+
+
Shares

नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम होइन : सचिव सिग्देल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताएका छन् ।
  • उनले भने, ‘कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्छ ।’
  • यो सुरुङमार्ग सञ्चालनले सिस्नेखोला–बलम्बु खण्डको जाम, तीव्र घुम्ती र पहिरोको जोखिम हटेर यात्रा केही मिनेटमै पूरा हुने विश्वास सचिव सिग्देलले व्यक्त गरेका छन् ।

११ साउन, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताएका छन् ।

नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा उनले कठिन भौगोलिक अवस्थाका बाबजुद पनि नेपालमा सुरुङमार्ग सञ्चालनमा ल्याएको बताए । राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने उनले बताए ।

नेपालमा सुरुङ पूर्वाधार विकासको शुरुवात मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने उनको भनाइ थियो ।

सचिव सिग्देलले सुरुङ निर्माणमार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणसम्बन्धी अनुभव हासिल गरेको र यसले भविष्यमा देशभर सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार परियोजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड–१९ महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीका बीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उल्लेख उनले गरे ।

‘कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्छ । यो पहिलो सुरुङ हो, तर अन्तिम भने होइन,’ उनले भने ।

नागढुंगा सुरुङमार्ग सञ्चालनले सिस्नेखोला–बलम्बुबीचको अब केही मिनेटमा पूरा हुने उल्लेख गरे । यात्रुहरूले वर्षौंदेखि भोग्दै आएको जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट अब राहत मिल्ने उनको भनाइ छ ।

सचिव सिग्देलले नागढुंगा पास लामो समयदेखि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित भएपनि राष्ट्रिय सडक सञ्जालको सबैभन्दा बढी जाम हुने र जोखिमपूर्ण खण्डमध्ये एक रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?