News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको शिवपुरी गाउँपालिका–४ मा रहेको लखिनश्वरी झरना गर्मी छल्न चाहनेका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ।
- काठमाडौंको नयाँबानेश्वरबाट करिब ३४ किलोमिटर दूरीमा रहेको यो झरनासम्म पुग्न टोखा–झोर र गजुरे भञ्ज्याङको बाटो सहज छ।
- दैनिक सयौं आन्तरिक पर्यटक पुग्ने यस स्थान सडक नजिकै रहेकाले सबै उमेर समूहका लागि भ्रमण गर्न उपयुक्त छ।
१० साउन, काठमाडौं । राजधानी उपत्यकामा गर्मी र धुँवा–धुलोबाट आजित हुनुभएको छ ? छ भने एक पटक लखिनश्वरी झरना तपाईँका लागि उत्कृष्ट गन्तव्य बन्नसक्छ ।
काठमाडौंको केन्द्र नयाँबानेश्वरबाट डेढ घण्टामै पुग्न सकिने यो पर्यटकीय गन्तव्य प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रे गाउँ नजिकै यो झरना जंगलको बीचमा छ । यहाँ अहिले उपत्यकाबाट गर्मी छल्न दिनहुँ सयौं आन्तरिक पर्यटक पुग्छन् । बिहान गएर दिनभर रमाएर साँझ फर्किन सकिने गन्तव्य भएकाले युवाहरू पुग्ने गरेका छन् ।

यहाँ जान सजिलो बाटो काठमाडौंको टोखा–झोर हुँदै गजुरे भञ्ज्याङ भएर जान सकिन्छ । यो झरना काठमाडौं बानेश्वरबाट ३४ किलोमिटर दूरीमा छ ।
यहाँ जाँदा ६ किलोमिटर कच्ची र बाँकी सबै कालोपत्रे सडक पार गर्नुपर्छ । यहाँ मोटरसाइकल, जिपमा यात्रा गर्न सकिन्छ । झरना सडक नजिकै भएकाले धेरै हिँडडुल गर्न नसक्नेका लागि पनि यो सहज गन्तव्य हो ।
शिवपुरी राष्ट्रिय निकुञ्जसँगै रहेको वन क्षेत्र रहेकाले यो झरना आसपास निकै घना जंगल छ । यसैले यहाँको वातावरण मनोरम पनि छ ।

आसपासमा अन्य साना–ठूला झरना पनि छन् । शिवपुरीबाटै बगेर आउने खोला भएकाले त्यहाँको पानी निकै स्वच्छ, शितल र कञ्चन पनि छ ।
तस्वीर, भिडिओ लिएर रमाउने रुचि भएकाहरूका लागि पनि यो उपयुक्त गन्तव्य हो ।









फोटो : शंकर गिरी, भिडिओ : कमल प्रसाईँ/ अनलाइनखबर
प्रतिक्रिया 4