+
+
Shares

काठमाडौंमा आज हल्का वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते ७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
  • बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा आज भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
  • मनसुन सक्रिय रहे पनि आगामी तीन दिनसम्म अति भारी वर्षाको जोखिम नरहेको मौसमविद् संजीव अधिकारीले जानकारी दिए।

८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने र केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् संजीव अधिकारीका अनुसार हाल काठमाडौं उपत्यकामा सामान्य बदली रहेको छ । उपत्यकाको आकाशमा मेघगर्जन तथा चट्याङसहित वर्षा गराउन सक्ने बादल विकसित भएकाले केही समयमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै अधिकारीले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको बताए । उनका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा पनि बादल लागेको अवस्था छ । अहिले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा (करिब ५० मिलिमिटरसम्म) हुन सक्ने अनुमान गरिएको छ । अति भारी वा धेरै भारी वर्षाको सम्भावना भने नरहेको मौसमविद् अधिकारीले बताए ।

आज राति कोशी प्रदेशका केही बढी स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । रातिको समयमा भारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म पनि मनसुन सक्रिय रहने भए पनि अति भारी वा धेरै भारी वर्षाको सम्भावना नरहेको मौसमविद् अधिकारीले जानकारी दिए ।

मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाको आसपास रहेकाले वर्षा भइरहे पनि अत्यधिक वर्षाको जोखिम तत्काल नदेखिएको उनको भनाइ छ ।

महाशाखाले सर्वसाधारणलाई जल तथा मौसम विज्ञान विभागका आधिकारिक मौसम बुलेटिन नियमित रूपमा हेरी अद्यावधिक जानकारी लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?