News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेसमा गगन थापाको नेतृत्वमा नयाँ युगको सुरुवात भए पनि पार्टीभित्रको आन्तरिक कलह र गुटगत राजनीतिले चुनौती थपेको छ।
- पार्टीको विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरिए पनि सैद्धान्तिक पुनर्जागरण नहुँदा कांग्रेसको भविष्यप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ।
- देउवा समूहले चुनदेवीमा भेला भई समानान्तर रणनीति बनाएकाले कांग्रेसमा विभाजनको खतरा र लोकतन्त्रमाथिको सङ्कट कायमै रहेको छ।
नेपाली उखानै छ, ‘१२ वर्षमा खोलो पनि फर्किन्छ।’ हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रश्न गर्ने गगनकुमार थापा आज कांग्रेसका सभापति भएका छन्। हिजो नेकपा एमाले होस् वा माओवादी केन्द्रसँग सत्ता–साझेदार गरिरहँदा आफ्नै पार्टीका महामन्त्री तिनै थापालाई सुइँको समेत नदिने देउवा तथा उनको समूह दैनिक आज ‘मिडिया ट्रायल’ गर्दै नयाँ कांग्रेसको जन्म हुँदै गरेको सन्देश छपाउनमै व्यस्त छ।
‘विचारधाराको पुनर्जागरण’ को नारा दिएर भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशन पश्चात् कांग्रेसभित्रको शक्तिकेन्द्र बदलिएको छ। सत्ता प्राप्तिका लागि वामपन्थीसँग अङ्कमाल गर्दै आएको कांग्रेसको एउटा तप्का निर्मलनिवास नजिक चुनदेवीमा भेला भएर सीधै केन्द्रीय समितिमा, त्यो पनि समूहगत प्रवेशका लागि दैनिक वक्तव्य जारी गर्दैछ भने सानेपाको आधिकारिक कांग्रेस विचारधाराको पुनर्जागरण बेगर युगसुहाउँदो पार्टी निर्माण हुनै नसक्ने निष्कर्षमा छ।
हिजोका मितिमा सत्ताका लागि हर विषय जायज ठान्ने ‘कांग्रेस, एमाले र माओवादी’ कै कारण जेन–जी विद्रोह भयो। जेन–जी विद्रोहमा भएको नरसंहार तथा भौतिक आक्रमणसँगै भौतिक संरचनाको नाश आफैंमा दुःखद् पाटो हो। तर, हिजोका मितिमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीतिलाई विकृतपूर्ण बनाएका थिएनन् भने मुलुकमा त्यो तहको डढेलो लाग्ने नै थिएन। दीपक मनाङ्गे ठीक र भीम रावल–घनश्याम भूसालहरू बेठीक देख्ने ओलीको चस्मा र आफ्नै घर–कम्पाउण्डभित्र धाउने मात्र माओवादी देख्ने प्रचण्डका बारे सन्दर्भ मिले आगामी दिनमा चर्चा गरौंला नै। चर्चा यहाँ कांग्रेसबारे नै गरौं। किनकि, ८० वर्षे इतिहास बोकेको कांग्रेस ‘फुट्दैछ’ भन्ने विषयले राजनीतिक बजार विस्तारै गर्माउँदैछ।
विचारधाराको पुनर्जागरण
हिजो सत्ता राजनीतिमा रमाउँदै आएका शेरबहादुरका अलावा डा. आरजु राणा, प्रकाशमान सिंह, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्काहरूको पुस्ताले नेपालमा पछिल्लो समय परिवर्तित तथा विकसित राजनीतिक परिवेशमा मुलुक तथा कार्यकर्तालाई कुनै नयाँ तथा पत्यारयोग्य दृष्टिकोण त दिन सकेनन् नै, उल्टै सत्ताको दुरुपयोग मात्र नभई पटकपटक सत्ता राजनीतिका लागि वामपन्थीसँग अङ्कमाल गरी नै रह्यो। कांग्रेसभित्र विद्रोह गरेर नेतृत्व परिवर्तन हुनुपूर्वसम्मको नेतृत्वले पार्टी मात्र होइन, सिङ्गो देशलाई नै केपी शर्मा ओली जस्ता ‘अहंकारी’ लाई सुम्पिएर उनैले खटाएर दिएको भागमा रमाइरह्यो।
२०३१ सालमा हुनुपर्दछ, बीपी कोइरालाले बनारसको टाउन हलमा आयोजित कार्यक्रममा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई सार्वजनिक कार्यक्रममै भनेका थिए, ‘नेपालको अर्थनीति तपाईं बनाउनुस्, राजनीतिक नीति भने म बनाउँछु।’ तर, त्यही कांग्रेसभित्र पछिल्लो समय कांग्रेसको नेतृत्व लिन पुगेका देउवाले ‘एमाले–माओवादी’ लाई नै आर्थिक तथा राजनीतिक नीति बनाउन दिएर त्यसको साक्षीमा मात्र आफूलाई राखेर रमाए। जसका कारण भूराजनीतिक हिसाबले कांग्रेसको हित चिताउने मुलुकहरू नराम्रोसँग कांग्रेससँग झस्किन पुगे।
उता, एमाले–माओवादीले फरक–फरक समयमा कांग्रेसकै बैसाखीमा सरकार त निर्माण गरे, तर न राजनीतिक, न त आर्थिक नीति नै तय गर्न सके। दुवै नीतिमा पछिल्ला सरकारहरू पूर्णतः असफल भए। नीतिगत तहमा देउवा, ओली र दाहाल असफल भएका मात्र होइनन्, उनीहरूको शासन व्यवस्थामा भ्रष्टाचार यसरी मौलायो कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई छानबिनमा हम्मेहम्मे बनाइदियो। आफूहरूले गरेको अनियमितताको ढाल बनेर नउभिने संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीलाई महाभियोग लगाउन समेत लाजै मानेनन्। सोही कारण उनीहरूको राजनीतिक अवसान अवश्यंभावी बन्न पुग्यो।
भृकुटीमण्डपको वैधानिक विद्रोहले कांग्रेसमा नेतृत्व त परिवर्तन गर्यो, तर त्यो बदलिएको कांग्रेसलाई यतिमै रमाउने सुविधा भने अवश्य छैन। अब सामान्य प्रयासले कांग्रेसको पुनरागमन सम्भव पनि छैन। कांग्रेसलाई पुनर्जीवन दिन कांग्रेसजनलाई मात्र अनुभूति गराएर पुग्दैन। आम जनताको तहमा समेत हिजोको देउवाको पालाको जस्तो कांग्रेस आज छैन। कांग्रेस बदलिएर आएको छ भन्ने सन्देश पुर्याउन जरूरी छ। त्यसका लागि कांग्रेसमा विचारधाराको पुनर्जागरण जरूरी छ। पार्टीमा पछिल्लो समय ‘युवा–युवा’ मात्र भनियो। युवा मात्र भएर पनि पुग्दैन। तसर्थ, एजेण्डा समेत तय नगरी आजको कांग्रेसलाई सुखै छैन।

हिजोदेखि नै भागबण्डाको राजनीतिले ‘गहुँ र जौ’ छुट्याउनै नसक्ने डा. आरजुहरू पार्टीभित्र भान्सेका रूपमा उदाए। पार्टीभित्र एउटा जबर्जस्त तप्का थियो, जो २०४६ देखि पार्टीको मुख्य ठाउँमै थियो। क्षमता र योग्यता बेगर नै पार्टी कब्जा गरेर बसेकै कारण कार्यकर्ता तथा जनता हिजोका परम्परागत कांग्रेस लगायतका दलसँग खुशी थिएनन्। सोही कारण एमाले र माओवादीमा खासै विद्रोह गर्न नसके पनि कांग्रेसमा भने विद्रोह भइछाड्यो।
कांग्रेसमा नेतृत्व बदलियो, बदलिइछाड्यो। अब यत्तिले मात्र पुग्दैन। विचारधाराको पुनर्जागरण जरूरी छ। विरासतबाट निःशुल्क प्राप्त छवि र लोकतन्त्रप्रतिको उसको प्रतिबद्धताकै कारण टिक्दै आएको कांग्रेसमा पछिल्लो समय लोकतन्त्रप्रतिको प्रतिबद्धता, घोषणापत्रप्रति नै खुल्लमखुल्ला बेइमानीसँगै कालोसूचीमा रहेका ठेकेदारले नै पार्टी सञ्चालन गर्ने पद्धति विकसित हुँदै आयो। त्यसैलाई चिर्न बहुमत महाधिवेशन प्रतिनिधि जोखिम उठाएर विशेष महाधिवेशनका निम्ति भृकुटीमण्डपमा भेला भएकै हुन्। यो कुराको हेक्का आजका मितिको कांग्रेसले राख्न सकेन भने चुनदेवी समूहले सम्प्रेषण गरेको मिडिया ट्रायलले आधिकारिक कांग्रेसलाई समेत अल्मल्याउने निश्चितप्रायः देखिन्छ।
चुनदेवी समूहको सम्भावित रणनीति
जेन–जी विद्रोहपश्चात् कांग्रेसभित्र पनि नेतृत्व परिवर्तनमा व्यापक दबाब पर्यो। बहुमत महाधिवेशन प्रतिनिधिले देउवाको विकल्पमा हस्ताक्षर गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए। खड्काले विधिवत् दर्ता गरे, तर ४९ दिन लामो केन्द्रीय समिति बैठकले न ‘नियमित’, न त ‘विशेष’ को मिति नै तोक्न सक्यो, दुवै सकेन। यही पट्यारलाग्दो बैठक देखेर निरुत्साहित कांग्रेसको एउटा तप्का कांग्रेस छाड्न बाध्य भयो। उता, देउवा समूह विशेष वा नियमित महाधिवेशन बोलाउनुभन्दा पार्टी कार्यकर्ताले पार्टी छाडे पनि छाडून् भन्ने निष्कर्षमा पुग्यो। जसको परिणामस्वरुप त्यसको असर फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्न गयो।

दोस्रो विषय निर्वाचनको रह्यो। गगन थापाद्वारा हस्ताक्षरित टिकट लिएर चुनाव लड्न गएका देउवापक्षीय नेताले आफैंलाई मतदान गर्ने बाहेक देउवाकालीन समयको भन्दा कांग्रेस ठूलो होला भन्ने चिन्ताले मत सीधै र लाजै नमानी घण्टीमा माग्न उद्यत भए।
किनकि, देउवा समूहलाई ‘गगन नेतृत्वको कांग्रेसले गन्तव्य दिन सक्दैन’ भन्ने भाष्य निर्माण गर्नु थियो। सर्वोच्च अदालत समेतले निर्वाचन आयोगले गरेको कांग्रेस सम्बन्धी अद्यावधिकको निर्णय कानूनसम्मत् छ भन्दाभन्दै कांग्रेसकै देउवा समूहका एक कथित वरिष्ठ नेता विमलेन्द्र निधीले त सर्वोच्चको निर्णय समेत मान्दैनौंसम्म भनिदिए।
अब यसबाट थाहा लाग्छ– ७० कटेका, विचारशून्य, अख्तियार र अदालतमा भ्रष्टाचारको मुद्दामा दैनिक तारेख धाउनेहरू गगन थापाको नेतृत्वको कांग्रेसलाई स्वीकार गरेर बुथदेखि नै प्रतिनिधि भएर कांग्रेसको राजनीति गर्न तयार छैनन्।
ठोकेरै भन्न सकिन्छ, यदि गगन–विश्व र फर्मुल्लाह मन्सुरहरूले कांग्रेसको चारतारे झण्डा र रूख चिह्न प्राप्त गरेका थिएनन् भने उनीहरू कार्यकर्ता तहमै गएर प्रतिनिधि हुँदै केन्द्रीय तहमा पुग्ने धैर्य राख्दथे। तर, देउवा समूहमा त्यो धैर्य किन पनि देखिंदैन भन्दा ‘भ्रष्टाचारको केसमा गिरफ्तारीमा परिंदा तत्कालै वक्तव्य जारी गर्ने एउटा पार्टी’ उनीहरूलाई चाहिएको छ। सोही कारण पनि एकातिर सानेपा कब्जा गर्ने, मिडिया ट्रायल गरेर गगन–विश्व–प्रदीप–गुरुहरूलाई मनोवैज्ञानिक दबाब दिइराख्ने र अर्कोतिर देशभर भेलाका नाममा गुटको बैठक राखेर प्रजातान्त्रिक कांग्रेस वा अरू कुनै नाममा शङ्ख चिह्न वा अरू केही चिह्न लिएर अगाडि बढ्ने रणनीतिक अख्तियार गर्न सक्छन्।
आसन्न स्थानीय तथा प्रदेश तहको निर्वाचनमा गठबन्धन गर्नका निम्ति एमाले अध्यक्ष ओलीसँग दुई चरणको संवाद देउवा समूहको भई नै सकेको बताइन्छ। जेन–जी विद्रोह पश्चात् एमालेसँग तत्कालै सहकार्य तोड्नुपर्ने गगनहरूको विचारका विपरीत सहकार्य कायमै राख्न पुगेको देउवा समूहलाई अहिले पनि केपी ओलीले नै परिचालित गरेको बुझेर नै हुनुपर्दछ, कांग्रेसले प्रदेशमा एमालेसँगको सहकार्य तोडेर आवश्यक परे विपक्षी बेञ्चमा बस्ने निर्णय लिएको।
कांग्रेसको प्रदेश सम्बन्धी धारणा सार्वजनिक भएलगत्तै चुनदेवीमा बसेको देउवा समूहको बैठकले पार्टी एकताको सम्भावना ९९ प्रतिशत नरहेको निष्कर्ष निकाल्यो। यहींबाट थाहा हुन्छ, देउवा समूह अझै ओलीको निरन्तर सम्पर्कमा छ।
विखण्डनवाला रणनीतिक चालमा देउवा समूह अगाडि छ। १११ सदस्यीय टोलीलाई समूहगत रूपमै केन्द्रीय समितिमा पुर्याउन सक्दा पार्टी नै फुटाउन पनि केन्द्रीय समिति र संसदीय दलमा अङ्कगणित पुग्ने भएकाले देउवा समूह त्यो खेलमा पनि देखिन्छ। अर्कातिर, १४औं महाधिवेशनबाट निर्वाचित १११ जनालाई केन्द्रीय समितिमा लैजाँदा विशेष महाधिवेशनको औचित्यमाथि समेत प्रश्न उठाएर सर्वोच्च अदालतको फुल बेञ्चले मुद्दा हेरीपाऊँ भनेर सर्वोच्च जाने बाटोको समेत पर्खाइमा पूर्णबहादुरहरू छन्।
अर्कातिर, पार्टी फुटाएर दोस्रो कांग्रेस निर्माण गर्नैपर्ने अवस्थामा कोइराला परिवारभित्रैबाट सभापति तय गर्नसक्दा कार्यकर्ता तहमा मुख देखाउन सजिलो हुने निष्कर्ष सहित डा.शेखर कोइरालालाई भेट्न पूर्वसंस्थापन पक्षका एक मझौला तहका नेता गत साता विराटनगर पुगेको कुरा लुकेको छैन। यी सबै विषयका बाबजुद नयाँ कांग्रेस बनाइहाल्दा पनि ‘फेज आउटेड’ वृद्धहरूबाट पार्टी चलाउने विषय जटिल नै हुने भएकाले आजका मितिसम्म भने देउवा पक्ष कांग्रेसलाई ‘मिस्डकल’ नै दिएर बसेको छ।
तथापि, १० वर्ष किन नलागोस्, कांग्रेस जनताको एजेण्डा लिएर जनताकै घरदैलोमा जान जरूरी छ। निर्मलनिवास छेउमा नै रहेको चुनदेवी समूहले के निर्णय र कस्तो रणनीति अख्तियार गर्छ भनेर हेरेर बस्ने सुविधा कम्तीमा सानेपा कांग्रेसलाई छैन। चुनदेवीको रणनीति भनेको कांग्रेस कमजोर बनाएर गगनबाट चलेन भनेर पुनः पार्टी कब्जा गर्ने नै हो।
अब पनि डा. आरजु, पूर्णबहादुर र विमलेन्द्रहरूको हातमै कांग्रेस गयो भने कल्पना गरौं त, कांग्रेस कसको र कत्रो बन्ला ? चुनदेवीको रणनीति सक्षम कार्यकर्ताको अवमूल्यन गर्दै कालोसूचीमा रहेका ठेकेदारले खोलिदिएको कार्यालयमा बसेर कांग्रेस कमजोर बनाउने नै हो। त्यतातिर ध्यानै नदिई सानेपाले पार्टीको पुनर्संरचनासँगै पुनर्जागरण अभियान लिएर जनतामाझ गएर सम्भावित मध्यावधि निर्वाचनसँगै स्थानीय र प्रदेश तहको निर्वाचनको तयारीमा तत्कालै जुट्नु नै कांग्रेसका लागि लाभदायी देखिन्छ। अन्यथा, चुनदेवी समूहले निर्माण गर्न खोजेको भाष्य र एमालेसँग पुनः गर्न खोजिएको कार्यगत एकताले कांग्रेसलाई त समाप्त पार्छ नै, त्यतिबेला लोकतन्त्र समेत गुम्ने निश्चितप्रायः देखिन्छ।
(आचार्य नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन्।)
प्रतिक्रिया 4