News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाले खाना पकाउने एलपी ग्यासको अभाव अन्त्य गरी सहज आपूर्ति र विक्री वितरण व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
- राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा ग्यासको चरम अभाव र जनस्तरबाट आएको व्यापक गुनासोलाई मध्यनजर गर्दै सरकारलाई यस्तो निर्देशन दिनुभएको हो।
- पछिल्लो तीन सातादेखि देशभर ग्यासको अभाव भएपछि सर्वसाधारण घण्टौँ लाइन बस्न बाध्य भएका छन् भने कतिपय उपभोक्ता पहुँचको खोजीमा लागेका छन्।
२७ साउन, काठमाडौं । खाना पकाउने एलपी ग्यासको आपूर्ति र विक्री वितरण सहज बनाउन सरकारलाई संसद्ले ध्यानाकर्षण गराएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकले यो विषयमा सरकारको ध्यानाकर्षण गरेको हो । सभाको शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्याका विषय सांसदहरूले उठाएका थिए ।
संसद्मा पनि विषय उठेको र जनस्तरबाट समेत व्यापक गूनासो आएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।
उनले भनेका छन्, ‘शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ । साथै जनस्तरबाट समेत व्यापक जनगूनासो सुनिन आएकोले सहज रुपमा ग्यासको आपुर्ति तथा विक्री वितरण गर्न र गराउनको लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’
बुधबारकै सभामा पनि यो विषय सांसदहरूले उठाएका थिए । राष्ट्रिय सभा सदस्य पदम परियारका अनुसार पछिल्लो तीन सातादेखि काठमाडौं उपत्यका लगायत देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । ग्यास लिन नागरिकहरू घण्टौं लाइनमा बस्नेहरू त छँदैछन् । यस्तोमा कतिपय उपभोक्ता ग्यास पाइन्छ कि भनेर नेता र सांसदहरूको सोसफोर्स खोज्न थालेका छन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सांसदहरूलाई जिल्ला–जिल्लाका जनताले फोन गरिरहेको सुनाउँदै नागरिकले के भनिरहेका छन् भनेर सुनाएका हुन् । ‘फोन गरेर लौन एउटा दुइटा ग्यास सिलिण्डर मिलाइदिनुपुर्यो । तपाईंले भनेको मान्छन कि ! भनेर नागरिकहरूले अनुरोध गर्नुभएको छ’ सांसद परियारले भनेका थिए ।
प्रतिक्रिया 4