२८ साउन, प्युठान । प्युठानका माडी र लुङ्ग्री खोला किनारमा भेटिएका पाँच वटा शव रोल्पा पहिरोका बेपत्ताको रहेको खुलेको छ ।
प्रहरीका अनुसार ती शव रोल्पाको थबाङ गाउँपालिका–५ कोतलाबाङ क्षेत्रमा गएको पहिरोले बगाएर ल्याएका व्यक्तिहरूका रहेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीले ती मृतक रोल्पाको पहिरोमा बगेर बेपत्ता भएकाहरूको रहेको खुलेको पुष्टि गरे ।
उनका अनुसार ती शव थबाङ गाउँपालिका–५ कोतलाबाङका ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुन मगर, ३४ वर्षीया विष्णु पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगरका रहेको खुलेको छ ।
उनीहरूका आफन्तले शवको सनाखत गरेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान स्वर्गद्वारी नगरपालिका–९ जुडापाटा, स्वर्गद्वारी–३ किमिचौर र स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा तीनवटा शव फेला परेका थिए ।
त्यसपछि स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनार र माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा थप एक–एकवटा शव फेला परेका थिए ।
प्रहरीका अनुसार पाँचै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा राखिएको छ । पोस्टमार्टमपछि शव आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4