News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
- कानून आयोगबाट प्राप्त मस्यौदाअनुसार परिषद्लाई आधुनिक श्रम बजार र प्रविधिसँग जोड्दै थप प्रभावकारी र नेतृत्वदायी संस्थाका रूपमा विकास गरिनेछ ।
- युवालाई आत्मनिर्भर र जिम्मेवार बनाउने उद्देश्यसहित युवा नीति, २०८२ जारी गरिएको र सीप विकास तथा रोजगारीमा जोड दिइएको मन्त्री यादवले बताए ।
२५ साउन, काठमाडौं । युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको जानकारी गराएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री यादवले युवाको बदलिँदो अपेक्षा, श्रम बजार र प्रविधिअनुसार राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी र युवासम्बन्धी विषयमा नेतृत्वदायी संस्थाका रूपमा विकास गर्न नयाँ ऐन ल्याउन लागिएको बताए ।
‘आज युवाको अपेक्षा, समय, श्रम बजार र प्रविधि समेत बदलिएको छ । त्यसैले संस्थाहरू पनि बद्लिनुपर्छ । युवा परिषद्लाई थप प्रभावकारी तथा युवाको सम्बन्धीत विषयमा थप नेतृत्वदायी संस्थाको रुपमा विकास गर्नेगरी राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को पुनरावलोकन गरि नयाँ ऐन ल्याउन, राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानून आयोगबाट तयार भई मन्त्रालयमा प्राप्त भएको छ,’ मन्त्री यादवले भने ।
राष्ट्रिय युवा ऐनको मस्यौदा नेपाल कानून आयोगले तयार गरी मन्त्रालयमा पठाइसकेको समेत जानकारी उनले दिए । युवाको क्षेत्रमा विकास भएका नयाँ आयाम र अन्तर्राष्ट्रिय परिवेशलाई राष्ट्र निर्माणमा परिचालन गर्ने उद्देश्यले युवा नीति, २०८२ जारी गरिएको समेत उनले बताए ।
‘युवाको क्षेत्रमा विकास भएका नयाँ आयाम, अन्तराष्ट्रिय परिवेशलाई राष्ट्र निर्माणमा परिचालन गर्नेगरी युवा नीति, २०८२ आएको छ । यो नीति अगामी दशमा युवालाई बदलिँदो विश्वसँग प्रतिष्पर्धा गर्न सक्ने, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो,’ उनले भने, ‘युवालाई नेतृत्व सिप र रोजगारीसँग जोड्ने गरी चालु आर्थिक वर्षको बजेट विनियोजन भएको छ । युवाको सीप विकास गर्ने, रोजगारी बढाउने तथा उद्यम र श्रम बजारसँग जोड्ने र स्थानीय तहसम्म अवसर प्रदान गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।’
प्रतिक्रिया 4