News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका नेताहरूको आलोचना गरेर उनीहरूलाई अनावश्यक महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
- डा. कोइरालाले अरूलाई गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने र गगन थापालाई गाली गरेर महत्व नबढाउन कार्यकर्तालाई सुझाव दिए ।
- उनले पार्टीभित्र सबै पक्षलाई समेटेर एकता कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको र अबको भविष्य युवाहरूकै हातमा भएको उल्लेख गरे ।
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले पार्टीका सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताए ।
अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने तर्क उनले गरे । पार्टी सभापति गगन थापाको नाम लिँदै गगनलाई गाली गर्न नपर्ने पनि उनले जिकिर गरे ।
कांग्रेस आफैंमा एक सुन्दर र गौरवशाली इतिहास भएको पार्टी भएको दाबी उनको थियो ।
‘अरूलाई कुरूप हेरेर आफू सुन्दर हुँदैन । हामी गगन थापालाई किन गाली गर्छौं ? गाली गर्नै पर्दैन । हैन र ? गाली गर्यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ । त्यसैले किन तपाईंहरू गाली गर्नुहुन्छ ? केही भन्दै नभन्नुस् । त्यो नै सबभन्दा ठूलो अपमान हो,’ उनले भने, ‘अब अब अरू के भनौँ ? हेर्नुस्, मैले आफ्नो जीवनमा आज मलाई अत्यन्त अप्ठ्यारो ठाउँमा उभाइदिनुभएको छ नेताहरूले । संयोजक बनाएर । म म एक्लो मान्छे हो । तर म के चाहन्छु भने सबै समावेश गरेर। त्यसैले पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो ।’
नेपाली कांग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएको आरोपप्रति टिप्पणी गर्दै कोइरालाले अबको भविष्य युवाहरूकै भएको र उनीहरूलाई नै नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिए । कांग्रेसको ऐतिहासिक योगदानको चर्चा गर्दै नेता कोइरालाले बीपी कोईराला र कृष्णप्रसाद कोईरालाको संघर्षले नै नेपाली जनताले अधिकार प्राप्त गरेको स्मरण गराए ।
‘अब हामीलाई आरोप लगाइन्छ भने यो सब बुढाहरूको पार्टी हो भनेर । र भविष्य तपाईंहरूको हो । हामी त बुढा भइसक्यौँ । कुन दिन माथि जान्छौँ । त्यसैले तपाईंहरूलाई तयारीका साथ हामीले तपाईंहरूलाई तयार पार्नुपर्छ । नेपाली कांग्रेस भनेको के हो ? पहिले त्यो राम्ररी बुझ्नुपर्यो । हेर्नुस्, अरूलाई कुरूप देखेर आफू सुन्दर हुँदैन । आफूलाई नै सुन्दर पार्नुपर्यो । त्यहीअनुसार नेपाली काँग्रेस अत्यन्त सुन्दर पार्टी हो । यसको इतिहास सुन्दर छ,’ कोइरालाले भने ।
आफूलाई पार्टीले अहिले कठिन परिस्थितिमा संयोजकको जिम्मेवारी सुम्पेको उल्लेख गर्दै डा. कोइरालाले सबै पक्षलाई समेटेर पार्टीलाई एकतावद्ध बनाउनु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे ।
प्रतिक्रिया 4