News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार कारोबार बन्द भएको १५ मिनेटपछि नेप्से परिसूचकमा अचानक ३७ प्रतिशतको अस्वभाविक गिरावट देखिएको छ।
- नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, 'प्राविधिक समस्या देखिएको हो, सो टिमले नै वास्तविक समस्या पहिचान गरेपछि समाधान हुनेछ।'
- सेयर बजारको प्रणालीमा पटक-पटक देखिएका यस्ता प्राविधिक त्रुटिहरूले ठूलो दुर्घटना निम्त्याउने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
८ साउन, काठमाडौं । शुक्रबार सेयर बजार बन्द भएको करिब १५ मिनेटपछि नेप्से परिसूचक १ हजार ८ अंक अर्थात् ३७ प्रतिशत घटेको देखियो । नेप्से १ हजार ८ अंक घटेर १७१७ अंकमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा परे ।
नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसैगरी त्रुटिपूर्ण देखिए । नेप्सेको वेबसाइटका अलवा नेप्सेकै कारोबार प्रणाली (टीएमएस)मा पनि सोही त्रुटि देखियो । एकाएक गणना अंकमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
‘सामान्य अवस्थामा त्यति ठूलो मात्रामा परिवर्तन हुँदैन, प्राविधिक समस्या देखिएको हो, त्यसबारे प्राविधिक टिमले हेरिरहेको छ, सो टिमले नै वास्तविक समस्या पहिचान गरेपछि समाधान हुनेछ’ उनले भने ।
नेप्सेमा प्राविधिक त्रुटि देखिएको यो पहिलो घटना होइन, यसअघि विगतमा पनि यस्तै त्रुटि देखिँदै आएका छन् । कहिले कुनै कम्पनीको मूल्य सीमाभन्दा अत्याधिक बढेको देखिने, कहिले अध्याधिक घटेको देखिने समस्या विगतमा पनि देखिँदै आएका छन् । यसरी बारम्बार समस्या देखिँदा पनि प्राविधिक रुपमा दीगो समाधान हुन सकेको छैन ।
नियामक नेपाल धितोपत्र बोर्ड र सरकारले नै नीति तथा कार्यक्रममा नेप्सेलाई आधुनिक प्रविधिमैत्री बनाउने घोषणा बारम्बार गर्दै आएका छन् । बारम्बार देखिने यस्ता समस्याले कुनै दिन दुर्घटना नै निम्त्याउने जोखिम समेत रहेको छ ।
यस दिन नेप्से परिसूचक वास्तवमा ७.९० अंक बढेको हो । वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । बजार बन्द हुनेवित्तिकै नेप्सेको वेबसाइटमा यहीं अंक देखिएको थियो ।
प्रतिक्रिया 4