+
+
Shares

नेपाल-कोरिया लगानी सहकार्य विस्तारमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ११:२९

१ भदौ, काठमाडौं । नेपाल-कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा ‘नेपाल–कोरिया लगानी अवसर, चुनौती र रिटर्नी उद्यमीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल–कोरिया सम्बन्धलाई श्रम तथा रोजगारीमा मात्र सीमित नराखी लगानी, प्रविधि, सीप, उत्पादन, व्यापार र उद्यमशीलताको साझेदारीमा विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–कोरिया उद्यमी व्यवसायी संघको सम्भावना ठूलो रहेको बताउँदै निजी क्षेत्र र संघबीच सहकार्यका लागि एफएनसीसीआई तयार रहेको बताए।

उनले नेपालमा लगानी, उद्यमशीलता र उत्पादन विस्तारका लागि नेपाल–कोरिया सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क ते–युङ, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालका कन्ट्री डाइरेक्टर कङ मू–हुन, एफएनसीसीआई कार्यसमिति सदस्य तथा रोजगार परिषद्का उपाध्यक्ष बाबुकाजी कार्की, नेपाल–कोरिया उद्यमी व्यवसायी संघका सल्लाहकार तथा पूर्वकूटनीतिज्ञ यादव खनाललगायतको उपस्थिति थियो।

प्यानल छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदी र नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठलगायतले नेपाल–कोरिया आर्थिक तथा व्यावसायिक सहकार्य विस्तारका लागि आवश्यक नीतिगत, संस्थागत तथा वित्तीय सहजीकरणमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

छलफलमा श्रम, उद्योग, लगानी, वित्तीय पहुँच, प्रविधि हस्तान्तरण तथा रिटर्नी उद्यमीका विषयमा समेत व्यापक छलफल भएको थियो।

कार्यक्रममा सहभागी कोरियाली दूतावास, कोइकालगायत कूटनीतिक तथा विकास साझेदार निकायका प्रतिनिधिहरूले नेपाल–कोरिया उद्यमी व्यवसायी संघले अघि सारेको उद्देश्यको प्रशंसा गर्दै संघसँग सहकार्य र साझेदारीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

संघका महासचिव जितेन्द्र बानियाँले ‘नेपाल–कोरिया व्यवसायिक अवसर, चुनौती तथा रिटर्नी उद्यमीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल–कोरिया सम्बन्धलाई श्रम र रोजगारीको सम्बन्धबाट माथि उठाएर आर्थिक तथा व्यावसायिक साझेदारीमा विस्तार गर्नुपर्ने बताए।

कोरियाबाट फर्किएका नेपालीहरू सीप, पूँजी, प्रविधि, कार्यसंस्कृति र अन्तर्राष्ट्रिय बजारको अनुभव बोकेका सम्भावित आर्थिक साझेदार भएको उल्लेख गर्दै बानियाँले उनीहरू नेपालमै लगानी र उत्पादनमा सक्रिय हुन तयार रहेको बताए। त्यस्तै, संघका सचिव नेत्र पौडेलले संघको आगामी योजना, संस्थागत विकास तथा सदस्यता विस्तारका विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा उठेका विषय तथा प्यानल छलफलका आधारमा डा. सञ्जीव हुमागाईंले समग्र निष्कर्ष तथा नीतिगत सुझाव प्रस्तुत गरे। उनले नेपाल–कोरिया आर्थिक सहकार्यलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, वित्तीय संस्था, कूटनीतिक नियोग तथा रिटर्नी उद्यमीबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमको अध्यक्षता नेपाल–कोरिया उद्यमी व्यवसायी संघका अध्यक्ष प्रेमकुमार गुरुङले गरेका थिए। संघले नेपाल र कोरियाबीचको आर्थिक सम्बन्धलाई नयाँ आयाम दिन, कोरियाबाट फर्किएका नेपालीको सीप, पूँजी, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न तथा सम्भावित कोरियाली लगानीकर्तासँग नेपाली उद्यमीलाई जोड्न आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ।

कार्यक्रमका सहभागीहरूले नेपाल–कोरिया आर्थिक सहकार्यलाई संस्थागत र दीर्घकालीन बनाउन निजी क्षेत्र, सरकारी निकाय, कूटनीतिक नियोग, कोइका तथा रिटर्नी उद्यमीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?