+
+
Shares

प्रधानमन्त्री-रास्वपा : बढ्दैछ छटपटी

नागरिकको आक्रोश, संसद्‌मा प्रतिपक्ष र आफ्नै सांसदहरु सरकारप्रति खनिन लागेपछि प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत ‘एक्लै रहेको’ दु:खेसो पोखे । यता पार्टी र सरकारबीच समन्वय नभएको भन्दै रास्वपाका नेता सांसदहरूमा पनि छटपटी बढ्दैछ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ साउन २४ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा एक्लै लड्नुपरेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको थियो ।
  • आफ्नो भनाइको बचाउ गर्दै प्रधानमन्त्री शाहले शनिबार सरकारी उद्योगहरूमा टिमवर्कले सकारात्मक परिणाम देखिन थालेको दाबी गरे।
  • रास्वपाका सांसद र कांग्रेसका नेताहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै देश बनाउन सबैको साथ र समन्वय आवश्यक रहेको बताएका छन् ।

२४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत शुक्रबार राती राखेको फेसबुक स्टाटसमा आलोचना भएपछि शनिबार बिहान उद्योगहरूमा भइरहेको सुधारबारे अर्को तथ्य राखे । प्रधामन्त्री बालेनले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्दछ’ भन्दै अभिव्यक्ति दिएका थिए । शनिबार अर्को स्टाटस लेख्दै ‘टिमवर्क’ ले उद्योगहरूमा सुधार हुन सकेको उदाहरणहरू पेश गरेका थिए ।

शुक्रबार राति ११:०५ बजे सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनले सुधारका लागि एक्लै लड्नु परेको बताएका थिए । आम नागरिक, विपक्षी, आफ्नै दलका नेता कार्यकर्ताले सरकारको क्षमता उठाएर प्रश्न गरेपछि नागरिकलाई ढाडस दिएका थिए ।

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस्,’ नागरिकलाई आश्वस्त पार्ने प्रयासले भनेका थिए,‘सुनेको र देखेको भन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’

अघिल्लो दिन एक्लै लड्नुपरेको आफ्नो बोली शनिबार बिहान बालेन स्वयंले काटे । बन्द र घाटामा रहेका उद्योग र संस्थानहरूमा टीमवर्कले आशा देखिएको प्रधानमन्त्रीको निचोड छ ।

उनी भन्छन्,‘नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको ‘टीमवर्क’ का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।’

नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिमा भएको सुधारका कार्यहरु तथ्यांक सहित प्रधानमन्त्री शाहले देखाए ।

एकातर्फ, सुधारका कार्य गर्न एक्लै लड्नुपरेको अभिव्यक्ति दिएका प्रधानमन्त्रीको आलोचना भएपछि भोलिपल्ट टीमवर्क पनि रहेको धारणा बाहिर ल्याए ।

प्रधानमन्त्री शाहले एक्लै लड्नुपरेको अभिव्यक्तिलाई पार्टीभित्र नेताहरूले सहजताका साथ लिएनन् ।

प्रधानमन्त्री शाहको अभिव्यक्ति लक्षित गर्दै महामन्त्री विपिन आचार्यले भैरहवामा शनिबार विचार राखे । ‘देश एक्लैले बन्दैन । २७५ जना सांसदले पनि बन्दैन’, आचार्यले भने, ‘देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ ।’

देश बनाउन केन्द्र, स्थानीय तह र प्रदेशका जनप्रतिनिधिको एकीकृत शक्ति आवश्यक पर्ने आचार्यले बताए । रास्वपा नेता एवं पूर्व प्रवक्ता मनिष झाले प्रधानमन्त्रीको बोलीलाई सहजै लिएनन् । निर्वाचनबाट प्राप्त जनादेशलाई महान भएको बताउँदै झाले भने,‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ । जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’

ग्यासको अभावबाट नागरिकहरुलाई परेको समस्या बढ्दै गएपछि स्वयं रास्वपाका सांसदहरूले सरकारको खबरदारी गर्न थालेका थिए ।

नागरिकको आक्रोश, संसद्मा प्रतिपक्ष र आफ्नै सांसदहरु सरकारप्रति खनिन लागेपछि प्रधानमन्त्री सामाजिक सञ्जाल मार्फत दु:खेसो पोखेका थिए ।

रास्वपा सांसदहरू इन्दिरा रानामगर, रमेश प्रसाईं, बदन भण्डारी, कमल सुवेदी, पारशमणि गेलाल, ज्वाला संग्रौला लगायतले खाना पकाउने ग्यासको चरम अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाहसंस्कार खर्च लगायतमा सरकारको शैलीमा प्रश्न गरेका थिए ।

रास्वपाले चुनावको बेला नागरिकलाई दिएको वचनको सरकारलाई स्मरण गराए । चुनावका बेला आफूहरूले दिएको ‘नो लाइन, वन्ली अनलाइन’को नारा सम्झिँदै सरकारलाई आक्रोश पोख्दै रास्वपा सांसद प्रसाईंले भने,‘चुनावताका सरकारी कार्यालयमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैंले गरेको भाषण सम्झिन्छु ।’

खाना पकाउने ग्यासका लागि नागरिक भौतारिइहँदा प्रधानमन्त्री र मन्त्रीको भान्छामा ग्यास छ कि छैन ? भन्दै प्रसाईले प्रश्न तेर्साएका थिए ।

अर्का सांसद अमरेशकुमार सिंह संसद्‌देखि सामाजिक सञ्जालसम्म वर्तमान सरकारको शैलीप्रति खुसी देखिन्नन् ।

रास्वपाबाट वर्तमान सरकारको विरोध सबैभन्दा पहिले सिंहले सुरु गरेका थिए । देशमा चरम निराश रहेको नागरिकका समस्या बढ्दै गएकोप्रति सिंहले सरकारलाई सचेत बनाएका छन् । पछिल्लो अवस्थामा देखिएका समस्याहरूको फेहरिस्त नै सिंहले सरकारलाई सुनाएका छन् ।

‘कुन्तबेसी काभ्रेका केदारनाथ पराजुली र उनकी श्रीमती उपचार नपाएर सुनकोसीमा हाम फालेको सत्य हो भन्ने यो राज्यको लागि ऐना हो । श्रीमतीलाई क्यान्सर उपचार नहुदा दुबैजना एकैपटक खोलामा हाम फाल्नु चानचुने कुरा होइन,’ सरकारलाई सिंहको प्रश्न छ,‘गरिबले उपचार पाइरहेका छैनन,गृहणीले ग्यास पाइरहेका छैनन ,युवाले रोजगार पाएका छैन,किसानले मल पाएका छैनन, गाउँघरका जनताले सिटामोल पाएका छैनन । यो राज्य संयन्त्र कसरी चलेको छ ? यसमा राज्य संवेदनशील हुनुपर्ने होइन ?’

शनिबार मन्त्रालय पुगेर ग्यास लिन आउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादव स्वयंले नागरिकलाई फोन गरेकी थिइन् । सिस्टम चलायमान गर्नुपर्ने दायित्व बोकेकी मन्त्री आफैं फोन उठाएर बसेकी छन् ।

ग्यास पर्याप्त मात्रामा आइरहेको दाबी सहित मन्त्री यादवको सचिवालयले हरसम्भव लाइनमा नबसीदिन आइतबार अपील गरेको छ ।

मन्त्रीहरूको कार्यक्षमतालाई लिएर रास्वपाकै सांसदहरुले तीव्र असन्तुष्टि व्यक्त गर्न थालेका छन् । डडेलधुराबाट निर्वाचित सांसद डा.तारा जोशी मन्त्रीहरूको कार्यबाट सन्तुष्ट नरहेको बताउँछन् । जोशीले अनलाइनखबरसँग भने,‘म धेरै मन्त्रीहरूको काम गराईमा सन्तुष्ट छैन । प्रधानमन्त्रीको काममा पनि म सबै कुरा सन्तुष्ट नहुन सकौला ।’

रास्वपा सांसद, प्रतिपक्ष दल, आम नागरिकले सरकारको शैलीप्रति प्रश्न उठाएपछि सामाजिक सञ्जालमा देखिएका प्रधानमन्त्रीको बोलीले कहिँ कहिँ समस्या रहेको विश्लेषण भइरहेको छ ।

सरकार र पार्टी बीचमा समन्वय नभएको आशंकाहरू बढिरहँदा आफूहरूबीचमा गडबढी नभएको प्रष्टीकरण सभापति रवि लामिछानेले दिएका छन् ।

बाहिर आएका विषयहरू अफवाह मात्रै भएको सभापति लामिछानेको दाबी छ । ‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रुपमा अप्ठेरो पर्‍यो कि, झगडा पो पर्‍यो कि भनेर र्‍युमरहरू आउँछन् । त्यसको खास स्न्याक्स् भन्दा बढी भ्यालु केही पनि छैन ।’

प्रधानमन्त्री बालेनको स्टाटस, सभापति लामिछानेको शनिबारको अभिव्यक्ति, रास्वपा सांसदहरुको खबरदारी लगायतका विषय आइतबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय समितिमा समेत प्रवेश पायो ।

कांग्रेस सभापति गगन थापाले प्रश्न उठाउने रास्वपा सांसदलाई धन्यवाद दिँदै सरकारमा शैलीमा समस्या रहेको स्टाटस र सभापति लामिछानको बोली ख्याल गर्न कांग्रेसका केन्द्रीय सदस्यहरुलाई आग्रह गरे ।

‘रास्वपाको सरकार छ भन्दैमा त्यो पार्टीका सांसदले नबोल्ने भन्ने हुँदैन । हामीले पनि हाम्रो सरकार भएको बेला प्रश्न उठाउँथ्यौं,’ कांग्रेस सभापति थापाले भने,‘अनि हामीले बोल्दा ३५ वर्षको जिम्मेवारी लिनुपर्ने । अहिले रास्वपा सरकारमा हुँदै गर्दा जिम्मेवारी चाहिं प्रधानमन्त्रीले मात्रै लिनुपर्ने ? त्यहाँ जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिनुपर्ने अरु दलमा भने सबैले लिनुपर्ने ?’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?