News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म ‘बा : एक योद्धा’ को टिजर सार्वजनिक भएको छ जसमा सन्तानका लागि बुवाले गर्ने त्याग र संघर्षको कथा देखाइएको छ ।
- हरि लम्सालको निर्देशनमा बनेको यो फिल्म १९ भदौदेखि प्रदर्शन हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।
- फिल्ममा दिब्यदेव पन्त, झरना थापा र सुहाना थापाले मुख्य भूमिका निर्वाह गरेका छन् भने यसको निर्माण आर्टिस्टिक इन्टरटेनमेन्टले गरेको हो ।
काठमाडौं । कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्दै कथानक फिल्म ‘बा : एक योद्धा’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ संवादसँगै पहिलो झलक सुरु हुन्छ ।
टिजरको एक दृश्यमा अभिनेता दिब्यदेव पन्त चित्रित छन् जहाँ उनले निर्वाह गरेको चरित्रको खुट्टादेखि टाउको सम्मै रगताम्मे छ । उक्त पात्र जब आफ्नो घर अगाडि देखिन्छ, तब उसले एकपछि अर्को दृश्य सम्झिन थाल्छ ।
उनको परिवारमा आइलागेको विपत्तिलाई त्यसपछि देखाइएको छ । त्यही बीचमा आउने दृश्यमा संवाद छ, ‘आज बाउको मुख हेर्ने दिन । तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन ।’
त्यही उक्त पात्र गाडीमा कतै गइरहेको देखिन्छ । अनि आमा र छोरी रोइरहेको दृश्य आउँछ । यसमा आमाको भूमिकामा झरना थापा र छोरीको भूमिकामा सुहाना थापा चित्रित छन् ।
सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र चुनौतिको कथामा फिल्म बनेको बताइएको छ । फिल्ममा माओत्से गुरुङ, अनिल बुढाथोकी सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र सबी थापा सहायक भूमिकामा छन् ।
हरि लम्सालको निर्देशन तथा पटकथा लेखन रहेको फिल्म १९ भदौदेखि प्रदर्शन तयारीमा छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरम निर्माण भएको फिल्मका लगानीकर्ता वसन्त लम्साल हुन् ।
प्रतिक्रिया 4