News Summary
Generated by OK AI. Editorially reviewed.- युट्युबर जिमी डोनाल्डसन ‘मिस्टरबिस्ट’ ले प्रेमिका थिया बोयसनसँग नेकर आइल्यान्डमा आयोजित निजी समारोहमा विवाह गरेका छन् ।
- विवाह समारोहमा करिब ७० जना आफन्त तथा साथी सहभागी भएको र सो कार्यक्रम एक सातासम्म चलेको थियो ।
- थियाले विवाहपछि आफ्नो नाम परिवर्तन गरी थिया डोनाल्डसन राखेकी छन् र उनले यो विवाह केवल औपचारिकता भएको बताएकी छन् ।
‘मिस्टरबिस्ट’का नामले चर्चित युट्युबर जिमी डोनाल्डसनले लामो समयदेखिकी प्रेमिका थिया बोयसनसँग निजी समारोहमा विवाह गरेका छन् । उनीहरूको विवाह रिचर्ड ब्रान्सनको स्वामित्वमा रहेको निजी टापु नेकर आइल्यान्डमा भएको हो ।
डोनाल्डसनले विवाह समारोहका तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेका छन् । ‘मैले मिसेसबिस्ट भेट्टाएँ,’ उनले मुटुको इमोजीसहित लेखेका छन् । उनले उक्त दिनलाई ‘मेरो जीवनकै उत्कृष्ट दिन’ पनि भनेका छन् ।
पिपलका अनुसार विवाहमा थियाले निकोल प्लस फेलिसिया कुटुरले डिजाइन गरेको सेतो गाउन लगाएकी थिइन् भने डोनाल्डसन राल्फ लरेनको टक्सिडोमा देखिएका थिए । समारोहमा करिब ७० जना आफन्त तथा साथी सहभागी थिए ।
विवाहपछि बोयसनले आफ्नो नाम परिवर्तन गरेर थिया डोनाल्डसन राखेकी छन् ।
मिस्टरबिस्ट र थिया बोयसनको सम्बन्ध
यो जोडीको पहिलो भेट सन् २०२२ मा डोनाल्डसनले बोयसनको जन्मथलो दक्षिण अफ्रिका भ्रमण गर्दा भएको थियो । पिपलसँगको अन्तर्वार्तामा पहिलो भेट सम्झिँदै बोयसनले भनेकी थिइन्, ‘उहाँ कति सरल र बुद्धिमान हुनुहुन्थ्यो भन्ने देखेर म निकै आश्चर्यमा परेकी थिएँ ।’
युट्युबर निकै फरक स्वभावका हुन्छन् भन्ने आफूले अपेक्षा गरेको पनि उनले बताएकी थिइन् । ‘उहाँ त्यहाँ अहंकार देखाएर बसिरहनुभएको थिएन,’ उनले भनेकी थिइन् ।

डोनाल्डसनले सामाजिक सञ्जाल एक्समा प्रत्यक्ष सन्देश पठाएपछि उनीहरूको सम्बन्ध अगाडि बढेको थियो । त्यसको केही समयपछि उनीहरूले डेटिङ सुरु गरे र सन् २०२२ को अप्रिलमा आयोजित किड्स च्वाइस अवाड्र्समा पहिलो पटक सार्वजनिक रूपमा सँगै देखिए ।
दुवै २८ वर्षका डोनाल्डसन र बोयसनले जुलाई १४ देखि एक सातासम्म विवाह उत्सव आयोजना गरेको बताइएको छ । त्यस क्रममा पाहुनाहरू काइटसर्फिङ र स्नोर्कलिङलगायत गतिविधिमा सहभागी भएका थिए ।
विवाहको वाचा आदानप्रदान गरेपछि नवविवाहित जोडीले लेडी गागा र ब्रुनो मार्सको चर्चित गीत ‘डाइ विथ अ स्माइल’मा पहिलो नृत्य गरेको पिपलको रिपोर्टमा उल्लेख छ ।
विवाहबारे बोल्दै बोयसनले वर्षौंदेखि विवाहलाई लक्ष्य बनाएर सम्बन्ध अगाडि बढाएकाले यो समारोह केवल औपचारिकता भएको बताइन् ।
‘सुन्दा अनौठो लाग्न सक्छ, तर यो वास्तवमा केवल औपचारिकता हो । हामीले डेटिङ सुरु गरेदेखि नै विवाह गर्ने लक्ष्यसहित सम्बन्ध अगाडि बढाइरहेका थियौँ । फरक यति मात्र हो कि अब हामी विवाहित भएको कुरा संसारलाई थाहा भयो । तर हामी अझै पनि आफ्नो घर, कुकुर र बिरालाकहाँ फर्किनेछौँ र त्यसपछि हाम्रो अर्को साहसिक यात्रामा निस्किनेछौँ,’ पिपलले बोयसनलाई उद्धृत गर्दै लेखेको छ ।
उनले विवाह उत्सवभर पाहुनालाई सहज र आत्मीय महसुस गराउन डोनाल्डसनले गरेको प्रयासको पनि प्रशंसा गरिन् ।
‘जिमीले सबै पाहुनालाई निकै सहज र समावेश भएको महसुस गराउन विशेष प्रयास गरे । उनले मेरो विस्तारित परिवारलाई पनि राम्ररी चिने । ती सबै क्षण अत्यन्त विशेष थिए । त्यसले मलाई उहाँप्रति अझ धेरै प्रेम महसुस गरायो,’ उनले थपिन् ।
सन् २०२५ मा डोनाल्डसनले बोयसनसँग पाँच लाख डलर अर्थात् ४.१ करोड रुपैयाँ खर्चको डेट नाइटका लागि डिज्नील्यान्ड बन्द गराएका थिए । डोनाल्डसनको मिस्टर बिस्ट युट्युब च्यानल सबैभन्दा धेरै सब्सक्राइबर हुने च्यानल हो ।



प्रतिक्रिया 4