ने होइन, उत्तराधिकारीलाई नेपालमै राख्ने थियो । परिवारले सम्भव भएसम्म सबै प्रयास गर्‍यो ।

छोराको रुचिअनुसार नयाँ व्यवसाय सुरु गर्न मात्र होइन, रोजाईको मोटरसाइकल र कार समेत किनिदिए । कम्पनीमा निर्देशकको जिम्मेवारी दिने प्रस्ताव गरियो । निर्णय प्रक्रियामा सहभागी गरायो ।

केही समय उनी व्यवसायमा सक्रिय भएजस्तो पनि देखियो । तर अन्ततः उनले अष्ट्रेलियालाई आफ्नो भविष्य माने । र, त्यहीँ बस्ने निर्णय गरे ।

त्यो परिवारको प्रश्न थियो, ‘हामीले त सबै दियौँ, अझै किन गए ?’  यो प्रश्न धेरै नेपाली व्यवसायिक परिवारको साझा प्रश्न हो । समस्या सुविधा होइन, भविष्यको कल्पनामा पनि हो भने यो उदारहणले देखाउँछ ।

समस्या सम्पत्ति कम हुनु थिएन । समस्या पद नपाउनु पनि थिएन । समस्या त्यहाँ थियो, जहाँ भविष्यप्रतिको भावनात्मक विश्वास निर्माण हुन सकेन ।

पैसा आवश्यक छ तर कुनै पनि मानिस केवल पैसाले बाँधिँदैन । ऊ त्यहीँ बस्छ, जहाँ उसले आफ्नो अर्थ, आफ्नो योगदान र आफ्नो भविष्य देख्छ । यदि व्यवसाय केवल बाबुआमाको सपना बनेर रह्यो, तर सन्तानको सपना बन्न सकेन भने उत्तराधिकारी बाहिर जानु स्वाभाविक हुन्छ ।

नेपालमा सबैभन्दा कम छलफल भएको विषय : पारिवारिक शासन

नेपालमा पारिवारिक व्यवसायका चुनौतीबारे कुरा हुँदा धेरैजसो छलफल कर, कानुन, बजार, पूँजी, बैंकिङ, जनशक्ति र व्यवस्थापनमा केन्द्रित हुन्छ ।

यी सबै आवश्यक विषय हुन् । तर एउटा विषय अझै पनि पर्याप्त रूपमा छलफलमा आएको छैन, त्यो हो पारिवारिक शासन । पारिवारिक शासन भनेको केवल सम्पत्ति कसले पाउने भन्ने व्यवस्था होइन ।

यो परिवारभित्र संवाद कसरी हुने, मूल्य कसरी पुस्तान्तरण गर्ने, उत्तराधिकारी कसरी तयार गर्ने र व्यवसायसँग अपनत्व कसरी निर्माण गर्ने भन्ने प्रक्रिया हो ।

जहाँ यो प्रक्रिया कमजोर हुन्छ, त्यहाँ व्यवसाय कानुनी रूपमा त हस्तान्तरण हुन सक्छ, तर भावनात्मक रूपमा निरन्तरता पाउन सक्दैन । यही कारणले उत्तराधिकार केवल सम्पत्तिको हस्तान्तरण होइन ।

यो विश्वास, दृष्टिकोण, जिम्मेवारी र अपनत्वको पनि पुस्तान्तरण हो। यदि बाल्यकालदेखि नै सन्तानलाई आफ्नै परिवार, व्यवसाय र समाजसँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने अवसर दिइएन भने उनीहरूले अवसर बाहिर खोज्नु अस्वाभाविक होइन ।

त्यो विद्रोहभन्दा बढी उनीहरूको चेतनाले निर्माण गरेको स्वाभाविक निर्णय हो ।

सायद, अब परिवारभित्रको संवाद पुनर्विचार गर्ने समय आएको छ । सन्तानलाई संघर्षको कथा सुनाउनुको साथै सम्भावनाको कथा पनि सुनाउन आवश्यक छ ।  भावि दिनमा हुने जोखिम, सम्भावनाको यथार्थसँगै अवसरको क्षितिज पनि देखाउनु पर्छ । विनम्रता सिकाउनु आवश्यक छ, तर आत्मविश्वास कमजोर पारेर होइन ।

किनकि अन्ततः उत्तराधिकारीले अभिभावकको सम्पत्ति मात्र प्राप्त गर्दैनन्; उनीहरूले अभिभावकको विश्वदृष्टि पनि उत्तराधिकारमा पाउँछन् ।

त्यसैले, प्रश्न केवल यति होइन कि उत्तराधिकारी किन टाढिँदै छन् । प्रश्न यो पनि हो, ‘हामीले उनीहरूलाई व्यवसाय हस्तान्तरण गर्ने तयारी गरिरहेका छौँ, वा व्यवसायप्रति अपनत्व निर्माण गर्ने ?’

किनकि, व्यवसाय कानुनी रूपमा हस्तान्तरण गर्न सकिन्छ, सम्पत्ति नामसारी गर्न सकिन्छ, पद जिम्मा लगाउन सकिन्छ । तर अपनत्व, विश्वास र उत्तरदायित्व कुनै कागजले हस्तान्तरण गर्न सक्दैन । ती त परिवारभित्र वर्षौँसम्म निर्माण भएको संवाद, संस्कार र विश्वासबाट मात्र पुस्तान्तरण हुन्छ ।

(खनाल कम्पनी कानुन, कर, कर्पोरेट सुशासन तथा व्यवसाय व्यवस्थापनका क्षेत्रमा कार्यरत अधिवक्ता हुन् । उनी व्यवसाय, नेतृत्व र अर्थतन्त्रसम्बन्धी विषयमा नियमित रूपमा लेख्छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?