News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको पटनामा विद्यार्थी आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरीको दमनलाई व्यङ्ग्य र ठट्टामा बदलेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
- शिक्षा प्रणाली र परीक्षामा देखिएको अनियमितताको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा युवाहरू हाँस्दै र नाच्दै प्रतिरोध गरेका थिए।
- हिंसात्मक झडपपछि पटना प्रहरीले २० वटा एफआईआर दर्ता गर्दै ५६ जनालाई पक्राउ गरेको छ भने थप १७७ जनाको पहिचान गरेको जनाएको छ।
९ साउन, काठमाडौं । प्रहरीले प्रदर्शन रोक्न अश्रुग्यास प्रहार गरिरहेको छ, लाठी चलाइरदर्शनकारी युवाहरू भने प्रहरीकै दमनका साधनमाथि ठट्टा गरिरहेका छन्।
एक युवा प्रहरीतिर हेर्दै भन्छन्, ‘सर ! यहाँ टियर ग्यासको व्यवस्था छैन ? तपाईंहरू केही व्यवस्था नगरी आउनुभएछ।’
पछाडिबाट अरू युवा कराउँछन्– ‘वाटर क्यानन !’
केहीबेरमै प्रहरीले पानीको फोहोरा चलाउँछ। प्रदर्शनकारी तितरबितर हुनुको सट्टा पानीमा भिज्दै नाच्न र हाँस्न थाल्छन्।
भारतको बिहारस्थित पटनामा विद्यार्थी प्रदर्शनका क्रममा देखिएको यो दृश्य अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ। प्रहरीको बल प्रयोगलाई प्रदर्शनकारी युवाले व्यङ्ग्यमै बदलिदिएको यो क्षणका भिडियो र मिमहरू व्यापक रूपमा सेयर भइरहेका छन्।
दिल्लीको आन्दोलन पटनासम्म
यो घटनाको पृष्ठभूमि नयाँदिल्लीको जन्तर–मन्तरमा भएको विद्यार्थी आन्दोलनसँग जोडिएको छ।
कक्रोच जनता पार्टी (सीजेपी) ले २० जुलाईमा जन्तर–मन्तरबाट संसदतर्फ मार्च आह्वान गरेको थियो। विभिन्न शैक्षिक तथा परीक्षा प्रणालीसम्बन्धी मुद्दा उठाउँदै ठूलो संख्यामा युवा प्रदर्शनमा सहभागी भएका थिए।
प्रदर्शनकारीले प्रहरीका ब्यारिकेड पार गर्ने प्रयास गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार र अश्रुग्यास प्रयोग गरेको दृश्य सामाजिक सञ्जालमा फैलियो। प्रदर्शनकारी घाइते भएका तस्वीर र भिडियो सार्वजनिक भएपछि प्रहरीको बल प्रयोगमाथि प्रश्नसमेत उठ्यो।
त्यही दिन संसदको मनसुन अधिवेशन चलिरहेको थियो। प्रदर्शन बढिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी संसद भवनबाट बाहिरिएको दृश्यसमेत सार्वजनिक भएको थियो।
दिल्लीको प्रदर्शन र प्रहरी कारबाहीको प्रभाव त्यसपछि पटना, हैदरावाद लगायत अन्य सहरमा पनि देखियो।
पटनामा ‘लोक भवन मार्च’
२२ जुलाईमा बिहारको पटनामा अखिल भारतीय विद्यार्थी संघ (आईसा) को नेतृत्वमा विद्यार्थीहरूले ‘लोक भवन मार्च’ आयोजना गरे।
आईसा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) लिबरेसन निकट विद्यार्थी संगठन हो। प्रदर्शनकारीहरूले परीक्षा प्रश्नपत्र चुहावट, शिक्षा प्रणालीमा देखिएका समस्या तथा शिक्षाको व्यापारीकरणको विरोध गरेका थिए।
उनीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा पनि मागेका थिए।
गान्धी मैदानबाट अघि बढेको प्रदर्शनलाई प्रहरीले राज्यपाल निवासतर्फ जानबाट रोक्यो। त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच तनाव बढ्यो। प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा र लाठी प्रयोग गर्यो।
मार्चको नेतृत्व सीपीआई (एमएल) लिबरेसनका विधायक तथा आइसाका पूर्व राष्ट्रिय महासचिव सन्दीप सौरभले गरेका थिए।
उनले प्रदर्शनका क्रममा मोदी सरकार र दिल्ली प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै केन्द्रीय गृहमन्त्री अमित शाहको समेत राजीनामा मागेका थिए।
प्रदर्शनको प्रभाव बिहार विधान परिषद्सम्म पुग्यो। आरजेडीका एमएलसी सुनील कुमार सिंहले प्रहरी कारबाहीप्रति आपत्ति जनाएपछि सत्ता र विपक्षका सदस्यबीच भनाभन भएको थियो। त्यसपछि विपक्षी सदस्यहरूले बैठक बहिष्कार गरेका थिए।
दमनलाई नै ठट्टामा उडाए
पटनाको यही प्रदर्शनको एउटा फरक दृश्यले भने सबैको ध्यान खिच्यो।
प्रहरीले प्रदर्शनकारी रोक्न पानीको फोहोरा प्रयोग गरिरहेको थियो। तर, केही युवा त्यसबाट भाग्नुको सट्टा उल्टै प्रहरीलाई पानी र अश्रुग्यास चलाउन उक्साइरहेका थिए।
‘नेशनल हेराल्ड’को इन्स्टाग्राम पेजमा सार्वजनिक भएको भिडियोमा एक प्रदर्शनकारी प्रहरीलाई ठट्टा गर्दै भन्छन्, ‘सर ! यहाँ टियर ग्यासको व्यवस्था छैन ? तपाईंहरू केही व्यवस्था नगरी आउनुभएछ।’
उनको पछाडि रहेका युवाहरू ‘वाटर क्यानन’ भन्दै कराइरहेका देखिन्छन्।
प्रहरीले पानीको फोहोरा चलाएपछि उनीहरू भाग्दैनन्। बरु हाँस्दै, नाच्दै पानीमा भिज्न थाल्छन्।
चर्को गर्मीबीच गरिएको प्रदर्शनमा पानीको फोहोरा उनीहरूका लागि प्रहरीको ‘दमनको अस्त्र’ भन्दा पनि केहीबेर गर्मी छल्ने माध्यमजस्तो बन्न पुग्छ।
यही विरोधाभासका कारण दृश्य सामाजिक सञ्जालमा भाइरल भयो। प्रहरी बल प्रयोग गरिरहेको छ, तर प्रदर्शनकारी त्यही बल प्रयोगलाई व्यङ्ग्यमा बदलिरहेका छन्।
आन्दोलनमा भोजपुरी गीत पनि
पटनाको विद्यार्थी आन्दोलनमा नारामात्रै होइन, गीत पनि राजनीतिक अभिव्यक्तिको माध्यम बनेको छ।
‘चकन्द वाले’ नामक युट्युब च्यानलबाट ‘मन्त्रिया कुर्सी दइले बा’ शीर्षकको भोजपुरी गीत सार्वजनिक गरिएको छ। गीतले बेरोजगारी, परीक्षा प्रश्नपत्र चुहावट र युवाको भविष्यसँग जोडिएका विषयमाथि राजनीतिक व्यङ्ग्य गरेको छ।
गीतका शब्दले रोजगारी र व्यावसायिक भविष्यको आशामा रहेका युवाले अवसरको सट्टा प्रहरीको लाठी सामना गर्नुपरेको अवस्थालाई चित्रण गर्छन्।
सरकारी पदमा बसेकाहरू युवाको समस्या समाधान गर्न नसकेको तर सत्ता छाड्न पनि तयार नरहेको भाव गीतमा व्यक्त गरिएको छ।
यसरी सडक प्रदर्शनसँगै गीत, व्यङ्ग्य र सामाजिक सञ्जालका मिमसमेत युवाको असन्तुष्टि व्यक्त गर्ने माध्यम बनेका छन्।
प्रदर्शनका क्रममा अर्को अनौठो दृश्य पनि देखिएको थियो। केही प्रदर्शनकारीले प्रहरीले बाटो छेक्न राखेका ब्यारिकेड नै उचालेर लगेका थिए।
२० एफआईआर, ५६ पक्राउ
तर, हास्य र व्यङ्ग्यका यी दृश्यसँगै पटनाको प्रदर्शन हिंसात्मक पनि बनेको थियो।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा केही समूहले ढुंगा प्रहार गर्नुका साथै प्रहरीका सवारीसाधन र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका थिए। सर्वसाधारण र सञ्चारकर्मीमाथि समेत आक्रमण भएको प्रहरीको दाबी छ।
घटनाको भोलिपल्ट पटना प्रहरीले व्यापक कारबाही सुरु गरेको थियो।
प्रहरीले घटनासँग सम्बन्धित २० वटा एफआईआर दर्ता गर्दै ५६ जनालाई पक्राउ गरेको थियो। भिडियो तथा सीसीटीभी फुटेजका आधारमा थप १७७ जना शंकास्पद व्यक्तिको पहिचान गरिएको प्रहरीले जनाएको छ।
ढुंगामुढा, तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न व्यक्तिको खोजीका लागि छापा तीव्र पारिएको छ।
तनाव बढेसँगै बिहार प्रहरी मुख्यालयले २४ जुलाईदेखि अर्को आदेश नभएसम्म राज्यभरका प्रहरी कर्मचारीको नियमित बिदासमेत रद्द गरेको छ।
पटनाको आन्दोलनमा एकातिर प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप देखियो, अर्कोतिर त्यही दमनको बीचमा युवाहरूले हास्य र व्यङ्ग्यलाई प्रतिरोधको हतियार बनाए।
‘सर, टियर ग्यासको व्यवस्था छैन ?’ भन्ने एउटा प्रश्न त्यसैको रोचक उदाहरण बनेको छ।
प्रतिक्रिया 4