News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बैंकका उच्च पदाधिकारीहरूमाथि मुद्दा दायर भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- बैंकले नियमित बैंकिङ कारोबार र दैनिक कार्यसम्पादनमा कुनै अवरोध नआएको तथा नेतृत्व र व्यवस्थापन यथावत रहेको स्पष्ट पारेको छ ।
- बैंकले संस्थाको सबलता र ग्राहकको हितलाई केन्द्रमा राखी सेवाहरू निर्वाध रूपमा सञ्चालन भइरहेको भन्दै आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।
२८ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारबाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तो घटनाका सन्दर्भमा बैंकले नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको र नहुने स्पष्ट पारेको छ । बैंकको नेतृत्व तथा व्यवस्थापक यथावत रहेको पनि उसले स्पष्ट पारेको छ ।
‘संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्वाध रूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त गराउन चाहन्छौं’ बैंकले एक विज्ञप्ति जारी गरी भनेको छ ।
बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न आवश्यक समन्वय तथा सहयोग गरिदिन पनि बैंकले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले अनुरोध गरेको छ । ‘निक्षेपकर्ता, ग्राहक, सेयरधनी
तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वास प्रति आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौँ’ बैंकले भनेको छ ।
प्रतिक्रिया 4