News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनले केही धक्का खाए पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
- पेरिसडाँडामा आयोजित स्मृति दिवस कार्यक्रममा बोल्दै उनले कठिनाइहरूबाट पाठ सिक्दै नयाँ संकल्प र उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
- पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिँदै कर्माचार्यको योगदानको स्मरण गरेका छन् ।
९ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन् ।
‘सबै एकसेएक समर्पित योद्धाहरू त्यतिबेला सक्रिय रहेकाले नै कम्युनिष्ट आन्दोलन निरन्तर अगाडि बढ्न सफल भयो । आज हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौं जहाँ केही धक्का अवश्य पनि खेप्नुपरेको छ,’ उनले भने, ‘तर घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटक्याएर फेरि उठेर अघि बढेजस्तै, हामीले पनि यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’
सहसंयोजक नेपालले कम्युनिष्ट आन्दोलनमा उतारचढाव आउनु स्वाभाविक भएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री नेपालले इतिहासका महत्वपूर्ण घटनाक्रम र दस्तावेजहरूको संरक्षण गर्नुपर्नेमा विशेष जोड दिए । जेनजी आन्दोलनका क्रममा आफूहरुको घरमा आगलागी हुँदा महत्वपूर्ण अभिलेखहरू नष्ट भएको स्मरण गरे ।
‘मैले पनि धेरै सामग्रीहरू सुरक्षित राख्ने गरेको थिएँ । तर तीमध्ये धेरै जलाइए, केही बाँकी रहे। हाम्रो प्रचण्ड कमरेडसँग सम्बन्धित सामग्री त सबैजसो जलाइएछन् । मेरो हकमा भने परिवारका सदस्य र छिमेकीहरूले ठूलो जोखिम मोलेर केही सामग्री जोगाइदिएका कारण अहिले पनि फेला परेका छन्,’ सहसंयोजक नेपालले भने, ‘केही आधा जलेका छन्, केही पूर्ण रूपमा जलेका छन्, केही एक चौथाइ मात्र बाँकी छन् । तर ती नोटहरू अझै पनि उपलब्ध छन् ।’
नरबहादुर कर्माचार्यको योगदानको चर्चा गर्दै नेता नेपालले वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि प्रतिबन्धित कालखण्डमा समेत पार्टीलाई जीवन्त तुल्याउन कर्माचार्यले खेलेको भूमिका अविष्मरणीय रहेको उनले बताए ।
प्रतिक्रिया 4