News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस इरानविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा जोडिएको नलागेको बताएका छन्।
- राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई हतियार नदिने आश्वासन दिएको बताएका छन्।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु इरानसँगको युद्धपछि पहिलो पटक राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्न सोमबार अमेरिका जाँदै छन्।
९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीन वा रुस इरान युद्धमा जोडिएको आफूलाई नलागेको बताएका छन्। यद्यपि, उनले चेतावनी दिँदै यदि यी दुवै देशले यस युद्धमा हस्तक्षेप गरे भने यसको गम्भीर परिणाम हुने र त्यो उनीहरूका लागि राम्रो नहुने स्पष्ट पारेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै हालै बेइजिङमा भएको आफ्नो भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले जुनसुकै परिस्थितिमा पनि इरानलाई हतियार नदिने आश्वासन दिएको बताएका छन्। यो नियम चिनियाँ कम्पनीहरूका लागि पनि लागू हुनेछ। ट्रम्पले भनेका छन्, ‘मलाई सी चिनफिङमाथि विश्वास छ।’
साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार नबेच्ने आफूलाई बताएको उनले उल्लेख गरेका छन्।
चीनका विदेशमन्त्री वाङ यीले इरानका विदेशमन्त्री अराघचीसँगको भेटमा बेइजिङले इरानको सार्वभौमसत्ता, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने बताएका छन्। वाङ यीले पश्चिम एसियाको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै वार्ता जारी राख्नुपर्नेमा जोड दिएका छन्। अराघचीले पनि इरान वार्ता गर्न तयार रहेको र द्वन्द्व बढाउन नचाहेको बताएका छन्।
ट्रम्पले इरान र अमेरिकाबीच कुराकानी जारी रहेको र यदि इरान कुरा गर्न चाहन्छ भने आफू सुन्न तयार रहेको बताएका छन्। तर, इरानलाई परमाणु हतियार राख्न भने नदिने उनले स्पष्ट पारेका छन्। अमेरिकी कारबाहीले इरानको सैन्य क्षमतामा भारी नोक्सान पुर्याएको उनको दाबी छ।
ट्रम्पले युक्रेन युद्धका बाबजुद पनि पुटिनसँग आफ्नो कुराकानी जारी रहेको बताए। उनले अमेरिकाले सीधै युक्रेनलाई हतियार नबेच्ने, तर नेटो देशहरूलाई बेच्ने गरेको स्पष्ट पारे।
नेटो देशहरूले यी हतियारहरूको पूरा मूल्य चुकाउने र त्यसपछि उनीहरूले ती हतियार कसरी अगाडि पठाउँछन् भन्ने बारेमा आफूलाई जानकारी नहुने उनको भनाइ छ।
यसैबीच, न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार टर्कीमा नेटो सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरान समर्थित समूहहरूबाट सम्भावित आक्रमणको सूचना प्राप्त भएको थियो। यसपछि सुरक्षाको कारण देखाउँदै अमेरिकी सिक्रेट सर्भिसले ट्रम्पलाई फर्कने क्रममा विमान परिवर्तन गर्न सल्लाह दिएको थियो।
नेतन्याहु अमेरिका जाँदै, युद्धपछि पहिलो पटक ट्रम्पसँग भेट

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सोमबार अमेरिका प्रस्थान गर्नेछन्। उनले राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नेछन्। इरान युद्ध सुरु भएपछि यी दुई नेताबीच यो पहिलो भेट हुनेछ।
यसैबीच, इरान-अमेरिकाबीच लगातार बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा फेरि तीव्र वृद्धि भएको छ। मे महिनापछि पहिलो पटक ब्रेन्ट क्रुडको मूल्य १०० डलर प्रतिब्यारेलको स्तर पार गरेको छ।
इरानले शुक्रबार कुवेतमा रहेका अमेरिकाका तीन सैन्य अखडा (क्याम्प अरिफजान, क्याम्प दोहा र क्याम्प अदैरी) मा ड्रोन हमला गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकाको सामु नझुक्ने र उसको धम्की पनि सहन नसक्ने बताएका छन्। उनले किर्गिस्तानमा भएको सांघाई सहयोग संगठन (एससीओ) का विदेशमन्त्रीहरूको बैठकमा उक्त अभिव्यक्ति दिएका हुन्।
अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा अमेरिकी नौसैनिकहरू पश्चिम एसियामा सैन्य अभ्यासका क्रममा एम१४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमलाई केसी-१३०जे सुपर हरक्युलिस विमानमा लोड गर्दै गरेका तस्बिरहरू सार्वजनिक गरेको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4