News Summary
Generated by OK AI. Editorially reviewed.- पहिलो डेटमा सकारात्मक प्रभाव पार्न धेरै प्रश्न सोध्ने वा अन्तर्वार्ता लिने शैली अपनाउनु हुँदैन ।
- पुराना सम्बन्ध, दुःखका कुरा वा आफ्नो कमाइको बखान गर्नुको साटो एकअर्कालाई बुझ्ने प्रयास गर्नुपर्छ ।
पहिलो डेट सधैं विशेष हुन्छ । यो त्यो समय हो, जहाँ दुई जनाले पहिलो पटक एकअर्कालाई नजिकबाट राम्रोसँग चिन्न खोजिरहेका हुन्छन् । यस बेला अर्को व्यक्तिमाथि आफ्नो राम्रो प्रभाव परोस् भन्ने चाहना सबैलाघ हुन्छ । तर राम्रो छाप छोड्ने प्रयासमा हामी कहिलेकाहीँ यस्ता गल्ती गर्छौं, जुन अर्को व्यक्तिलाई मन पर्दैन । यस्तो अवस्थामा सकारात्मक प्रभाव पर्नुको सट्टा गलत छाप पर्न सक्छ । सम्बन्ध अगाडि बढ्नुहोस् सट्टा यहीँबाट पूर्णबिराम लाग्न पनि सक्छ ।
यदि कसैसँग पहिलो डेट गर्दै हुनुहुन्छ भने केही कुराहरूमा ध्यान दिनुहोस् ।
१. धेरै प्रश्न नसोध्नुहोस्
पहिलो डेटलाई जागिरको अन्तर्वार्ताजस्तो नबनाउनुहोस् । लगातार प्रश्न सोधिरहँदा अर्को व्यक्तिलाई असहज लाग्न सक्छ । कुराकानी यस्तो रहोस् कि जसमा दुवै जनाले बिस्तारै आफैं आफ्ना कुरा भन्ने वातावरण बनोस् ।
२.पूर्णरूपमा चुप पनि नबस्नुहोस्
यस्तो भेटमा केही नबोली चुपचाप बसिरहनु पनि राम्रो होइन । यसो भयो भने भेटघाट खल्लो हुन सक्छ । अर्को व्यक्तिले तपाईंलाई चिन्न सक्दैन । कुराकानीमा आफू पनि सहभागी हुनुहोस् । आफ्नो बारेमा साना-साना कुरा बताउनुहोस् र अर्कोको कुरा ध्यान दिएर सुन्नुहोस् ।
३.पुराना डेटका बारेमा कुरा नगर्नुहोस्
यदि तपाईं पहिले कसैसँग डेट जानुभएको थियो भने त्यसको बारेमा पहिलो डेटमै भनिरहन जरुरी छैन । यस्ता कुराले अर्को व्यक्तिलाई असहज बनाउन सक्छ । गफ गर्ने प्रसंगमा कुनै आफ्ना अन्य प्रिय साथी वा प्रिय व्यक्तिलाई नजोड्नुहोस्, तुलना नगर्नुहोस् । यो कुरा अर्को व्यक्तिलाई नराम्रो लाग्न सक्छ ।
४ .पुराना र दुःखका कुरा नगर्नुहोस्
पहिलो भेटमा पुरानो प्रेमी, प्रेमिका, पुरानो सम्बन्ध वा जीवनका पुराना दुःखबारे धेरै कुरा नगर्नुहोस् । यी कुराहरू बिस्तारै पछि भन्न सकिन्छ । पहिले एकअर्काबीच विश्वास र समझदारी बन्न दिनुहोस् ।
५.आफ्नो पेशा, कमाइ तथा सफलताको बखान नगर्नुहोस्
आफ्नो काम र करियरबारे बताउनु ठिक हो । तर बारम्बार जागिर, कमाइ वा उपलब्धिको कुरा गर्नुहुँदैन । बढी धाक लगाउँदो रहेछ भन्ने पर्न जान्छ । बरु अर्को व्यक्तिलाई चिन्ने प्रयास गर्नुहोस् । उसको कुरा धैर्यपूर्कक सुन्नुहोस् ।
६. बिल तिर्न विवाद नगर्नुहोस्
भेटमा सँगै चिया कफी, पिउने, खाजा खाने पनि हुन सक्छ । यस्तो बिल कसले तिर्ने भन्ने कुरामा धेरै बहस नगर्नुहोस् । यदि कसैले तिर्न चाहन्छ भने सहज तरिकाले कुरा गर्नुहोस् । आफूले बिल तिर्दा मात्रै प्रभाव देखाउन सकिन्छ भन्ने नसोच्नुहोस् । यही कारण डेटको राम्रो वातावरण बिग्रिन दिनु हुँदैन ।
७.कसैलाई गलत देखाउन नखोज्नुहोस्
दुवै जनाले सयुक्त रूपमा चिनेका कुनै व्यक्ति हुनु सक्छन् । पहिलो भेटमै उनीहरूको कुरा काटेर गलत देखाउन नलाग्नु होस् । आजकल कुनै केटा वा केटी ठीक छैनन्’ भन्ने जस्ता कुरा पहिलो डेटमा नभन्नुहोस् । यसले अर्को व्यक्तिलाई तपाईं सम्बन्धप्रति नकारात्मक हुनुहुन्छ भन्ने लाग्न सक्छ ।
८. आफूलाई ओभरस्मार्ट वा कूल देखाउने प्रयास नगर्नुहोस्
प्रभावित पार्ने नाममा आफ्नो नियमित स्वभाव भन्दा फरक रूपमा प्रस्तुत नहुनुहोस् । कसैलाई मन पराउँदा उनलाई प्रभावित पार्न चाहनु स्वाभाविक भए पनिआफ्नो वास्तविक स्वभाव बदल्नुपर्दैन । धेरै कूल वा फरक देखिन खोज्नुभन्दा आफू जस्तो हो त्यस्तै रहनुहोस् ।
९. शारीरिक रूपमा धेरै नजिक हुन नखोज्नुहोस्
पहिलो डेटमा अर्को व्यक्तिको इच्छा र सीमाको ख्याल राख्नु जरुरी छ । उसको इच्छाबिना आवश्यकता भन्दा बढी शारीरिक रूपमा नजिक हुन नखोज्नुहोस् । यसले उनलाई असहज बनाउन सक्छ । तपाईलाई हेर्ने दृष्टिकोण बदलिन सक्छ । पहिले राम्रोसँग एकअर्कलाई बुझ्न समय लिनुहोस्।
१०. पहिलो डेटमै सबै कुरा नभन्नुहोस्
आफ्नो पूरै जीवनको कथा पहिलो भेटमै बताउन आवश्यक छैन । व्यक्तिगत कुराहरू बिस्तारै सेयर गर्नु राम्रो हुन्छ । जति विश्वास बढ्दै जान्छ, त्यति नै एकअर्काबारे बढी जान्न सकिन्छ । पहिलो डेटको उद्देश्य धेरै प्रभावित पार्नु मात्र, अर्को व्यक्तिलाई बुझ्नु पनि हो ।
त्यसैले कुराकानीलाई सकेसम्म सरल राख्नुहोस्, अर्कोको कुरा सुन्नुहोस् र आफू पनि अलिकति खुल्नुहोस् ।
देखावटी व्यवहार गर्नु, पुराना कुरा दोहोर्याउनु वा चाँडै धेरै नजिक हुन खोज्नुभन्दा सम्बन्धलाई समय दिनु राम्रो हुन्छ । पहिलो भेट पछि फेरि अर्को भेट नै हुँदैन जसरी सबै कुरा एकै पटक भन्ने खोज्नु र धेरै नजिक हुन खोज्नु ठीक नहुन सक्छ ।
प्रतिक्रिया 4