News Summary
Generated by OK AI. Editorially reviewed.- बर्डफ्लुका कारण उत्पादन घटेको भन्दै कुखुरा व्यवसायी संघले साउन महिनामा मात्र अन्डाको मूल्य चार पटकसम्म वृद्धि गरेको छ।
- किसानले लागत मूल्य नपाएको गुनासो गरिरहँदा बिचौलिया र व्यापारीहरूले भने बजारमा कार्टेलिङ गरी उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य पारेका छन्।
- उपभोक्ता अधिकारकर्मीहरूले कुनै पनि व्यावसायिक संघलाई मूल्य तोक्ने कानूनी अधिकार नभएको बताउँदै सरकारको अनुगमन संयन्त्र फितलो रहेको आरोप लगाएका छन्।
२७ साउन, काठमाडौं । साधारणतया साउन महिनामा कतिपय नेपालीले माछामासु तथा अन्डा खाँदैनन् । माग कम हुने यो महिनामा मासु र अन्डाको मूल्य घट्नुपर्ने हो । तर, यसपटक बजारको दृश्य ठ्याक्कै उल्टो छ । साउन लागेयता अन्डा र कुखुराको मासुको भाउ बढेको छ । छोटो समयमै पटक–पटक भएको मूल्यवृद्धिका कारण भान्सा महँगिएको उपभोक्ताको गुनासो छ ।
बजारमा अन्डा र मासुको भाउ छोइनसक्नु हुँदा लाग्न सक्छ– ‘यसपटक किसानले राम्रै नाफा कमाए होलान् ।’ तर, मूल्यवृद्धिको यो ग्राफले न किसानको मुहारमा खुसी ल्याएको छ, न उपभोक्तालाई राहत दिएको छ ।
यी दुईको बीचमा बसेका ‘बिचौलिया’ र व्यापारीहरूले भने बजारलाई आफ्नो मुठीमा राखेर अकुत नाफा कमाइरहेको सरोकारवालाको आरोप छ । यो अवस्थाले एउटै प्रश्न उब्जाएको छ– किसानले लागत नपाउने र उपभोक्ताले सस्तोमा खान नपाउने यो कस्तो बजार संयन्त्र हो ?
साउनमै चार पटक बढ्यो अन्डाको भाउ
अन्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्स कुखुरापालक संघले साउन महिनामा मात्रै चार पटक सूचना निकालेर अन्डाको भाउ बढाएको छ ।
तथ्यांक हेर्ने हो भने २ साउनमा सबैभन्दा ठूलो (एक्सएल अन्डा)को फार्म मूल्य प्रतिक्रेट ४ सय ६५, ठूलो अन्डाको ४ सय ५० र मिडियम अन्डाको ४ सय २० रुपैयाँ थियो ।
तर, २६ साउनसम्म आइपुग्दा यो मूल्य ह्वात्तै बढेर एक्सएल ५ सय ६०, ठूलो ५ सय ४५ र मिडियम ५ सय रुपैयाँ पुगेको छ । बीचमा ६ र १३ साउनमा पनि मूल्य बढाइएको थियो । यसरी एक महिना नबित्दै किसानको खोरबाट निस्किने अन्डाको मूल्य प्रतिक्रेट ९५ रुपैयाँसम्म बढाइएको छ ।
तर, यहाँनेर उपभोक्ता ठगिएको स्पष्ट चित्र देखिन्छ । संघले फार्म मूल्य ४ सय ६५ हुँदा होस् वा ५ सय ६० पुग्दा सबै सूचनामा उपभोक्ता मूल्य ‘प्रतिगोटा २५ रुपैयाँ’ भनेर तोकेको छ । यद्यपि, खुद्रा पसलमा उपभोक्ताले एउटा अण्डाको ३० रुपैयाँसम्म तिर्नु परिरहेको छ ।
साइजअनुसार मूल्य फरक पर्ने अन्डा खुद्रा बजारमा पुगेपछि सबै एउटै बास्केटमा राखेर ३० रुपैयाँमा बेचिन्छ । व्यापारी तथा डिलरले किसानको फर्मबाट अन्डा किन्दा पनि साइजअनुसार पैसा तिरेका हुँदैनन् । उनीहरूले एकमुस्ट उठाउँछन् ।
किसानबाट सस्तो मूल्यमा अन्डा किनेर साइज छुट्याएर उपभोक्तालाई महँगोमा बेचेर बिचौलिया र खुद्रा व्यापारीले बीचमा मोटो रकम कुम्ल्याइरहेको आरोप उपभोक्ता र सरोकारवालाले लगाउँदै आएका छन् ।
मासुको मूल्यमा पनि उस्तै मार
अन्डामा मात्र होइन, कुखुराको मासुमा पनि उस्तै सिन्डिकेट छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले २२ साउनमा जिउँदो कुखुरा र मासुको मूल्य बढाएको थियो । त्यसको चार दिन नबित्दै २६ साउनमा फेरि अर्को मूल्यवृद्धि लागु गरिसकिएको छ ।
यसअघि प्रतिकिलो २ सय ४० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य बढाएर २ सय ५० रुपैयाँ पुगेको छ । त्यसैगरी, तयारी मासुको थोक मूल्य ३ सय ३० रुपैयाँबाट बढाएर ३ सय ४५ रुपैयाँ पुर्याइएको संघले जनाएको छ ।
तर, यो थोक मूल्य उपभोक्तासम्म आइपुग्दा यसको अर्थ रहँदैन । अहिले काठमाडौंका खुद्रा पसलहरूमा उपभोक्ताले एक किलो कुखुराको मासुको ३ सय ८० देखि ४ सय १० रुपैयाँसम्म तिर्न बाध्य छन् ।
मूल्य किन बढिरहेको छ त ? यसको पछाडि मुख्य कारण बर्डफ्लु र त्यसले उत्पादनमा पारेको असरलाई देखाइएको छ ।
पशु सेवा विभागको तथ्यांकअनुसार पछिल्लो ४ महिनामा बर्डफ्लु संक्रमणबाट ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट गरिएको छ । साथै, १२ लाख २५ हजार ५ सय ३६ वटा अन्डा र २ लाख ६४ हजार २ सय १३ किलो दाना नष्ट गरिएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण देशभरि करिब १० देखि १२ लाख अन्डा दिने लेयर्स कुखुरा नष्ट भएका छन् ।
‘पहिले देशभरि दैनिक ४०–४१ लाख गोटा अन्डा उत्पादन हुन्थ्यो, अहिले त्यो घटेर २९–३० लाखमा झरेको छ,’ उनी भन्छन्, ‘सिधै उत्पादन घटेको छ तर बजारमा माग बढिरहेको छ ।’
बजारमा मूल्य बढेको देखिए पनि वास्तविक किसान भने अझै घाटामै रहेको अध्यक्ष पोखरेल बताउँछन् । ‘किसानको एक क्रेट अन्डा उत्पादनको लागत ५ सय ७३ रुपैयाँ छ, तर किसानले अझै पनि ठूलो अन्डाको ५ सय ४५ रुपैयाँ मात्र पाइरहेका छन्,’ उनले भने, ‘उपभोक्ता मूल्य बढ्यो भन्दैमा किसानले नाफा कमाएका छैनन्, अझै घाटामै छन् ।’
कुखुरापालन क्षेत्रका एक व्यवसायी पनि यो कुरामा सहमत छन् । उनका अनुसार बर्डफ्लुको समयमा किसानले घाटा खाएर कुखुरा बेचे । अहिले खोरहरू रित्तै छन् ।
सरकारले खुला सिमानाबाट हुने भारतीय कुखुरा र अन्डाको चोरी–निकासीमा रोक लगाएको छ । सस्तो भारतीय उत्पादन आउन छोडेपछि र स्वदेशमा कुखुरा नहुँदा बजारमा अभाव सिर्जना भएको ती व्यवसायी बताउँछन् ।
तर, दाना र कच्चा पदार्थ महँगिएर मूल्य बढेको भन्ने हल्ला भने साँचो नभएको ती व्यवसायीको तर्क छ । ‘अहिले दानाको मूल्य यथावत् छ, भारतबाट मकै ल्याउनु परेको छैन, नेपाली मकैले नै आगामी पाँच–छ महिनाको माग धान्छ,’ ती व्यवसायीले भने, ‘त्यसैले अहिलेको मूल्यवृद्धि लागत बढेर भन्दा पनि बजारमा माल नभएर र बिचौलियाको चलखेलले भएको हो ।’

तरकारी बजार जस्तै बिचौलियाको कब्जामा कुखुरा बजार
अर्का एक व्यवसायी बजारमा सबैभन्दा ठूलो त्रुटि लुकेको बताउँछन् । ‘अहिले कुखुरा र अन्डा बजार ठ्याक्कै तरकारी बजार जस्तो भएको छ, किसानले ५ रुपैयाँमा बेचेको काउली उपभोक्ताले ४० रुपैयाँमा किनेजस्तै, खोरबाट सस्तोमा निस्केको कुखुरा र अन्डामा सप्लायर्स, डिलर र खुद्रा व्यापारीले अचाक्ली नाफा खाएका छन् ।’
किसान आफैंले बजारसम्म पुर्याउन नसक्ने र अन्डा धेरै दिन राख्दा बिग्रिने भएकाले डिलरले जति मूल्य तोक्यो, त्यतिमै बेच्न किसान बाध्य छन् ।
उपभोक्तालाई लुट्ने र किसानलाई सुकाउने यो खेलमा वस्तुगत संघहरूको भूमिका सबैभन्दा शंकास्पद रहेको उनको भनाइ छ ।
लेयर्स कुखुरापालक संघ वा मासु व्यवसायी संघले यसरी सूचना नै निकालेर मूल्य तोक्न मिल्छ त ?
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना यसलाई यसलाई संघहरूको गैरकानुनी धन्दा मान्छन् । नेपालको अहिलेको मौजुदा कानुनले कुनै पनि व्यावसायिक र वस्तुगत संघलाई मूल्य तोक्ने अधिकार नदिएको उनी बताउँछन् ।
‘नेपाल फलफूल व्यवसायी संघले जुसको मूल्य तोक्ने, अन्डा व्यवसायी संघले अन्डाको मूल्य तोक्ने, कुखुरापालक संघले मासुको मूल्य तोक्ने, सुनचाँदी व्यवसायी संघले सुनको मूल्य तोक्ने जुन काम गरिरहेका छन्, यो पूर्णरूपमा गैरकानुनी हो,’ अधिकारकर्मी तिमल्सिना भन्छन् ।
उनका अनुसार बजारमा कुन वस्तुको मूल्य कति हुनुपर्छ भनेर निर्धारण गर्ने काम संघहरूको होइन । ‘मुलुकका कुनै पनि किसानले मूल्य पाउन सकेका छैनन्, संघमा बसेका बीचका बिचौलियाले मूल्य निर्धारण गर्ने र उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ,’ उनी भन्छन्, ‘तिनै बिचौलियाले बजारमा मूल्य बढ्दै छ भनेर प्रक्षेपण गर्ने, कार्टेलिङ गर्ने र पुराना सामानमा पनि बढेको नयाँ मूल्य लिन खोज्दा यस्तो अवस्था आएको हो ।’
सरकारको मौनताले बढेको मनोबल
यो सम्पूर्ण बेथितिको जड सरकारको फितलो अनुगमन संयन्त्र भएको अधिकारकर्मी तिमल्सिनाको आरोप छ । उनका अनुसार सरकारसँग मूल्य नियमन गर्ने, विश्लेषण गर्ने र मूल्य निर्धारण गर्ने वैज्ञानिक संयन्त्र नै छैन । संघहरूले तोकेको मूल्य ठीक हो कि होइन भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कहिल्यै गहिरो अनुसन्धान गर्दैन ।
‘बजार हस्तक्षेप गर्ने निकायले मूल्यको अनुगमन र नियमन नगर्दासम्म व्यापारीहरूको चंगुलमा हाम्रो बजार फसिरहन्छ,’ उनी भन्छन्, ‘संघले तोकेको मूल्य नै गैरकानुनी भएको हुँदा सबैभन्दा पहिला सरकारले यसलाई नियन्त्रण गर्नुपर्छ ।’ अहिलेको कुखुरा र अन्डा बजारको यथार्थ भनेकै सिन्डिकेट हो । किसान घाटामा छ भन्दैमा बिचौलियाले उपभोक्तालाई लुट्न नपाउने उनको भनाइ छ ।
उत्पादन घटेको बहानामा कार्टेलिङ गरेर रातारात भाउ बढाउने संघहरू र किसानबाट सस्तोमा अन्डा किनेर महँगोमा बेच्ने खुद्रा व्यापारीमाथि राज्यले तत्काल अनुगमन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।
बर्डफ्लु र बजारमा देखिएको अभावको फाइदा उठाउँदै सप्लायर्स र बिचौलियाले किसान र उपभोक्ता ठगिरहेको पोल्ट्री व्यवसायी मञ्च नेपालको दाबी छ । पोल्ट्री व्यवसायी मञ्च नेपालका सचिव जयराम महत बजारमा अहिले कुखुरा र अन्डाको केही अभाव रहेकाले यसको फाइदा बीचमा बसेकाले उठाइरहेको बताउँछन् ।
‘अहिले बजारमा अलि अभावको स्थिति छ, डिलर र सब–डिलरले किसानबाट नगदमै सामान उठाए पनि बीचका मान्छेले मार्जिन अलि बढी राख्ने गरेका छन्,’ सचिव महतले भने, ‘किसानको बहाना देखाएर बिचौलियाहरूले उपभोक्ताबाट बढी लिएको देखिन्छ ।
बजारमा मासुको मूल्य बढेको देखिए पनि ब्रोइलर कुखुरा पाल्ने किसानले भने अझै लागत अनुसारको मूल्य पाउन नसकेको उनको भनाइ छ ।
‘एक दिने चल्लाको मूल्य नै ७५–८० रुपैयाँ पर्छ, त्यसमा ५ हजारको दाना, बिजुली, पानी, कामदार र भाडा गर्दा लागत एकदमै बढी पर्न जान्छ,’ उनले भने, लामो समयसम्म बर्डफ्लुको कारणले घाटा खाएका किसानलाई राहत दिन लागत अनुसारको मूल्य कायम गरिदिएको भए सहज हुन्थ्यो ।’
विगतमा फैलिएको बर्डफ्लुको कारण धेरै कुखुरा नष्ट भएकाले अहिले बजारमा अभाव देखिएको उनी बताउँछन् । बर्डफ्लु संक्रमित खोरलाई ३ महिनासम्म निर्मलीकरण गरेर खाली राख्नुपर्ने नियम छ । अहिले लगातारको वर्षात्का कारण निर्मलीकरण गर्न समस्या भएकाले किसानहरू खोरमा नयाँ चल्ला हाल्न उत्साहित नभएको महतले बताए ।
पछिल्लो समय बजारमा मासुको माग अलिकति बढेको जस्तो देखिए पनि साउन महिना (सोमबार) र लगत्तै आउने १६ दिने सोह्र श्राद्धका कारण मासुको खपत घट्ने मञ्चको भनाइ छ ।
‘सोह्र श्राद्धमा मासुको बिक्री शून्य नै हुन्छ,’ सचिव महतले भने, ‘त्यसले गर्दा यो बीचको एक महिनाको भदौमा भन्दा पनि किसानले दशैंको बेला चाहिँ राम्रो मूल्य पाउँछन् कि भन्ने आशा छ ।’
प्रतिक्रिया 4