+
+
Shares

मल सास्तीबीच ९६ प्रतिशत रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि विभागको तथ्यांक अनुसार देशभरि धान रोपाइँको कार्य करिब ९५.५ प्रतिशत सम्पन्न भइसकेको छ।
  • सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ भने मधेश प्रदेशमा गत वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ।
  • मलको अभावका बीच पनि १३ लाख ८ हजार ३८३ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

२४ साउन, काठमाडौं । हरेक वर्ष जस्तै यस वर्ष पनि किसानले रासायनिक मलको अभाव र अनेकौँ सास्ती भोग्नुपरेको छ । सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा रोपाइँको मुख्य समयमा किसानहरू रित्तो हात भौँतारिन बाध्य भए । तर, आवश्यक मलखाद नपाए पनि यतिबेला देशभरिको धान रोपाइँ करिब अन्तिम चरणमा पुगेको छ ।

कृषि विभागको २२ साउनसम्मको अवधिमा देशभरि करिब ९६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिसम्मको तथ्यांक हेर्ने हो भने २०८२ साउन २५ सम्म जम्मा ९१.३१ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो । यस वर्ष भने धानखेती हुने क्षेत्रफलमध्ये ९५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ ।

देशभरि धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३८३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा धान रोपाइँ हुने कुल १ लाख ५४ हजार १५० हेक्टर अर्थात् शतप्रतिशत (१०० प्रतिशत) क्षेत्रफलमै रोपाइँ पूर्णरूपमा सम्पन्न भइसकेको छ ।

यसैगरी, बागमती प्रदेशमा पनि ९७.८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने कर्णाली प्रदेशमा ९६.८२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ९५.५७ प्रतिशत र लुम्बिनी प्रदेशमा ९४.८३ प्रतिशत धान रोपाइँ सकिँदा कोशी प्रदेशमा भने अन्यको तुलनामा अलि कम अर्थात् ९३.६९ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।

देशकै प्रमुख अन्न भण्डारको रूपमा चिनिने मधेश प्रदेशको हकमा भने यस वर्ष रोपाइँमा उल्लेख्य र सकारात्मक सुधार आएको छ । सिँचाइको अभाव र मनसुनको ढिलाइका कारण गत वर्ष साउन २५ गतेसम्म मधेसमा जम्मा ७६.५४ प्रतिशत मात्र रोपाइँ हुन सकेको थियो ।

तर, यस वर्ष त्यहाँ ९४.६५ प्रतिशत अर्थात् ३ लाख ६४ हजार २९१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?