News Summary
Generated by OK AI. Editorially reviewed.- हरेक वर्ष अगस्ट १० का दिन मानिसहरूलाई काम र व्यस्तताबाट केही समय विश्राम लिँदै ‘राष्ट्रिय अल्छी दिवस’ मनाउन प्रेरित गरिन्छ ।
- आराम गर्नु र अल्छीपनबीचको फरक बुझ्दै केही समय विश्राम लिनु मानसिक स्वास्थ्य र नयाँ विचारका लागि समेत लाभदायक हुने गर्छ ।
बिहानको अलार्म बज्छ । आँखा खुल्छ, तर उठ्ने जाँगर हुँदैन । ‘अझै पाँच मिनेट’ भन्दै मोबाइल सिरानीमुनि राखिन्छ । पाँच मिनेट दस मिनेट हुन्छ, दस मिनेट आधा घण्टा । उठिसकेपछि पनि ओछ्यान छाड्न मन लाग्दैन ।
कामको सूची लामै छ, तर मनले भन्छ, ‘आज चाहिँ केही नगरौँ ।’
यस्तो अवस्थामा आफूलाई ‘अल्छी’ भनेर गाली गर्ने बानी हामीमध्ये धेरैको छ । समयमै काम नगर्दा, केही समय आराम गर्दा वा दिनभरि खासै केही नगर्दा पनि हामी आफैँलाई दोष दिन्छौँ ।
तर कल्पना गर्नुस्, यदि वर्षमा एउटा दिन ‘अल्छी बन्न पाइन्छ’ भनेर औपचारिक छुट्टीजस्तै मनाउन मिल्यो भने के होला ?
यस्तै रमाइलो अवधारणासहित हरेक वर्षको एक दिन राष्ट्रिय अल्छी दिवस मनाइन्छ ।
राष्ट्रिय अल्छी दिवसको उद्देश्य
राष्ट्रिय अल्छी दिवस नाम सुन्दा जति रमाइलो छ, यसको उद्देश्य पनि त्यत्तिकै सरल छ, केही समय काम, जिम्मेवारी र निरन्तर दौडधुपबाट टाढा रहेर आराम गर्नु ।
आज ‘व्यस्त हुनु’ नै उपलब्धिको प्रमाणजस्तो बन्न थालेको छ । बिहानदेखि बेलुकासम्म काम, पढाइ, घरायसी जिम्मेवारी, सामाजिक सञ्जाल र विभिन्न दबाबबीच मानिसले आफूलाई आराम दिने समयसमेत कम गर्दै गएका छन् । त्यसैले, यो दिवसले एक दिन भए पनि आफूलाई रोक्न, आराम गर्न र ‘आज केही नगर्दा पनि हुन्छ’ भन्ने महसुस गर्न प्रेरित गर्छ ।
कहिले मनाइन्छ ?
राष्ट्रिय अल्छी दिवस हरेक वर्ष अगस्ट १० मा मनाइन्छ । यो कुनै सरकारी रूपमा घोषणा गरिएको सार्वजनिक बिदा भने होइन । बरु, रमाइलो र अनौपचारिक दिवसका रूपमा यसको चर्चा हुँदै आएको छ ।
यस दिन कामै नगरी बस्नुपर्छ भन्ने बाध्यता पनि छैन । आफ्नो व्यस्तताबाट केही समय निकालेर आराम गर्नु, मनपर्ने काम गर्नु वा केही समय ‘केही नगरी’ बिताउनु नै यसको मुख्य भाव हो ।
कहाँबाट सुरु भयो ?
राष्ट्रिय अल्छी दिवसको सुरुवात कसरी भयो भन्नेबारे ठोस र प्रमाणित इतिहास स्पष्ट छैन । यसको संस्थापक वा पहिलोपटक कसले अगस्ट १० लाई अल्छी दिवसका रूपमा मनाउन थाले भन्नेबारे पनि विश्वसनीय विवरण भेटिँदैन ।

यद्यपि, यो दिवसले विशेषगरी संयुक्त राज्य अमेरिकामा सन् २००० को दशकको सुरुवाततिर लोकप्रियता पाउन थालेको बताइन्छ । त्यसपछि सामाजिक सञ्जाल र लोकप्रिय संस्कृतिमार्फत अन्य देशमा पनि यसको चर्चा फैलिँदै गएको हो ।
अल्छी हुनु सधैँ नराम्रो हो त ?
‘अल्छी’ शब्द सुन्नेबित्तिकै धेरैको दिमागमा काम गर्न नचाहने, समय खेर फाल्ने वा जिम्मेवारीबाट भाग्ने मानिसको चित्र आउँछ । तर हरेक पटक आराम गर्नु अल्छीपन होइन ।
लगातार काम गरिरहँदा शरीर र मस्तिष्क थाक्छ । पर्याप्त आराम नपाउँदा तनाव, थकान र मानसिक दबाब बढ्न सक्छ । यस्तो अवस्थामा केही समय विश्राम लिनुले फेरि काममा फर्किँदा ऊर्जा र एकाग्रता बढाउन सहयोग गर्न सक्छ ।
अर्थात्, आराम र अल्छीपनबीचको फरक बुझ्न जरुरी छ । आवश्यक कामबाट सधैँ भाग्नु अल्छीपन हुन सक्छ, तर थकित शरीर र दिमागलाई केही समय आराम दिनु भने स्वस्थ दिनचर्याको हिस्सा हुन सक्छ ।
अल्छीपनसँग जोडिएका केही रोचक तथ्य
अल्छीपनमा आनुवंशिक पक्षको पनि भूमिका हुन सक्छ । मानिस कति सक्रिय वा निष्क्रिय हुन्छ भन्नेमा वातावरणसँगै आनुवंशिक तथा जैविक पक्षले पनि प्रभाव पार्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले अल्छीपनलाई केवल इच्छाशक्तिको कमी वा चरित्रको कमजोरीका रूपमा मात्र बुझ्न सकिँदैन ।
खाली दिमागले पनि काम गरिरहेको हुन्छ
हामी केही नगरी बसिरहेका बेला दिमाग पूर्ण रूपमा निष्क्रिय हुँदैन । आराम वा खाली समयमा मस्तिष्कको ‘डिफल्ट मोड नेटवर्क’ सक्रिय हुन सक्छ, जसले कल्पना, आत्मचिन्तन र नयाँ विचार निर्माणमा भूमिका खेल्छ । त्यसैले, कहिलेकाहीँ ‘केही नगरी बस्नु’ बाटै नयाँ विचार जन्मिन सक्छ ।
आरामले बर्नआउटबाट जोगाउन सक्छ
निरन्तर काम गरिरहँदा मानिस मानसिक र शारीरिक रूपमा थकित हुन सक्छ । बीचमा पर्याप्त आराम गर्दा ऊर्जा पुनः प्राप्त गर्न र लामो समयसम्म काम गर्ने क्षमता कायम राख्न मद्दत मिल्न सक्छ ।
जनावर पनि धेरै समय आराम गर्छन्
घरपालुवा जनावरलाई हेर्नुस्, बिरालो घण्टौँसम्म सुतिरहेको हुन्छ, कुकुर पनि खेल्ने र खानेबाहेक पर्याप्त समय आराममै बिताउँछ । प्रकृतिमा पनि धेरै जनावरहरू आफ्नो समयको ठूलो हिस्सा आराम गरेर बिताउँछन् । मानिस भने जिम्मेवारी र व्यस्त जीवनशैलीका कारण निरन्तर सक्रिय रहने प्रयास गर्छ ।
आजको दिन कसरी मनाउँदै छन् त ?
राष्ट्रिय अल्छी दिवस मनाउन कुनै ठूलो तयारी आवश्यक पर्दैन । बरु तयारी नै नगर्नु यसको सबैभन्दा सजिलो उपाय हुन सक्छ ।
आफूलाई ‘अल्छी’ भनेर दोष नदिनुहोस्
सबैभन्दा महत्त्वपूर्ण कुराआराम गरेकोमा अपराधबोध महसुस गर्नुहुँदैन । हरेक दिन केही न केही गर्नैपर्छ भन्ने दबाबबीच कहिलेकाहीँ ‘आज म केही गर्दिनँ’ भन्न सक्नु पनि आत्महेरचाहको एउटा रूप हुन सक्छ।
प्रतिक्रिया 4