+
+
Shares

के व्यायामले साँच्चै यौन जीवन सुधार्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नियमित शारीरिक व्यायामले शरीरमा रक्तसञ्चार बढाउनुका साथै हर्मोनको सन्तुलन मिलाएर यौन इच्छा र क्षमतामा सुधार ल्याउन मद्दत गर्छ ।
  • अत्यधिक कडा व्यायामले थकान बढाउन सक्ने भएकाले शरीरले धान्न सक्ने मध्यम खालको व्यायाम रोज्नु नै स्वास्थ्यका लागि बुद्धिमानी हुन्छ ।

यौन र शारीरिक व्यायाम कसरी एकअर्का जोडिएका छन् अनि व्यायामको प्रकार, समयले यसमा के–कस्तो असर पार्छ भन्नेबारे विज्ञहरूको मत निकै चाखलाग्दो छ । नियमित शारीरिक गतिविधिले शरीरको बनावट बदल्न वा मांसपेशी बलियो बनाउन त पक्कै मद्दत गर्छ । तर, विज्ञहरू यसले यौन इच्छा र क्षमता बढाउने पनि बताउँछन् ।

व्यायाम गर्दा हर्मोनहरूको स्राव र संवेदनशील अङ्गहरूमा रक्तसञ्चार तेज हुने र यसले हाम्रो मस्तिष्कलाई पनि यौनका लागि सही मानसिक अवस्थामा ल्याउन मद्दत गर्ने विज्ञहरू सुनाउँछन् ।

व्यायामले हाम्रो यौन जीवनलाई मुख्यतया दुईवटा बाटोबाट सुधार्ने काम गर्छ । पहिलो, यसले शरीरलाई उत्तेजनाका लागि सक्षम र तयार बनाउँछ । दोस्रो, मनमा आउने अनेकौं नकारात्मक वा डरका विचारहरूलाई हटाउन मद्दत गर्छ ।

जब शरीरमा रगतको आवतजावत राम्ररी हुन्छ, तब उत्तेजना हुन सजिलो हुन्छ । यसले महिलाहरूमा संवेदनशीलता बढाउँछ भने पुरुषहरूमा लिङ्ग उत्तेजित हुन र त्यसलाई कायम मद्दत गर्छ । दिनहुँ थोरै भए पनि दौडिने, योग गर्ने वा कम्मर र तल्लो पेटको कसरत गर्दा शरीरले राम्रो निद्रा पाउँछ, थकान मेटिन्छ र ऊर्जा बढ्छ ।

मानसिक रूपमा हेर्दा, व्यायामले मान्छेभित्र आत्मविश्वास जगाउँछ । दिमागमा धेरै सोच्ने बानी, चिन्ता र तनावले यौन इच्छालाई मार्ने काम गर्छ । तर व्यायामले दिमागलाई ती सबै नराम्रा सोचबाट टाढा राखेर आनन्दको महसुस गराउँछ ।

यद्यपि हामीले कस्तो प्रकारको व्यायाम गर्छौं, कहिले गर्छौं र कत्तिको कडा गर्छौं भन्ने कुराले पनि असर पारिरहेको हुन्छ । पसिना आउने गरी दौडिने, पौडी खेल्ने वा साइकल चलाउने जस्ता व्यायामले मुटु र रगतको बहावलाई बलियो बनाउँछन् । तर मानसिक शान्तिका लागि भने अरूले भनेको भन्दा पनि आफूलाई जुन व्यायाम गर्दा खुसी र आनन्द लाग्छ, त्यही रोज्नु सबैभन्दा राम्रो हुन्छ ।

कडा व्यायाम सिद्धिनेबित्तिकै शरीरको सबै रगत थकित मांसपेशीतिर जाने भएकाले लगत्तै यौन इच्छा अलि कम हुन सक्छ । तर १५ देखि ३० मिनेट जति आराम गरेपछि रगतको बहाव फेरि सही ठाउँमा पुग्छ र उत्तेजना बढाउँछ ।

तर व्यायामको घडी हेरेर यौनको समय मिलाउनु सबैका लागि व्यावहारिक नहुन सक्छ । त्यस्तै, एकदमै हलुका वा सामान्य व्यायामले खासै फरक पार्दैन भने शरीर नै गल्ने र दुख्ने गरी धेरै कडा व्यायाम गर्दा थकानका कारण उल्टै इच्छा हराएर जान सक्छ । त्यसैले आफ्नो शरीरले धान्न सक्ने ठिक्क वा मध्यम खालको व्यायाम रोज्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ ।

वास्तविक जीवनमा यौन आनन्द लिनका लागि ठूला र कठिन नियमहरू पालना गरिरहनु पर्दैन । दिनभरिको व्यस्तताका बीच पनि अलिअलि हिँडडुल गर्ने, केटाकेटीसँग खेल्ने वा घरको सामान्य काममा सक्रिय रहने गर्दा नै पर्याप्त हुन्छ ।

डिप्रेसनको औषधि खाइरहेका वा शल्यक्रिया गराएका मानिसहरूमा पनि नियमित व्यायामले यौन क्षमता सुधारेको पाइएको छ । त्यसैगरी मधुमेह वा मुटुको रोग भएका मानिसहरूले आफ्नो स्वास्थ्य सुधार्न गर्ने व्यायामले अप्रत्यक्ष रूपमा यौन जीवनलाई पनि सुखी बनाउन मद्दत गर्छ ।

यदि तपाईं कुनै खेलका लागि धेरै कडा तालिम वा अभ्यास गर्दै हुनुहुन्छ भने थकानका कारण यौनमा ध्यान नजान सक्छ ।

यस्तो अवस्थामा आफ्नो साथी वा साझेदारसँग ऊर्जा र सहजताबारे खुल्ला र इमानदारीपूर्वक कुराकानी गर्नु नै स्वस्थ र सुखी यौन जीवनको मुख्य साँचो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?