+
+
Shares

देशभरि सकियो ७४ प्रतिशत धान रोपाइँ

कृषि विभागका अनुसार नेपालमा धान खेती हुने कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ११ हजार ३ सय २ हेक्टरमा रोपाइँ सकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यस वर्ष साउन ४ गतेसम्म देशभरि कुल धान खेती हुने क्षेत्रफलको ७३.६१ प्रतिशत अर्थात् १० लाख ११ हजार ३ सय २ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
  • कृषि विभागको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेश ९०.६७ प्रतिशत रोपाइँसहित अग्रस्थानमा छ भने मधेस प्रदेश ५७.९३ प्रतिशतका साथ सबैभन्दा पछाडि रहेको छ ।
  • गत वर्षको सोही अवधिको ७२.१४ प्रतिशतको तुलनामा यस वर्ष राष्ट्रिय रोपाइँ दरमा झिनो सुधार देखिए तापनि केही प्रदेशमा भने गत वर्षभन्दा रोपाइँ घटेको छ ।

४ साउन, काठमाडौं । यस वर्ष सोमबारसम्म देशभरि करिब ७४ प्रतिशत धान रोपाइँ सकिएको छ ।

कृषि विभागको तथ्यांक अनुसार नेपालमा धान खेती हुने कुल १३ लाख ७३ हजार ८ सय ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ११ हजार ३ सय २ हेक्टरमा रोपाइँ सकिएको छ । यो कुल क्षेत्रफलको ७३.६१ प्रतिशत हो ।

गत वर्ष सोही अवधिसम्म देशभरि ७२.१४ प्रतिशत रोपाइँ भएको थियो । गत वर्ष तुलनामा यस वर्ष समग्र राष्ट्रिय रोपाइँ दरमा झिनो सुधार देखिए पनि अधिकांश प्रदेशमा भने गत वर्षभन्दा कम रोपाइँ भएको तथ्यांकले देखाएको छ ।

प्रदेशगत आधारमा विश्लेषण गर्दा यस वर्ष सुदूरपश्चिम प्रदेशले धान रोपाइँमा आफूलाई सबैभन्दा अगाडि राखेको छ भने देशकै सबैभन्दा धेरै धान खेती हुने मधेस प्रदेश सबैभन्दा पछाडि देखिएको छ ।

तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल १ लाख ६२ हजार २ सय ५० हेक्टर क्षेत्रफलमध्ये हालसम्म १ लाख ४७ हजार १ सय ६ हेक्टर अर्थात् ९०.६७ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ । यद्यपि, अघिल्लो वर्ष साउन ४ सम्म सुदूरपश्चिममा ९६.९९ प्रतिशत रोपाइँ भइसकेको थियो ।

यस्तै मधेसमा कुल ३ लाख ८२ हजार ४ सय ३३ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २ लाख २१ हजार ५ सय ४६ हेक्टरमा मात्र धान रोपेर सकिएको छ । यो भनेको कुल क्षेत्रफलको जम्मा ५७.९३ प्रतिशतमात्र हो ।

यद्यपि, गत वर्ष साउन ४ सम्म मधेसमा जम्मा ४६.८३ प्रतिशत रोपाइँ भएको अवस्था हेर्दा यस वर्ष त्यहाँ सुधार आएको छ ।

त्यसैगरी कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफल रहेको कोशीमा हालसम्म २ लाख ४ हजार ३ सय ४७ हेक्टर अर्थात् ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यही अवधिमा कोशीमा ६१.७१ प्रतिशतमात्र रोपाइँ भएको थियो ।

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा यस वर्ष रोपाइँ दर घटेको छ । लुम्बिनीमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये २ लाख ४३ हजार ४२ हेक्टर (८०.६५ प्रतिशत) मा रोपाइँ भएको छ । गत वर्ष ८७.९३ प्रतिशत रोपाइँ भइसकेको थियो ।

त्यस्तै बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ८८ हजार ५ सय ५७ हेक्टर (७७.३३ प्रतिशत) रोपाइँ भएको छ । गत वर्ष बागमतीमा ८७.१९ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७३ हजार ३ सय ४९ हेक्टर (७८.३६ प्रतिशत) मा रोपाइँ सकिएको छ, जुन गत वर्ष ७९.२८ प्रतिशतभन्दा केही कम हो ।

त्यस्तै कर्णालीमा पनि कुल ४३ हजार २ सय ९० हेक्टर क्षेत्रफलमध्ये ३३ हजार ३ सय ५३ हेक्टर (७७.०५ प्रतिशत) रोपाइँ भएको छ, जबकि, गत वर्ष ८७.९३ प्रतिशत रोपाइँ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?