+
+
Shares

कालापानीका सुकुमवासीले गरे बिपी राजमार्गमा चक्काजाम

अतिव्यस्त राजमार्गमा चक्काजामका कारण सयौं सवारीसाधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

विजय कुमार सिंह विजय कुमार सिंह
२०८३ साउन १६ गते ९:४१

१६ साउन, महोत्तरी । बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित कालापानीमा चक्काजाम गरिएको छ । गत जेठ ११ गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरुले सडक चक्काजाम गरेका हुन् ।

उक्त प्रकरणमा चारजनामाथि झुठा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरु निर्दोष रहेकोले तीन दिनभित्र मुद्दा फिर्ताका लागि पहलकदमी गर्न बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

त्यसअनुसार बिहीबार बर्दिबास नगरपालिकाको सभाहलमा स्थानीय राजनीतिक दल, स्थानीय सरकार, प्रहरी तथा प्रमुख जिल्ला अधिकारीबीच सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा दर्ता भइसकेर अनुसन्धानको प्रक्रियामा रहेकाले त्यसलाई तत्काल फिर्ता लिने विषय आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर रहेको बताएका थिए । त्यसपछि बैठक निष्कर्षविहीन बनेको थियो ।

बैठकमा बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले मुद्दा फिर्ता गराउन प्रशासनलाई दिइएको तीनदिने अल्टिमेटम शुक्रबार सकिने जानकारी गराएका थिए ।

तीनदिने अल्टिमेटम शुक्रबार सकिएपछि स्थानीय सुकुमवासी तथा अव्यवस्थित वसोवासीहरु शनिबार बिहानैदेखि राजमार्ग अवरुद्ध पार्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले स्थानीयवासीलाई लगाइएको झुठा मुद्दा फिर्ता गर्नुपर्ने, घटनाका दोषी डीएफओलाई कारबाही गर्नुपर्ने, घटनाका बेला भएको सहमति कार्यान्वय गर्नुपर्ने माग गरेका छन् ।

अतिव्यस्त राजमार्गमा चक्काजामका कारण सयौं सवारीसाधनहरु रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारु मगरले कालापानी घटनासम्बन्धी मुद्दा असार १९ गते दर्ता भई अनुसन्धानको प्रक्रियामा रहेको बताए ।

के हो घटना ?

बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि सार्वजनिक, ऐलानी, पर्ती तथा वन अतिक्रमित जग्गा खाली गराउने विषयमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको थियो । त्यसपछि डिभिजन वन कार्यालयले वन अतिक्रमित क्षेत्र खाली गराउन कारबाही अघि बढाएको थियो ।

जेठ ११ गते साँझ कालापानीस्थित वन क्षेत्रमा रहेको बस्ती खाली गराउन सूचना जारी गर्न वन कर्मचारीहरू आएको भन्दै स्थानीयले उनीहरूलाई राति १२ बजेसम्म नियन्त्रणमा राखेका थिए । सो क्रममा बर्दिबास नगरपालिका–३, कालापानीमा डिभिजन वन कार्यालयको बा.२ झ २७४९ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो ।

कालापानीलगायतका बस्तीका स्थानीयले पुस्तौंदेखि आफूहरू बसोबास गर्दै आएको जग्गाको लालपूर्जा पाउनुपर्ने माग गर्दै आएका छन् । तर, नयाँ सरकार गठन भएपछि लालपूर्जा दिने प्रक्रिया अघि बढाउनुको सट्टा बस्ती खाली गराउने सूचना जारी गर्न निर्देशन दिइएको भन्दै स्थानीय आक्रोशित बनेका थिए । वन कर्मचारीहरूलाई स्थानीयले बाटो अवरुद्ध गरी नियन्त्रणमा लिएपछि जेठ ११ गते राति बाटो खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि आक्रोशित भीडले वन कार्यालयको सरकारी गाडीमा आगजनी गरेको थियो ।

राजाबास, कालापानी, वरडाँडालगायत महोत्तरीका विभिन्न क्षेत्रमा करिब १ हजार १ सय हेक्टर वन क्षेत्र अतिक्रमण गरी घर, टहरा तथा खेतीपाती गरिएको भन्दै वन क्षेत्र खाली गराउने अभियान अघि बढाइएको थियो । कालापानी घटनापछि वन कार्यालयले माफी माग्दै कारबाहीबाट पछि हटेको थियो । युवा नेता शंकर महतोका अनुसार घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिने, घटनामा घाइते भएकाहरूको उपचार राज्यले गर्ने र घटनामा कसैविरुद्ध मुद्दा चलाएर धरपकड नगर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग सहमति भएको थियो । तर, प्रहरीले अहिले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय पुन: आक्रोशित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?