२८ साउन, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सञ्चालनमा रहेका होटल तथा खाजा पसल एलपी ग्याँसको अभावका कारण प्रभावित हुन थालेका छन् ।
खाना पकाउन आवश्यक ग्याँस सहज रूपमा उपलब्ध नहुँदा केही होटल बन्द भएका छन् भने सञ्चालनमा रहेका होटलले समेत नियमित सेवा दिन कठिनाइ भोगिरहेका छन् ।
शुक्रबारे बजार छथर क्षेत्रका स्थानीयको दैनिक किनमेल तथा खानपानको महत्वपूर्ण केन्द्र हो । यहाँका होटल व्यवसाय धेरै परिवारको आम्दानीको आधारसमेत बनेका छन् । तर, ग्याँस अभावका कारण चुलो बल्न छाडेपछि व्यवसायीको आम्दानीसँगै बजारको आर्थिक गतिविधिमा समेत असर पर्न थालेको छ ।
दर्शन होटलका सञ्चालक पृथीकुमार ठकुरीका अनुसार उनको होटल चार दिनदेखि बन्द छ । होटल बन्द हुँदा आम्दानीको ठूलो स्रोत गुमेको उनले बताए ।
उनका अनुसार हटियाको दिन मात्रै करिब ५० हजार रुपैयाँ बराबरको कारोबार गुमेको छ । सामान्य दिनमा समेत ग्यास अभावका कारण दैनिक २० देखि ३० हजार रुपैयाँसम्म घाटा हुँदै आएको उनको भनाइ छ । ‘ग्यास नहुँदा होटल नै बन्द गर्नुपर्ने अवस्था आयो । होटल बन्द भएपछि आम्दानी छैन, तर घरभाडा, सरकारलाई कर तथा अन्य खर्च भने रोकिँदैन’, ठकुरीले भने ।
शुक्रबारेमा होटल बन्द हुँदा त्यसको असर सञ्चालकमा मात्रै परेको छैन । होटलमा काम गर्ने श्रमिकको रोजगारी, स्थानीय किसान तथा व्यापारीले होटलमा बिक्री गर्ने दूध, तरकारी, मासु, अण्डा लगायत खाद्य सामग्रीको कारोबारसमेत प्रभावित भएको छ । ग्याँस अभावको प्रत्यक्ष असर सञ्चालनमा रहेका होटलमा समेत देखिएको छ।
भेटघाट होटलका सञ्चालक पवन श्रेष्ठले ग्याँसको अभावका कारण ग्राहकलाई खाना तथा नास्ता उपलब्ध गराउनसमेत समस्या हुँदै गएको बताए । ‘ग्राहक आउँछन, खाना–नास्ता माग्छन । तर, ग्याँस नभएपछि चाहेजस्तो सेवा दिन सकिँदैन’, श्रेष्ठले भने । नियमित रूपमा होटल सञ्चालन गर्न नसक्दा ग्राहक घट्ने र व्यापारमा असर पर्ने अवस्था आएको उनको भनाइ छ ।
होटल व्यवसायमा एक दिनको कारोबार गुम्नु सामान्य विषय होइन । बिहानदेखि बेलुकासम्मको आम्दानीबाट घरखर्च, घरभाडा, कर्मचारीको पारिश्रमिक तथा खाद्य सामग्रीको खर्च व्यवस्थापन गर्ने साना व्यवसायीका लागि लगातारको बन्दले आर्थिक संकट निम्त्याउन सक्छ ।
यस बजारमा होटल व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका धेरै व्यवसायी छन । होटल बन्द हुँदा खाद्यान्न, दूध, तरकारी, मासु, अण्डा तथा अन्य सामग्रीको खपत घट्छ । होटलमा काम गर्ने मजदुरको आम्दानी रोकिन्छ । ग्राहकले खाना–खाजा नपाउँदा बजारमा बसाइ तथा कारोबारको समयसमेत घट्न सक्छ । यसरी हेर्दा ग्याँस अभाव एउटा होटलको भान्सामा देखिएको समस्या मात्र होइन। यसले व्यवसाय, रोजगारी, आपूर्ति शृंखला र स्थानीय बजारको आर्थिक गतिविधिलाई नै प्रभावित पार्ने अवस्था सिर्जना गरेको छ ।
व्यवसायीहरूले बजारमा एलपी ग्याँसको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन । बजारको मागअनुसार पर्याप्त मौज्दात राख्ने व्यवस्था मिलाउनुपर्ने, वितरण प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने र अभावको समयमा प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरूको माग छ । व्यवसायीहरूका लागि ग्याँस केवल खाना पकाउने इन्धन होइन, व्यवसाय चलाउने आधार हो । चुलो बल्न नसक्दा होटलको ढोका खुला राखेर पनि सेवा दिन समस्या हुन्छ ।
शुक्रबारे बजारमा देखिएको अहिलेको अवस्था त्यसैको उदाहरण हो । दर्शन होटल चार दिनदेखि बन्द हुनु र भेटघाट होटलले ग्राहकलाई खाना-नास्ता दिनसमेत समस्या भोग्नुले ग्याँस अभावले व्यवसायमा पारिरहेको गम्भीर असर पारेको छ । समयमै ग्याँसको सहज आपूर्ति व्यवस्था मिलाउन नसकिए शुक्रबारेका थप होटल बन्द हुने र त्यसको प्रत्यक्ष असर व्यवसायी, श्रमिक तथा स्थानीय अर्थतन्त्रमा पर्ने जोखिम बढ्दै जाने देखिन्छ ।
प्रतिक्रिया 4