+
+
Shares

विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिजम’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विदेश भ्रमणको प्रलोभन देखाई ठगी गरेको आरोपमा पोखरास्थित ओसिस टुरिज्मका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सप्तरीका विवेक रेग्मी र भारतीय नागरिक मोहम्मद यासेर रहेका छन् भने अन्य दुई सञ्चालक फरार छन्।
  • प्रहरीका अनुसार उक्त कम्पनीले सस्तो प्याकेजको बहानामा रकम असुली पूर्ण भुक्तानीपछि कार्यालय बन्द गरी फरार हुने योजना बनाएको थियो।

९ साउन, काठमाडौं । विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सो कार्यालयबाट प्रयोगमा रहेका कम्प्युटर लगायतका अन्य महत्वपूर्ण सामग्रीहरू समेत बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त कम्पनी नेपाली नागरिकको नाममा दर्ता गरिए पनि यसको मुख्य योजनाकार भारतीय नागरिक रहेको पाइएको छ ।

कम्पनीले दुबई, सिंगापुर, मलेसिया र थाइल्याण्ड लगायतका देशहरूमा सस्तो प्याकेजमा घुम्न लैजाने भन्दै ग्राहकहरूलाई आकर्षित गर्ने गरेको थियो । प्रतिव्यक्ति ४ देखि ५ लाख रुपैयाँसम्मको प्याकेज बनाएर शुरुमा अग्रिम रकम लिने र पूर्ण भुक्तानी भइसकेपछि कम्पनी नै बन्द गरेर सञ्चालकहरू फरार हुने योजनाका साथ स्क्याम चलाइएको प्रहरीको दाबी छ ।

डीएसपी भट्टराईकाअनुसार सो कम्पनीले विभिन्न अफरहरू देखाएर ग्राहकलाई किस्ताबन्दीमा रकम बुझाउन लगाउने गरेको थियो ।

छापा मार्ने क्रममा कम्पनीमा कार्यरत १५ जना युवतीहरूलाई प्रहरीले फेला पारेको थियो । उनीहरूलाई आवश्यक सोधपुछ र सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको छ । घटनामा संलग्न अन्य दुई जना सञ्चालकहरू भने हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?