२६ साउन, काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बेठकमा सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रतिबारे चर्चा भयो । नेपाल र बेलायत शासित भारतबीच भएको सन्धिको सक्कल प्रति कोसँग छ भन्ने विषयमा छलफल भएको थियो ।
मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्तालाई सञ्चारकर्मीले यही विषयमा प्रश्न गरे ।
पत्रकारले ‘नेपालका विदेशमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति फेला नपारेको भनेका छन् नि ?’ भन्ने प्रश्न सोधेका थिए ।
जसको उत्तरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘भारत र नेपालबीचको सम्बन्ध धेरै राम्रो छ । कतिपय विषयमा सहमति नभएको हुनसक्छ । तर, त्यस प्रकारका मुद्दाका लागि दुई पक्षीय संयन्त्र छ । त्यसैमार्फत कुराकानी गर्नसक्छौं ।’
नेपाल–अंग्रेजबीचको युद्ध रोक्न १८१६ मा सुगौली सन्धि भएको थियो । यो सन्धिले नेपालीको पश्चिम–दक्षिण सीमा निर्धारण गरेको थियो ।
त्यही सन्धि लगायतका प्रमाणको आधारमा नेपालले २०७७ मा लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । सन्धिमा काली पूर्वका भूभाग नेपालको भएको उल्लेख छ ।
विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूतसँगको भेटबारे पनि आफ्नो धारणा राखेका थिए ।
‘दुई पक्षीय मुद्दामा प्रकाश पार्नेगरि बातचित भएको हो । हामीले नियमन्त्रणा दिइसकेका छौं,’ पत्रकारले सोधेको अर्को प्रश्नको जवाफमा जैसवालले भने, ‘त्यहाँका प्रधानमन्त्रीले पदभार ग्रहण गरेकै बेलामा हाम्रो प्रधानमन्त्रीले निमन्त्रणा पठाइसक्नु भएको हो । यसबारे थप जानकारी आए म बताउनेछु ।’
प्रतिक्रिया 4