News Summary
Generated by OK AI. Editorially reviewed.- यो अचार आयुर्वेदिक रूपमा स्वास्थ्यका लागि लाभदायक मानिने हुँदा प्राचीन समयमा राजा-महाराजाहरूले सेवन गर्ने गर्दथे।
मूल्यमा आइरहेको उतारचढावका कारण पनि आजकाल सुन, चाँदीको चर्चा दिनहुँजसो हुने गरेको छ । सामान्य अर्थमा यी महंगा धातु गरगहनाका लागि प्रयोग हुन्छन् । राजा-महाराजा तथा धेरै धनी व्यक्तिले सुन, चाँदीको भाँडामा खाना खान्छन् रे भन्ने कुरा त तपाईंले धेरै सुन्नुभएको होला । कतिपय कथामा पढ्नुभएको होला । केही सिनेमाहरूमा पनि यस्ता प्रसंग देख्नुभएको होला ।
तर, चाँदीको अचार पनि बनाइन्छ भन्ने कुरा चाहिँ नयाँ हुन सक्छ ।
हो संसारमा चाँदीको अचार बनाउने प्रचलन पनि छ । त्यो पनि टाढा होइन, हाम्रै छिमेकी देश भारतमा ।
भारतको जयपुरमा यस्तो खालको अचारको प्रचलन छ । तर त्यो आम भान्साहरूमा प्रयोग हुने अचार भने होइन् । यो परम्परागत शाही भोजनका रूपमा प्रचलित छ । धनी व्यक्तिहरूले आफ्ना विशेष पाहुना तथा कोही विदेशी पर्यटकका लागि भान्सामा यसलाई समावेश गर्ने गर्छन् ।
‘रियलिटी शो’ ले दियो चर्चा
पछिल्ला दिनमा भारतको एक रियलिटी शो ‘मास्टरशेफ’ ले चाँदीको अचारलाई चर्चामा ल्याउने काम गरेको छ । रियलिटी शो मा आएकी जयपुरकी चारु सोनीले चाँदीको अचार बनाएर देखाएकी थिइन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीसमेत रहेको शोमा उनले यस्तो अचार बनाएकी थिइन् ।
आफूले यसबारे एक वैद्यबाट जानकारी पाएको उनले बताइन् ।
सोनीका अनुसार यसको इतिहास राजस्थानका राजा–महाराजाहरूसँग जोडिएको छ । उनीहरूले विशेष अवसरमा यसको प्रयोग गर्ने गर्थे। यसलाई आयुर्वेदिक दृष्टिकोणबाट अत्यन्तै लाभदायक र स्वस्थ मानिन्थ्यो ।
प्राचीन समयमा, यो विशेष चटनी राजा-महाराजा तथा राज घरानाका व्यक्तिको स्वास्थ्य राम्रो बनाउन र शक्ति प्रदान गर्नका लागि भनी तयार गरिन्थ्यो । यो वैद्यहरूले नै बनाउने गर्थे ।
सुन र चाँदीको भस्मसँग यसमा बदाम, किसमिस, अन्य सुकेको मेवा राखेर यो तयार गरिन्थ्यो । यसमा चाँदीको भस्म राख्ने मात्रै नभएर परम्परागत रूपमा चाँदीका भाँडामै राखेर पाहुनालाई दिइन्थ्यो ।
यसमा आधुनिक तरिकासमेत मिश्रण गरेर अचार बनाएको सोनीले भनेकी थिइन् । उनका अनुसार एक किलोग्राम अचार बनाउन ६० देखि ७० हजार भारतीय रूपैयाँसम्म खर्च हुन्छ ।
यो बजारमा पाइँदैन । कुनै विशेष शाही समारोहहरूमा मात्रै बनाइन्छ ।
प्रतिक्रिया 4