News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा सांसदहरूको उपस्थिति न्यून भएको र कोरम नपुगेर बैठक स्थगित भएको विषयमा गम्भीर असन्तुष्टि जनाउँदै हाजिरीको विश्लेषण गर्ने निर्णय गरेको छ ।
- महामन्त्री विपिन आचार्यले वर्तमान संसदीय अभ्यास कर्मकाण्डी भएको टिप्पणी गर्दै संसद्लाई सिर्जनशील र प्रभावकारी बनाउन तत्काल संसदीय सुधार समिति गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।
- सांसदहरूको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले रास्वपाले यही साउन २९ देखि ३१ गतेसम्म ललितपुरको गोदावरीमा आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।
२७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सञ्चालन प्रक्रियाप्रति सन्तुष्ट छैन । संसदीय अभ्यास कर्मकाण्डी हुँदा प्रभावकारिता हुन नसकेको रास्वपा नेताहरू बेलाबेलामा बताइरहन्छन् ।
वर्तमान संसदीय अभ्यासप्रति रास्वपा महामन्त्री विपिन आचार्य असन्तुष्ट छन् । उक्त विषयलाई उनले सञ्चार माध्यम र संसद्मै समेत उठाएका छन् ।
महामन्त्री आचार्य १०० मा ३२ अंक ल्याए पास हुने भए मात्र अहिलेको संसद्को कार्यलाई पास भएको बुझ्नुपर्ने बताउँछन् । यदि १०० मा ४० अंक ल्याए पास हुने मापदण्ड भए प्रतिनिधसभा फेल भएको आचार्य अर्थ्याउँछन् ।
उनले संसद्मा भने, ‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु । संसद्मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु ।’
एकातर्फ, महामन्त्री आचार्य संसदीय अभ्यासप्रति खिन्न छन् । अर्कोतर्फ, संसद्प्रति जिम्मेवार बनाउन रास्वपाले सांसदहरूको हाजिरी विश्लेषण गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नभएको, बैठकमा सुरुमा उपस्थित भए पनि बीचमा छोडेर जाने क्रम बाक्लिँदै गएको हुँदा हाजिरी विश्लेषण गर्नु परेको रार्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले बताउँछन् ।
असार र साउनका पाँच बैठकमा उपस्थित हुने-नहुने सांसदहरूको विवरणका आधारमा प्रतिवेदन पेस गर्न जिम्मेवारीसमेत तोकिएको छ । असारको ३० र ३१ गते र साउनको १४, १८ र २२ गतेको संसद् बैठकमा उपस्थित हाजिरी हेरेर त्यसको विश्लेषण गरी प्रतिवेदन बुझाउन सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले जिम्मेवारी पाएका छन् ।
धिताल र परियारलाई प्रतिवेदन तयार गरेर बुझाउने समयसीमा साउन २९ गतेसम्म छ । प्रतिवेदन तयारीको काम भइरहेको रास्वपा सचेतक परियारले जानकारी गराए ।
संसदीय भूमिका प्रवाहकारी नभएको निचोडसहित पार्टीले सांसदहरूकै विषयमा अध्ययन भइरहेको बेला मंगलबार कोरम नपुगेर संसद् बैठक स्थगित गर्नुपर्ने अवस्था बन्यो ।
खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने समयमा कोरम पुगेन । प्रस्तावका लागि गणपुरक संख्या ६९ सदस्य हुनु पर्नेमा ६१ जना मात्रै प्रतिनिधिसभा हलमा थिए ।
विधेयक विचार गरियोस् भनी निणयार्थ प्रस्तुत गर्ने समयमा रास्वपाका ५६ सांसद थिए । अरू पाँच जना विपक्षी दलका सांसद थिए । गणपूरक संख्या नपुगेपछि यो प्रस्ताव मंगलबार अघि बढ्न नसकेपछि भदौ १ गतेको कार्यसूचीमा सरेको छ ।
प्रतिनिधिसभामा रास्वपाका १८१ सांसदमा बहुसंख्यक अनुपस्थित भएपछि सबैतिरबाट प्रश्न उठ्न थालेको छ । रास्वपाकै सांसदहरूले पनि यो प्रवृत्तिको आलोचना गरेका छन् ।

सभामुख डीपी अर्यालले गणपूरक संख्या नपुगेर बैठक स्थगित गरेपछि रास्वपा प्रमुख सचेतक क्रान्तिशिखा धितालले आफ्नै सांसद लक्षित टिप्पणी गरिन् । उनी भन्छिन्, ‘सफलताको चुली चुम्न यति छिटो दगुरेछौं कि, जुत्ता फेदीमै छुटेछ ।’
सांसद गणेश कार्की पनि आफ्नै दलका सांसदहरूको शैलीप्रति खिन्न देखिए । ‘पारित गराउनु पर्ने हामीले नै थियो । संसद्मा हामी थोरै भयौँ । थोरै के, कोरमसम्म पुगेन,’ आफू दिनभरि संसद्मा रहेको जानकारी गराउँदै कार्कीले भने, ‘लाज मान्नु पर्ने ठाउँ यहीँ हो । म दिनभर सदनमा उपस्थित भएको भए पनि अन्यको अनुपस्थितका कारण माफी माग्छु । संख्या गनौं भनेर हाम्रो स्वभाव सार्वजनिक गरिदिएकोमा सांसद निश्कल राईलाई धन्यवाद ।’
सभामुख अर्यालले निणयार्थ पेस गर्ने क्रममा कांग्रेस सचेतक राईले गणपूरक संख्याप्रति सभामुखको ध्यानाकर्षण गराएका थिए । सदनमा रहेकाहरूको गणना गर्दा ६१ जना उपस्थित भेटिए ।
संसद् सञ्चालन प्रक्रियाप्रति प्रश्न उठाउँदै चलिआएको अभ्यासप्रतिसमेत प्रश्न उठेको छ । सात घण्टाभन्दा बढी समय निरन्तर बैठक हुँदा सांसदहरू बाहिरिएको एउटा कारण हुन सक्ने रास्वपा प्रमुख सचेतक बुर्लाकोटी बताउँछन् ।
उनले अनलाइनखबरसँग भने, ‘केहीको अप्ठ्यारो परेर निस्कनु परेको पनि हुन सक्छ । जुन हिसाबको हामीलाई अपेक्षा राखेर जनमत प्राप्त छ, मतको अवमूल्यनको संकेत हो कि भन्ने हिसाबमा पनि हामीले हेर्नु पर्छ ।’
मंगलबार संसद्मा देखिएको अनुपस्थितिले नयाँ विधि बनाएर जानुपर्ने शिक्षा प्राप्त गरेको बुर्लाकोटी बताउँछन् ।
रास्वपाका बहुसंख्यक सांसदहरू अनुपस्थित भएपछि चौतर्फी आलोचना भयो । प्रतिरक्षामा उत्रने एक्लो सांसद आशिका तामाङ बनेकी छिन् । बैठकलाई ‘अनावश्यक’ लामो बनाउँदा सांसदहरू निस्किनु परेको तामाङको दाबी छ ।
बैठक धेरै लामो हुनु, सांसदहरू मन्त्रालय मन्त्रालय धाउनु पर्ने, छोराछोरी विद्यालयमा लिन आउने लगायतका कारणले गणपूरक संख्या नपुगेको तामाङ बताउँछिन् ।
सांसदको भूमिकालाई प्रभावकारी बनाउन रास्वपाले तेस्रो पटक प्रशिक्षण गर्ने भएको छ । ललितपुरको गोदावरीमा साउन २९ देखि ३१ गतेसम्म आवासीय प्रशिक्षण गराउन लागिएको रास्वपा सचेतक धितालले जानकारी गराइन् ।
रास्वपा महामन्त्री आचार्य वर्तमान तौरतरिकाबाट संसद्ले उल्लेखनीय परिणाम दिन नसक्ने विश्लेषण गर्छन् । संसदीय सुधार समिति गठन गरेर संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन सकिने आचार्य बताउँछन् ।
‘अब एक पटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नु पर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ त ?,’ महामन्त्री आचार्यको सांसदहरूलाई प्रश्न छ ।
प्रतिक्रिया 4