+

विश्वविद्यालयबाटै ‘आचार्य’ बनेका दलित युवा

कुनै समय जातकै कारण मन्दिरमा टीका लगाउन अस्वीकार गरिएका कृष्णबहादुर दमाई आज त्यही धार्मिक परम्पराभित्र रहेर विभेदको जरो हल्लाइरहेका छन्। नेपाल संस्कृत विश्वविद्यालयबाट 'आचार्य' गरेका उनले पशुपतिको व्यासासनबाट समेत कथा वाचन गरे। तर उनको उद्देश्य पण्डित बन्नु मात्र होइन, कर्मकाण्डलाई जातीय विभेद विरुद्धको सांस्कृतिक अभियान बनाउनु पनि हो।
पूरा सूची
Shares
कृष्णबहादुर दमाई
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरका कृष्णबहादुर दमाईले जातीय विभेदलाई चुनौती दिँदै पशुपतिनाथ परिसरमा आयोजित कोटिहोम महायज्ञमा व्यासासनबाट शास्त्रको व्याख्या गरेका छन्।
  • विद्यालयमा टीका लगाउन अस्वीकार गरिएका कृष्णबहादुरले कठिन सङ्घर्ष गर्दै संस्कृतमा आचार्य तह उत्तीर्ण गरी धार्मिक कर्मकाण्डमा अब्बल सावित भएका छन्।
  • धनगढी उपमहानगरपालिकामा अधिकृतको रूपमा कार्यरत उनले दलित समुदायका लागि \'दलित कर्मकाण्ड पाठशाला\' स्थापना गर्ने लक्ष्य राखेका छन्।

२४ साउन २०८१। काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ऐतिहासिक कोटिहोम महायज्ञमा हजारौं श्रद्धालु उपस्थित थिए। मञ्चको केन्द्रमा रहेको व्यासासनमा एक युवा पण्डित आसीन थिए, जसको प्रवचन सुन्न भक्तजनहरू ध्यानमग्न देखिन्थे। व्यासासनमा पुगेका ती युवा थिए– कञ्चनपुरका कृष्णबहादुर दमाई।

दलित समुदायमा उच्च शिक्षा, त्यो पनि संस्कृत अध्ययन गरी ‘आचार्य’ (स्नातकोत्तर) तह पूरा गर्ने उनको उदाहरण असाधारण छ। कुनै समय कथित तल्लो जातको भन्दै मन्दिरमा टीका लगाउन अस्वीकार गरिएका उनी त्यही समाजको अगाडि पशुपति परिसरको व्यासासनमा बसेर शास्त्रको व्याख्या गरिरहेका थिए।

मन्दिरको अपमानले हुर्काएको अठोट

२१ असोज २०४८ मा कञ्चनपुरको भीमदत्त–३, तिलकपुरमा जन्मिएका कृष्णको बाल्यकाल चरम गरिबी र अभावमा बित्यो। बुवा रनबहादुर र आमा कमलाका नौ सन्तान (४ भाइ र ५ दिदीबहिनी) मध्ये उनी तेस्रा हुन्।

निम्नवर्गीय दलित परिवारमा हुर्किएका उनले सानै उमेरमा आर्थिक अभावसँगै सामाजिक तिरस्कारको सामना गर्नुपर्‍यो। विद्यालय जाँदा नयाँ पोशाक र पर्याप्त शैक्षिक सामग्री उनका लागि सपना जस्तै थिए। तर, उनको जीवनको दिशा भने कक्षा १० मा पढ्दा भएको एउटा घटनाले मोडिदियो।

स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी रहेका बेला एक दिन उनी स्थानीय विष्णु मन्दिरको सरसफाइ कार्यक्रममा सहभागी थिए। सबै विद्यार्थीले मिलेर रमाई–रमाई मन्दिर सफा गरे। सफाइ सकिएपछि पण्डितले सबै विद्यार्थीको निधारमा टीका लगाइदिए। तर, जब कृष्णको पालो आयो, उनको नाम र थर सुनेर पण्डितले टीका लगाउन इन्कार गरे।

जातिसूचक टिप्पणी गर्दै उता जाऊभन्ने पण्डितको हप्काइले उनको बालमस्तिष्क रन्थनियो। त्यही दिन उनले मनमनै अठोट गरे, ‘जुन पण्डितले मलाई दलित भनेर टीका लगाएनन्, म उनीभन्दा कमजोर हुने छैन।

पाँच सय रुपैयाँ र पत्रिका बेचेको दिन

२०६४ सालमा एसएलसी उत्तीर्ण गरेपछि कृष्णलाई विज्ञान विषय पढ्ने रहर थियो। तर, परिवारको आर्थिक अवस्थाले त्यो सम्भव थिएन। फेरि पुरानो अठोट पनि जीवित थियो।

गाउँमा जातीय विभेद गर्ने पुजारी मात्र थिएनन्, उत्पीडितलाई साहस दिने ईश्वरदत्त भट्ट जस्ता शिक्षक पनि थिए। उनले कृष्णलाई प्रोत्साहित मात्र गरेनन्, पाँच सय रुपैयाँ आर्थिक सहयोग पनि गरिदिए। त्यही पैसा उनको संस्कृत यात्राको साधन बन्यो।

उनले शारदा विद्यापीठबाट संस्कृतमा उत्तरमध्यमा (प्लस–टु) शुरु गरे। तर, पढाइ खर्च र परिवारको हेरचाहको जिम्मेवारी पनि उनकै काँधमा थियो।

दुई जना दिदीबाहेक ६ भाइबहिनीको हेरचाह र आफ्नो अध्ययनलाई निरन्तरता दिन उनले २०६६ सालदेखि महेन्द्रनगरबाट प्रकाशित हुने जनक्रान्ति दैनिकबेच्ने काम शुरु गरे।

बिहानै पत्रिका बोकेर बजार पुग्ने, ग्राहक खोज्ने, मार्केटिङ गर्ने र बाँकी समय अध्ययनमा बिताउने उनको दैनिकी बन्यो। त्यही पत्रिका बेचेको कमाइले खाना, बास र पढाइको खर्च जुटाएँ‘, उनी सम्झिन्छन्। कतिपयले सामान्य ठान्ने पत्रिका बेच्ने कामले नै उनलाई अनुशासन, आत्मनिर्भरता र जनसम्पर्कको कला सिकायो।

पुरेत्याइँबाट सामाजिक विद्रोह

हन्डर र ठक्कर खाँदै उनले नेपाल संस्कृत विश्वविद्यालयबाट साहित्य विषयमा शास्त्री र सोही विश्वविद्यालयको दाङस्थित क्याम्पसबाट आचार्यअध्ययन पूरा गरे। यतिञ्जेल उनले संस्कृतका श्लोक, वेद, उपनिषद् र धर्मशास्त्रको गहिरो अध्ययन गरिसकेका थिए।

जातकै आधारमा पण्डित हुनेसयौं वर्षको संस्कारलाई कृष्णबहादुरको ज्ञान र लगनले चुनौती दिएको छ। उनको यो विद्रोह कुनै व्यक्ति विरुद्ध होइन, बरु त्यो कुसंस्कार विरुद्ध हो, जसले मान्छे–मान्छे बीच खाडल बनाउँछ।

तर, समाजलाई अझै पनि उनको ज्ञानभन्दा पनि उनको जातमै सरोकार थियो। दलितले पनि शास्त्र जान्दछ र?’ भन्ने प्रश्नहरू बारम्बार तेर्सिन्थे। कतिपयले उनलाई हतोत्साहित गर्न खोजे। तर, कृष्ण भने आफ्नो ज्ञान र कर्मबाटै आफूलाई प्रमाणित गर्न चाहन्थे।

जहाँ अवसर मिल्यो, उनले वेदपाठ गर्दै गए। उनको शैली र उच्चारणको स्तर देखेर धेरै मान्छे छक्क पर्न थाले।

कृष्णले विवाह, व्रतबन्ध, न्वारान, पूजा–पाठ जस्ता हरेक कार्यमा आफूलाई अब्बल साबित गरे। उनले पूजा गर्दा जातीय विभेदको अन्त्य गर्दै ‘सबै मानिस समान हुन्’ भन्ने सन्देश प्रवाह गरे। यो उनको आत्मसन्तुष्टिको उपाय मात्र थिएन, बरु सबै मान्छे समान हुन्, ईश्वर छन् भने सबैलाई विना विभेद स्नेह गर्छन् भन्ने सन्देश दिने अभियान पनि हो। उनी स्वयं पनि कर्मकाण्डलाई धार्मिक संस्कारका रूपमा मात्र नभई विभेद विरुद्धको अभियानका रूपमा सदुपयोग गर्न चाहन्छन्। उनको यो सन्देश र सुन्दर शैलीबाट प्रभावित समुदायले उनलाई नै खोजीखोजी आमन्त्रण गर्छन्।

सरकारी सेवा र सामाजिक अभियान

हाल कृष्णबहादुर दमाई कर्मकाण्डमा सीमित छैनन्। यो त उनको ज्ञान र अभियान हो। मुख्य पेशा त उनी सरकारी अधिकृत हुन्। धनगढी उपमहानगरपालिकाको शिक्षा शाखामा समावेशी शिक्षा सहजकर्ताका रूपमा उनी अधिकृत छैटौं तहमा कार्यरत छन्। शैक्षिक योग्यता र सामाजिक सङ्घर्षको मूल्याङ्कन गर्दै उपमहानगरले उनलाई यो जिम्मेवारी दिएको हो।

शिक्षाकै सहायतामा आत्मविश्वास आर्जन गरेका कृष्णबहादुर समाज परिवर्तनको सबैभन्दा शक्तिशाली साधन शिक्षालाई नै मान्छन्। विशेषगरी दलित, विपन्न र सीमान्तकृत समुदायका बालबालिकाका लागि उच्च शिक्षा अनिवार्य हुनुपर्ने उनको माग छ।

भविष्यको सपना

सरकारी जागिर र धार्मिक कर्मलाई सँगसँगै अगाडि बढाइरहेका कृष्णबहादुर चाहन्छन्– दलित समुदायका युवाहरू विज्ञान, प्रविधि, अर्थशास्त्रसँगै संस्कृत र कर्मकाण्डको अध्ययनमा लाग्नुपर्छ। उनले आफ्नो गाउँमा दलित कर्मकाण्ड पाठशालाखोल्ने सपना देखेका छन्।

भविष्यको योजनाबारे उनी भन्छन्, ‘म एक्लैले मन्दिरमा टीका लगाउँदैमा समाज परिवर्तन हुँदैन। म हजारौं कृष्णबहादुर जन्माउन चाहन्छु, जसले मन्दिरका ढोकाहरू सबैका लागि सधैंका लागि खुला गराउनेछन्।

जातकै आधारमा पण्डित हुनेसयौं वर्षको संस्कारलाई कृष्णबहादुरको ज्ञान र लगनले चुनौती दिएको छ। उनको यो विद्रोह कुनै व्यक्ति विरुद्ध होइन, बरु त्यो कुसंस्कार विरुद्ध हो, जसले मान्छे–मान्छे बीच खाडल बनाउँछ।

आज कृष्णबहादुर दमाई एउटा व्यक्ति मात्र रहेनन्, उनी नेपाली समाजमा व्याप्त जातीय विभेदको अन्त्य गर्ने एक सांस्कृतिक अभियन्ताका रूपमा उभिएका छन्।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।