+
+
Shares
हाटाको हैरानी :

गैरजिम्मेवार सांसद : सभामुखले नाम लिँदा बैठकमा हुँदैनन्, हाजिर गरेर टाप कस्छन्

बैठकमा सुरुमा उपस्थित भए पनि बीचमा छोडेर जाने क्रम बाक्लिँदै गएको र यसबाट संसद्को गरिमा कमजोर हुँदै जाने देखिएकाले हाजिरी विश्लेषण गर्न लागिएको रास्वपा संसदीय दलको कार्यालयले जनाएको छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ साउन २६ गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको मंगलबारको बैठकमा गणपुरक संख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथिको छलफल स्थगित भएको छ ।
  • संसद् बैठकमा ६९ जना सांसद आवश्यक पर्नेमा ६१ जना मात्र उपस्थित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक एक साताका लागि स्थगित गर्नुपरेको हो ।
  • सांसदहरू हाजिर गरेर बाहिरिने 'हाटा' प्रवृत्ति बढेकाले रास्वपाले संसदीय दलको कार्यालयमार्फत सांसदहरूको हाजिरी विवरणको विश्लेषण गर्ने निर्णय गरेको छ ।

२६ साउन, काठमाडौं । प्रतिनिधि सभामा १८२ जना सांसद त रास्वपाकै छन् । सदनको बिजनेसलाई सहज रुपमा अघि बढाउने मुख्य जिम्मेवारी सत्ता पक्षको हुन्छ । तर मंगलबार  महत्त्वपूर्ण समयमा प्रतिनिधिसभा बैठक खाली खाली रह्यो । खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो । यो प्रस्ताव पेश गर्ने बेलामा  प्रतिनिधिसभामा सांसदको गणपुरक संख्या नै पुगेन ।

यो प्रस्तावमा गणपुरक संख्या पुगेको खण्डमा सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय सुरु हुन्थ्यो । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपुरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गरे ।

तीन मिनेटसम्म घण्टी बजाउँदा गणपुरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नुपरेको छ ।  सभामुख अर्यालका अनुसार, ६९ जना सांसद हुनुपर्नेमा ६१ जनामात्रै बैठकमा रहेकाले  बैठक स्थगित गर्नु पर्ने अवस्था आयो । सांसद  नभएकै कारण अब एक सातापछि मात्र यो विधेयकमाथिको कार्यसूचीमा छलफल अघि बढ्छ ।

प्रतिनिधिसभाका सांसदहरूको गैरजिम्मेवारीपन  पटक पटक दोहोरिने गरेको छ । बैठकमा केहीबेर सहभागी हुने त्यसपछि अन्यन्त्र जाने प्रबृत्तिले संसद्मा हैरानी भइरहेको छ ।  सांसदहरू यतिसम्म गैरजिम्मेवार छन्  कि नाम टिपाएर बोल्ने समयमा चाहिँ बेपत्ता हुन्छन् ।

प्रतिनिधिसभामा मंगलबार खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल चल्दै थियो । सांसदहरूले विधेयकको सैद्धान्तिक पक्षमा धारणा राख्दै थिए ।

सभामुखको आसनमा बसेर उपसभामुख रुवी ठाकुर सभा चलाइरहेकी थिइन् । उनले सांसद् रिना उप्रेतीलाई बोल्न समय दिइन् । त्यसपछि तयारी अवस्थामा रहन माननीय अरविन्द साहको नाम लिइन् ।

तर, रिना उप्रेती सभा कक्षमा थिइनन् । उपसभामुखले तीन पटक रिना उप्रेतीको नाम बोलाएर अरविन्द साहलाई समय दिइन् ।

सांसद अरविन्द साह पनि सभाकक्षमा थिएनन् । उनको पनि तीन पटक नाम लिएर अर्का सांसद गंगालक्ष्मी अवाललाई बोल्न समय दिइयो ।

सभाकक्षमा एकपछि अर्को सांसद्को नाम बोलाउँदा अनुपस्थित रहेको थाहा लागेपछि सभाकक्षमा रहेका सांसदहरू हाँसे । तर उपसभामुखले अनुपस्थित सांसदको नाम तीन पटक लिँदै अर्को सांसदलाई बोल्न समय दिइरहिन् ।

सभामुखले तीन पटक नाम बोलाउँदासम्म अनुपस्थित रहे अर्को सांसदलाई बोल्न समय दिने अभ्यास र कानुनी व्यवस्था दुवै छ ।

तर, यस्तो दृश्य संसद्मा पहिलो पटक देखिएको होइन, यो पटक–पटक दोहोरिँदै आएको दृश्य हो ।

यसलाई ‘हाटा’ प्रवृत्तिको रूपमा व्यङ्ग्य हुने गरेको छ । सांसदहरू संसद् बैठकमा जान्छन् अनि हाजिर गरेर टाप कस्छन् भनेर छोटकरीमा हाटा भन्ने गरिएको हो ।

हाजिर गरेर निस्केको भए पनि ती को सांसद थिए भन्ने थाहा लाग्दैनथ्यो । विधेयकमाथि बोल्न नाम टिपाउने र बोलाउँदा सभाकक्षमा नदेखिने प्रवृत्ति पनि बढ्दो छ ।

यसअघि २२ असारमा बसेको प्रतिनिधिसभा बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

यसमाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृष्टि भट्टराई र नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले बोल्न नाम टिपाएका थिए ।

सभामुखले बोल्न सुरुमै सृष्टि भट्टराईलाई समय दिए । तर उनी सभाकक्षमा थिइनन् । सभामुखले तीन पटक नाम बोलाए ।

त्यसपछि बोल्ने क्रममा रहेका अर्का सांसद सन्तोष सुब्बाको नाम बोलाए । उनी पनि सभाकक्षमा थिएनन् । सभामुखले तीन पटक नाम बोलाए ।

सभामुखले बोल्न समय दिन तेस्रो पटक नाम लिएका रास्वपाका सांसद गोविन्द पन्थी भने सभाकक्षमा थिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि श्रमिक अधिकारको संरक्षण गर्ने विश्वव्यापी प्रतिबद्धताका सम्बन्धमा धारणा राखे ।

अर्थात्, संसद्मा सांसदहरू हाजिर गर्ने र बाहिरने प्रवृत्ति रोकिएको छैन ।

यो विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आन्तरिक रूपमा अध्ययनसमेत गर्दैछ ।

पछिल्लो समय सांसदहरूको अपेक्षित उपस्थिति नभएको भनेर रास्वपाले अध्ययन गर्दैछ ।

बैठकमा सुरुमा उपस्थित भए पनि बीचमा छोडेर जाने क्रम बाक्लिँदै गएको र यसबाट संसद्को गरिमा कमजोर हुँदै जाने देखिएकाले हाजिरी विश्लेषण गर्न लागिएको रास्वपा संसदीय दलको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बैठकको हाजिरी संसद् सचिवालयबाट झिकाएर विश्लेषण गरी प्रतिवेदन दिन संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ ।

प्रतिनिधिसभाको अघिल्लो र चालु अधिवेशनको असार मसान्तसम्मको सांसदको हाजिरीका विषयमा अनलाइनखबरले संघीय संसद् सचिवालयसँग सूचनाको हक प्रयोग गरेर विवरण मागेको थियो । त्यससम्बन्धी समाचार सामग्री यसअघि सम्पेषण भइसकेको छ ।

जसमा शीर्ष नेताहरूकै उपस्थिति कमजोर देखाएको थियो । शतप्रतिशत संसद्मा जाने सांसद पनि थोरै मात्र देखिएका थिए ।

साथै, एकै दिन संसद्मा दुई–तीन वटा बैठक बस्दा क्रमश: सांसदको हाजिरी कम हुँदै गएको तथ्यांकले देखाएको छ ।

एउटै बैठक बस्दासमेत सांसदहरू हाजिर गरेर बाहिरिने प्रवृत्ति देखिन्छ । यस्तो प्रवृत्तिलाई लिएर संसद्मै समेत प्रश्न उठ्ने गरेको छ ।

यही साउन २५ गते प्रतिनिधिसभामा बोल्दै रास्वपाका सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग नै राखेका थिए ।

अहिलेको संसदीय अभ्यास कर्मकाण्डी भएको भन्दै संसद्‍लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन समिति गठन गर्नुपर्ने उनले बताएका थिए ।

‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु । संसद्‍मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु । अब एक पटक सबै सांसदहरूबीच सर्वेक्षण (पोलिङ) गर्नुपर्छ । के हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ?’ उनले प्रश्न गरेका थिए ।

यो विषयमा संसदीय सुधार समिति नै बनाएर संसद्लाई सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउने सन्दर्भमा काम गर्नुपर्ने उनको आग्रह छ ।

त्यसअघि ३१ असारको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भएको बताएका थिए ।

संसद्को समीक्षा गर्दा यसका मापदण्ड के कस्ता हुन सक्छन् भनेर आचार्यले पहिलो नम्बरमै सांसदहरूको उपस्थितिको विषय उठाएका थिए ।

सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए, संसदीय समितिहरूले कति काम गरे, संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए, सांसदहरूको प्रस्तुति कस्तो रह्यो भन्ने आधारमा संसद्को समीक्षा गर्ने उनको प्रस्ताव थियो ।

सांसद आचार्यका अनुसार संसद् र संसदीय गतिविधिलाई नागरिकले समेत नियालिरहेका हुन्छन् । संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ भएको हो । तर संसद्मा सांसदहरू उपस्थित हुँदैनन् वा उपस्थित भएर हाजिर गरेर टाप कस्छन् भने यो प्रवृत्ति उचित होइन ।

प्रतिनिधिसभामा मात्र होइन, संसदीय विषयगत समितिमा समेत हाटा प्रवृत्ति छ ।

२९ वैशाखमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा हाटा प्रवृत्ति देखा परेपछि सोही बैठकमा प्रश्न उठेको थियो ।

त्यस दिन लेखा समितिको बैठकमा केही सांसदहरू उपस्थित भएझैँ गरी बैठकमा केहीबेर बसेर हिँडेका थिए । केहीले आफ्ना कुरा राखे र अरू सांसदका विचार सुन्ने धैर्य राखेनन् । केही ढिलो गरी पुगे ।

बिहान १० बजेका लागि तय भएको बैठक करिब २५ मिनेट ढिलो गरी सुरु भएको थियो । समिति सभापति भरतबहादुर खड्काले समितिसम्बन्धी प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले लेखा समिति आगामी दिनमा के–कस्ता विषयमा कसरी अगाडि बढ्न सक्छ भनेर प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको बताएका थिए ।

त्यसपछि समितिका तत्कालीन सचिव एकराम गिरीले सार्वजनिक लेखा समितिको महत्व र कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरे । सार्वजनिक लेखा, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरूको निगरानी गर्ने लगायतका समितिका क्षेत्राधिकारबारे ब्रिफिङ गरे ।

समिति सचिवको प्रस्तुतीकरण चलिरहँदा सांसदहरूको हाजिर हुँदै थियो । सचिवको प्रस्तुतीकरण सकिएपछि सांसदहरू बाहिरिने क्रम पनि सुरु भयो । केही आफ्ना कुरा राखेर बाहिरिए भने केही यसै बाहिरिएका थिए ।

लेखा समितिको बैठक त्यस दिन करिब सवा घण्टा चलेको थियो । संसदीय समितिको हाजिरीअनुसार समिति उक्त बैठकमा २४ जना सांसद उपस्थित थिए ।

तर, २४ जना सांसद उपस्थित रहेको समिति बैठकको अन्तिममा सभापति खड्काले सम्बोधन गर्दै गर्दा ११ जना मात्र बाँकी थिए ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?