+
+
Shares

संसद्‌मा ७८ दिनपछि हट्यो विपक्षीको विरोध

प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षी सांसदहरूले जेठमा १४ दिन, असारमा ३२ दिन र साउनमा ३१ दिनसम्म प्रतिनिधिसभामा विरोध गरेका थिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध सभामुखको रुलिङसँगै सोमबारबाट अन्त्य भएको छ ।
  • सभामुख डीपी अर्यालले प्रतिनिधिसभा नियमावलीबमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा सरिक हुन प्रधानमन्त्रीलाई रुलिङ गरे।
  • प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले १७ जेठ २०८३ देखि संसद्मा विरोध गर्दै आएका थिए ।

१ भदौ, काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हटेको छ ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सरिक हुन सभामुखले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेसँगै विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछि हटेका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विगतका बैठकहरूमा जस्तै विपक्षी दलका सांसदहरू विरोधमा उठे ।

त्यसपछि सभामुख डीपी अर्यालले सांसदहरूले सभामा लामो समयदेखि प्रधानमन्त्री बालेन शाह र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

त्यसपछि यो विषयमा सभामुखले रुलिङ गरे।

सभामुखले भने, ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाइ रुलिङ गर्छु ।’

सभामुखको रुलिङपछि पनि विपक्षी दलका सांसदहरू केहीबेर अलमलमा परे ।

किनभने, १७ जेठ २०८३ देखि विपक्षी दलका सांसदहरूले सीमा विवादसम्बन्धी अभिव्यक्तिमा जवाफ मागेर विपक्षी दलहरूले प्रत्येक दिन सदनमा विरोध गर्दै आएका छन् ।

यस क्रममा उनीहरूले संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन नसकेको भनेरसभामुख र सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।

सभामुखले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा मौन रहेर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि तयार हुनका निम्ति रुलिङ गरे ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

यो सभामुख र सदनले कार्यान्वयन गर्ने विषय हो । तर प्रधनमन्त्री तयार नभएपछि सभामुखले रुलिङ नै गरेका छन् ।

सीमासम्बन्धी अभिव्यक्तिमा जवाफ मागेर विरोध गर्दै आएको तर सभामुखले प्रश्नोत्तर कार्यक्रमसँग सम्बन्धित रहेर रुलिङ गरेपछि विपक्षी दलका सांसदहरू केहीबेर अलमलमा परेका हुन् ।

सभामुख अर्यालले ‘माननीय सदस्यहरूले माग गरेबमोजिम सरकार, प्रधानमन्त्रीको नाममा रुलिङ गरिसकेको’ भनेर बस्न आग्रह गरे । अनि विपक्षी दलका सांसदहरू बसे ।

योसँगै संसद्मा ७८ दिनदेखि जारी विपक्षीको विरोध हटेको हो ।

१७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री बालेनले भारतसँगको सीमा विवादसम्बन्धी दुई वटा विषय राखेका थिए ।

पहिलो ः यससम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं । उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।

दोस्रो ः तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।

एकातिर प्रधानमन्त्री बालेनले लिपुलेकको सीमा विवादबारे भारत र चीनबाहेक अर्को मुलुकसँग समेत सरकारले कुरा गरेको बताए । अर्कोतिर नेपालको तर्फबाट समेत भारतीय भूमि मिचिएको विषय थाहा लागेको सुनाए ।

लगत्तै विपक्षी दलहरूले प्रधानमन्त्रीसँग यो अभिव्यक्तिउपर तथ्य र स्पष्टीकरण मागे । तर प्रधानमन्त्री बालेन तयार भएनन् ।

त्यसपछि जेठ महिनामा १४ दिन, असारको ३२ दिन र साउनको ३१ दिनसम्म प्रतिनिधिसभामा विपक्षीको विरोध जारी रह्यो । हरेक दिन बैठक सुरु हुने वित्तिकै विपक्षी दलका सांसदहरूले विरोध गर्ने र प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आए ।

साथै, सदनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको भनेर पनि सरकारको आलोचना गर्दै आए ।

प्रधानमन्त्री न सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण दिन तयार भए न प्रत्यक्ष प्रश्नोत्तरका लागि तयार भए । यस्तोमा सभामुखले प्रश्नोत्तरका लागि रुलिङ गरेपछि सोमबार विपक्षी दलका सांसदहरू विरोधको कार्यक्रमबाट पछाडि हटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?