+
+
Shares

मेटा इन्फ्लुएन्सर मार्फत ‘टीन अकाउन्ट’को प्रचार गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ७:३६

काठमाडौं । मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ ।

डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको चर्चा चल्छ, मेटाले त्यसको विरोधमा वा वैकल्पिक उपायको प्रचार गर्न प्यारेन्टिङ, लाइफस्टाइल र मानसिक स्वास्थ्य क्षेत्रका क्रिएटरहरूलाई अगाडि सार्छ ।

जस्तो, अस्ट्रेलियामा २०२५ डिसेम्बरबाट १६ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जालमा रोक लगाउने कानुन लागू भयो । त्यसअघि नै मेटाले सिड्नीमा ‘इन्स्टाग्राम सेफ्टी क्याम्प’ जस्तो कार्यक्रम गरी प्यारेन्टिङ इन्फ्लुएन्सरहरूलाई बोलाएको थियो ।

इन्स्टाग्राम ब्रान्डेड टेन्ट, फोटो जोन र स्न्याक्ससहितको उक्त कार्यक्रममा मेटाको सन्देश स्पष्ट थियो, ‘सबै प्रतिबन्ध प्रभावकारी छैनन् । हामीसँग किशोरकिशोरीलाई सुरक्षित राख्ने टुलहरू छन् ।’

त्यस्तै, इन्डोनेसियामा २०२६ मार्चमा टीन अकाउन्ट प्रतिबन्ध लागू भएपछि मेटाले सुरक्षा शिविर आयोजना गर्यो । चर्चित अभिनेता डेरियस सिनाथ्रियाजस्ता इन्फ्लुएन्सरले इन्स्टाग्राम पोस्टमा मेटाका सुरक्षा फिचरहरू प्रयोग गर्न आग्रह गरे ।

भारतमा पनि २०२६ फेब्रुअरीमा उमेर–आधारित प्रतिबन्धको चर्चा चलेपछि ‘मम इन्फ्लुएन्सर’हरूले पेड पोस्टमार्फत ‘इन्स्टाग्राम टीन अकाउन्ट’को प्रचार गरे । ‘इम्पर्फेक्ट मम् हु ट्राभल्स’ बाट भिडियो पोस्ट भयो । ह्यासट्याग एड ट्याग त्यसमा प्रयोग भएको देखिन्छ ।

मेटाका प्रवक्ता एडवर्ड प्याटरसनले भने किशोरकिशोरीलाई सामाजिक सञ्जालबाट निकाले उनीहरुलाई झन असुरक्षित र समाजबाहिर रहेको भान दिन्छ र यसले अन्य समस्या सिर्जन गर्ने तर्क गर्छन् । त्यसैले आफूहरुले जहाँ आफ्ना एपहरू उपलब्ध छन्, त्यहाँ अभिभावक र विज्ञहरूसँग मिलेर सुरक्षा फिचरबारे जानकारी दिने बताएको छन् ।

तर टीटीपीका निर्देशक केटी पललाई उद्धृत गर्दै द गार्डियनले लेखेको छ, ‘मेटाको ब्रान्ड नै समस्या बनेको छ । मानिसहरू कम्पनीमा विश्वास गर्दैनन्, त्यसैले यो सन्देश दिन इन्फ्लुएन्सर चाहिन्छ । उसले त्यही गरिरहेको छ ।’

अस्ट्रेलियाको इन्टरनेट रेगुलेटरको २०२६ जुनको अध्ययन अनुसार पनि, प्रतिबन्ध लागू भएको तीन महिनापछि पनि ८० प्रतिशत भन्दा बढी किशोरकिशोरीहरू सामाजिक सञ्जाल प्रयोग गरिरहेका थिए । यद्यपि, मेटाले अस्ट्रेलियामा ७,५६,००० किशोर खाता हटाएको बताएको छ । यसले गर्दा मेटाको भूमिका नै शंकास्पद देखिएको भन्दै विवाद चुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?