८ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले स्वकीय सचिवालयतर्फ २७ जनालाई नियुक्त गरेका छन् । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’लाई दिएको लिखित जवाफमार्फत उक्त संख्या खुलेको हो ।
उनले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरिएका सदस्यहरूको संख्या, सेवा-सुविधाबारे जानकारी मागेकी थिइन् । कांग्रेस सांसद थपलियालाई लिखित जवाफ दिँदै सचिव पुष्कर सापकोटाले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ कुल ४८ जनाको दरबन्दी रहेकोमा हाल २७ जना नियुक्त हुनुभएको छ ।’ प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी २ जना (मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार) र नेपाल सरकारको राज्यमन्त्री सरहको सुविधा पाउने गरी दुई जना (नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार) को नियुक्ति भएको जवाफमा उल्लेख छ ।
यसका अतिरिक्त एक जना अवैतनिक स्वास्थ्य सल्लाहकारलाई पनि नियुक्त गरिएको सचिव सापकोटाले सांसद थपलियालाई जानकारी दिएका छन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम पदाधिकारी र कर्मचारीहरू नियुक्त भएका पनि जवाफमा भनिएको छ ।
जवाफमा मन्त्रीको सल्लाहकारको संख्या र सुविधाबारे पनि जानकारी गराइएको छ । जसअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयका मन्त्रीले नेपाल सरकारको विशिष्ट श्रेणी सरहका एक जना वैतनिकसहित बढीमा पाँच जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था रहेको उल्लेख छ ।
अन्य मन्त्रालयका मन्त्रीले नेपाल सरकारको विशिष्ट श्रेणी सरहका एक जना वैतनिकसहित बढीमा तीन जनासम्म सल्लाहकार नियुक्त गर्नसक्ने व्यवस्था रहेको पनि सापकोटाले बताएका छन् ।
यसैगरी जवाफमा मन्त्रीको स्वकीय सचिवालयको संख्या र सुविधाबारे पनि उल्लेख छ । जवाफअनुसार उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवालयमा ९/९ जनाको दरबन्दी तोकिएको छ ।
सेवा सुविधाको हकमा उपप्रधानमन्त्रीले नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणी सरहको प्रमुख स्वकीय सचिव र मन्त्री/राज्यमन्त्रीले नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी सरहको प्रमुख स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ ।
‘यसबाहेक सबै मन्त्री (उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री) को सचिवालयमा नेपाल सरकारको रा.प. तृतीय श्रेणी सरहका १ जना स्वकीय सचिव, नेपाल सरकारको रा.प. तृतीय श्रेणी सरहका १ जना समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत, नेपाल सरकारको रा.प. अनं. प्रथम श्रेणी सरहका १ जना सञ्चार तथा जनसम्पर्क सहायक, नेपाल सरकारको रा.प. अनं. प्रथम श्रेणी सरहका १ जना सहायकस्तरको कर्मचारी तथा श्रेणीविहीन २/२ जना सवारी चालक र कार्यालय सहयोगी रहने व्यवस्था रहेको छ,’ जवाफमा भनिएको छ ।
उनीहरूले नेपाल सरकारका सम्बन्धित श्रेणी सरहको कानुनबमोजिम प्राप्त हुने सेवा सुविधा पाउने व्यवस्था रहेको सचिव सापकोटाले बताएका छन् ।
प्रतिक्रिया 4