+
+
Shares

सिक्किममा गुञ्जिँदै ‘नेपथ्य’, मुख्यमन्त्रीले सार्वजनिक गरे कन्सर्टको टिसर्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकरक ब्याण्ड नेपथ्यले आगामी अक्टोबर ३१ मा सिक्किमको गान्तोकमा कन्सर्ट आयोजना गर्ने घोषणा गरेको छ ।
  • सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले एक समारोहका बीच उक्त कन्सर्टको टिकट र टिसर्ट सार्वजनिक गरी कार्यक्रमलाई राज्यस्तरबाटै अपनत्व प्रदान गरेका छन् ।
  • पाल्जोर स्टेडियममा हुने यस कन्सर्टले सिक्किमको युवा पुस्ताको सिर्जनशीलता र संस्कृतिको संरक्षण गर्ने उद्देश्य राखेको आयोजकले जनाएका छन् ।

काठमाडौं । लोकरक ब्याण्ड ‘नेपथ्य’ ले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ ।

भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले नेपथ्यको टिशर्ट र टिकट सार्वजनिक गरिदिए । उक्त टिसर्ट सिक्किम कन्सर्टकै लागि विशेष रुपमा तयार पारिएको हो ।

यसअघि ‘नेपथ्य’ ले वेब-साइटमार्फत आगामी अक्टोबर ३१ तारिख शनिबारका दिन गान्तोक कन्सर्टको घोषणा गरिसकेको छ । ‘नेपथ्य’ ले यसअघि पनि सिक्किममा तीनपटक आफूलाई प्रस्तुत गरिसकेको छ । पहिलो कन्सर्ट नेपथ्य ब्याण्डको पुनरागमनलगत्तै बन्द सभागृहभित्र भएको थियो ।

त्यसपछि दुवै कन्सर्ट भने विशाल मैदानमा फैलिएका दर्शकमाझ आयोजना गरिएका थिए । यसरी आयोजित आउटडोर कन्सर्टमा दोस्रो आयोजनास्थल पाक्योङ थियो भने तेश्रो राबाङला । पाक्योङमा त्यहाँस्थित सेन्ट जेभियर्स स्कुल अगाडिको विशाल मैदानमा कन्सर्ट आयोजना गरिएको थियो भने राबाङलामा चो जो लेकको किनार ।

राजधानी गान्तोकको मुख्य रंगशाला पाल्जोर स्टेडियममै आयोजना भएका हिसाबले यसपटकको चौथो भने सिक्किम यात्रामध्येकै सबैभन्दा भब्य हुने विश्वास आयोजकहरुले लिएका छन् ।

यसपटकको नेपथ्य कन्सर्टलाई सिक्किमका समस्त तन्नेरीहरुको उर्जा, उत्साह र सिर्जनशीलतालाई अघि बढाउने, संस्कृतिको संरक्षण र राज्यको सुन्दरतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ अघि बढाइएको जानकारी आयोजक ‘पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क’ ले दिएको छ ।

फेसबुकमार्फत आयोजना टोलीका संयोजक तेन्जिङ दोर्जेले सिक्किमको संगीत, संस्कृति र युवा पुस्तालाई अघि बढाउन यो कन्सर्ट सहयोगी हुने विश्वास ब्यक्त गरेका छन् । आफूहरुको प्रयासमा अघि बढेको कार्यक्रमका लागि स्वयं मुख्यमन्त्रीले टिकट र टिशर्ट सार्वजनिक गर्दै अपनत्व प्रकट गरिदिएकामा उनले हार्दिक आभारसमेत ब्यक्त गरेका छन् ।

‘मुख्यमन्त्रीबाट प्राप्त सहयोग र हौसलाका लागि म आभारी छु’, उनले भनेका छन्, ‘नेपालकै महत्वपूर्ण सांगीतिक टोली नेपथ्यलाई सिक्किममा भव्य स्वागत गर्ने क्षणको हामी ब्यग्र प्रतिक्षा गर्दैछौं ।’

नेपथ्यले आफ्नो वेबसाइट मार्फत सन् २०२६ भित्रै सिक्किमको साथै इटहरीमा पनि कन्सर्टको घोषणा गरिसकेको छ भने कीर्तिपुरमा पनि कार्यक्रम गर्ने तयारीमा जुटेको छ । इटहरीमा नोभेम्बरको चार तारिख बुधबारका दिन ब्याण्ड स्थानीय रंगशालामा प्रस्तुत हुनेछ ।

त्यसैगरि दक्षिण कोरियामा पनि ब्याण्डले यो वर्ष भ्रमण गर्ने तय भइसकेको छ । वर्षको अन्त्यतिर भने ब्याण्डले नेपालभर केहि सहरहरुको श्रृंखलाबद्ध यात्रा गर्ने र केहि विदेशी मुलुकमा पनि भ्रमण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

‘सिक्किमका रेडियोमा बज्ने नेपथ्यका गीत सुनेर हुर्केका फरक पुस्ताहरुबाट हामीले प्रत्येक यात्रामा न्यानो स्वागत पाउँदै आएका छौं’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यसपाला कन्सर्टलाई लिएर निकै अगाडिदेखि उत्साहपूर्ण समाचारहरु प्राप्त भइरहँदा हौसला झनै बढेको छ ।’

अमृतका अनुसार ब्याण्डको स्थापनालगत्तै सबैभन्दा पहिले कन्सर्टका लागि निम्तो दिनेमा सिक्किम–दार्जिलिङ भेगकै दर्शक थिए ।

‘नेपाली गीत संगीत प्रचलित क्षेत्रमध्ये सांगीतिक चेतका हिसाबबाट यताका दर्शक विशेष छन्’ ब्याण्डलाई प्रवर्धन एवं परिचालन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘सन्तुष्टीले भरिएको रमाइलो साँझ प्रस्तुत गर्न भरिसक्य प्रवन्ध मिलाइरहेका छौं ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् । कन्सर्टका लागि अनलाइनबाटै टिकट खरिद गर्नसकिने बन्दोबस्त मिलाइएको छ । त्यसका लागि नेपथ्यको वेब-साइटबाट सिट सुरक्षित बनाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?