+
+
Shares

सुनसरी घटनाको असर : धनुषा र सिरहामा ठूलो जनधनको क्षति

३८ प्रहरीसहित ४१ घाइते,५३ घर तथा पसलमा तोडफोड र आगजानी

साउन १४ गतेदेखि चर्किएको प्रदर्शनका क्रममा मधेश प्रदेशका सिरहा र धनुषामा ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी क्षति सिरहाको गोलबजारमा भएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ साउन २५ गते २०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको कप्तानगञ्जमा उत्पन्न धार्मिक विवादपछि मधेश प्रदेशमा भएको तनाव गृहमन्त्रीसँगको वार्तापछि साम्य भएको छ ।
  • प्रदर्शनका क्रममा मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनामा चार जनाको मृत्यु भएको छ भने घाइतेहरूको उपचार जारी छ ।
  • झडप र तोडफोडबाट ५३ वटा घर तथा पसलमा क्षति पुगेको छ भने ७१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२५ साउन, जनकपुरधाम । सुनसरीको कप्तानगञ्जमा भएको धार्मिक विवादपछि मधेशमा उत्पन्न तनाव साम्य भएको छ । साउन १६ र १७ गते संयुक्त हिन्दु मोर्चासँग गृहमन्त्री सुधन गुरुङले गरेको वार्तापछि विवाद मत्थर हुँदै मधेशमा शान्ति कायम भएको छ ।

यद्यपि, कसरी गोली चल्यो र त्यस क्रममा चार जना नागरिकको मृत्यु भयो भन्ने प्रश्न भने यथावत् छ । घाइतेहरूको उपचार जारी छ ।

त्यसक्रममा आगजनी तथा तोडफोडबाट भएको क्षतिका विषयमा पनि आमचासो छ । आगजनी तथा तोडफोडबाट ध्वस्त भएका पसल तथा त्यसबाट भएको क्षतिको क्षतिपूर्तिका विषयमा पनि सवालहरू उठिरहेका छन् ।

घटनाबाट के कति क्षति भयो भन्ने यकिन तथ्यांक सार्वजनिक भइनसकेकाले त्यसबारे पनि आमचासो कायमै छ ।

साउन १४ गतेदेखि चर्किएको प्रदर्शनका क्रममा मधेश प्रदेशका सिरहा र धनुषामा ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी क्षति सिरहाको गोलबजारमा भएको छ ।

यस्तै, लहान तथा धनुषाको जनकपुरधाम र सबैलामा धार्मिक विवादका क्रममा ठूलो मात्रामा जनधनको क्षति भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सिरहाको गोलबजारमा गत साउन १४ गते गोली लागेर १६ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सिरहाको औरही गाउँपालिका–२ का यादव गोलबजारस्थित श्री रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत थिए । क्याम्पसकै गेटअगाडि घाँटीमा गोली लागेर उनको मृत्यु भएको थियो ।

सोही स्थानमा भएको झडपका क्रममा सिरहाको मिथिला बिहारी नगरपालिका–का १९ वर्षीय सुवास ठाकुर घाइते भएका थिए । उनको उपचार जारी छ ।

यस्तै, धनुषामा ढुंगा लागेर जनकपुरधाम उपमहानगरपालिका–७, बसपार्कका आनन्द दासको अवस्था गम्भीर बनेको थियो । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ ।

३८ सुरक्षाकर्मी घाइते, १४२ सेल अश्रुग्यास प्रहार, १५ राउण्ड हवाई फायर

झडपको क्रममा प्रदर्शनकारीको ढुंगामुढा लागेर ३८ जना सुरक्षाकर्मी घाइते भएका थिए । सिरहामा आन्दोलनकारीको ढुंगामुढा लागेर दुईजना डिएसपीसहित १५ जना प्रहरी घाइते भएका थिए ।

प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश बहादुर पाल र इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी बिष्णु प्रदीप बस्यालसहित घाइते भएका थिए । धनुषामा २३ जना प्रहरी घाइते भएका थिए । उनीहरूको अवस्था उपचार पश्चात समान्य रहेको जनाएको छ ।

धनुषामा मात्र प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले करिब तीन दर्जन अश्रुग्यास प्रहार गरेको थियो । धनुषाका प्रहरी प्रवक्ता मधुसुधन न्यौपानेका अनुसार ३० देखि ३५ सेल अश्रुग्यास प्रहार गर्नु परेको थियो ।

यसरी धनुषासहित मधेश प्रदेशका अन्य जिल्लामा पनि झडप तथा तनाव नियन्त्रण गर्न प्रहरीले १४२ सेल अश्रुग्यास प्रहरीले प्रयोग गरेको थियो ।

यस्तै १५ राउण्ड गोली पनि प्रहरीले हवाई फायर गरेको थियो । जसमा एसएलबाट १० बल्यांक राउण्ड र सानो पेस्तोलबाट ५ राउण्ड हबाई फायर प्रहरीले गरेको छ ।

प्रदेशभरिमा ५३ घर तथा पसलमा क्षति

सिरहाको गोलबजारमा ठूलो मात्रामा व्यक्तिको निजी सम्पतिमा आगजानी तथा तोडफोडले क्षति पुगेको छ ।

साबिर खानको नेहाल आइरन स्टोर्समा आगजानीले जलेर मात्र करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै एबी मल आगजानीले जलेर पूर्ण रुपमा नष्ट हुँदा करिब २२ करोड बराबरको क्षति भएको पीडितको भनाइ छ ।

यस्तै गोलबजार नगरपालिका–८ पुरानो चौक चोहर्वास्थित असलम खानकाको न्यू असलम वस्त्रालय तथा आलिया इन्टरप्राइजेजमा आगजानीले ५ करोड, गोलबजार नगरपालिका–६ मा रहेको नौसाद मोटर पाट्र्स एन्ड वर्कशपमा पनि आगजनी र तोडफोड, गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरको घर गोलबजार –४ मा रहेको घरमा आगजनी र तोडफोड हुँदा करिब ६० लाख, गोलबजार नगरपालिका–४ मा रहेको रोयल प्रिन्स होटल एन्ड पार्टी प्यालेसमा तोडफोड हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको पीडितहरुको भनाइ छ ।

गोलबजारमा मात्र १३ वटा घरमाथि ढुंगामुढाले तोडफोड भएको प्रहरीले जनाएको छ । यस्तै आधादर्जन जति पसलमा आगजनी गरिएको छ ।

यसरी सिरहाको गोलबजार र लहानमा मात्रै ४६ वटा घर तथा पसलमा तोडफोड तथा आगजानी भएको छ । जसमा करोडौंको धनमाल जलेर तथा टुटफुट भएर नष्ट भएको छ ।

धनुषामा धनुषामा पाँचवटा पसलमा तोडफोड भएको छ भने सर्लाही र सप्तरीको एकएकवटा मस्जिद तथा मदर्सामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सिरहा र धनुषामा १७ सवारीसाधनमा क्षति

सिरहा र धनुषामा १७ वटा सवारीसाधानमा तोडफोड भएको मधेश प्रदेश प्रहरीको तथ्यांक छ ।

सिरहाको लहानमा चारवटा सवारीसाधानमा तोडफोड भएको छ । यस्तै धनुषामा एउटा बससहित चारवटा सवारीसाधानमा तोडफोड भएको छ ।

गोलबजारमा ५ वटा सारीसाधानमा तोडफोड भएको जनाएको छ । त्यसका अलावाबा गोलबजारमा करिब एक दर्जन मोटरसाइकलमै आगजानी भएको छ ।

यसरी मधेशमा ५३ वटा घर तथा पसल एवं सार्वजनिक सम्पत्तिमा आगजानी तथा तोडफोडबाट क्षति पुगेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा छ ।

७१ जना पक्राउ

प्रदर्शनको क्रममा तोडफोड तथा सामाजिक सञ्जालमा घृणा तथा उत्तेजना फैलाउने ७१ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सबभन्दा बढी धनुषाबाट ४२ जनालाई पक्राउ गरेको थियो । यस्तै क्रमशः सर्लाहीबाट १३ जना, पर्साबाट ७ जना, सिरहाबाट ५ जना र महोत्तरीबाट एकजनालाई पक्राउ गरिएको थियो ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?